❛❛
छिमेकी छन्, तर सँगै छैनन्।
एकै टोल, एउटै साँझ, एउटै पाखोको हावा,
तर मनभित्र उफ्रिने डाह,
जलन र अपमानको आगोले
सबै कुरा खरानी बनाउँछ।
कसैले दुःख बाँड्न खोज्दा,
उनीहरू हाँस्छन् — तर हर्ष होइन,
व्यंग्य मिसिएको मुस्कानमा।
कसैले केही नयाँ गर्न खोज्दा,
चपेटामा पर्छ —
“ओहो! कस्तो ठूलो बनेछ!” भनेर।
कहिल्यै कसैको राम्रोमा ताली बज्दैन,
तर गल्तीमा तुरुन्तै सभा बस्छ,
र वारिपारीसम्म फैलिन्छ आवाज,
मानौं अन्याय विरुद्ध युद्ध छेडिएको हो।
यी मेरा छिमेकी हुन्
शब्दको वाण चलाएर हृदय भेद्ने,
बिना प्रमाण आरोप लाउने,
सपना देख्नेहरू माथि
हाँसो उडाउन चाहने।
तर म सोच्दछु
यी पनि कहिल्यै उत्प्रेरित गरिएनन्?
कसैले थामेर भनेन,
“तपाईंको आवाज सिर्जनामा प्रयोग होस्,
कसैलाई काट्ने खुकुरी होइन
कलम बनोस् त्यो जिब्रो,
गीत बनोस् त्यो गुनासो”
सिर्जनामा डुब्न मन चाहिन्छ,
अरूको पीडा महसुस गर्ने आँखा,
आफ्नो कमी कमजोरी स्वीकारी
अघि बढ्ने साहस।
शायद त्यसैले,
हामीले सुरु गर्नुपर्छ
सुनाइ दिने सकारात्मक कथा,
साझा बनाउने सिर्जनात्मक सपना,
र बिस्तारै परिवर्तन हुन्छ।
हाम्रा छिमेकी पनि साधक बन्छन्
हो, उही जुन आज काट्दै थिए,
भोलि सँगै उभिएर फूल रोप्नेछन्।
याम बहादुर थापा मगर
बागलुङ न. पा.–१०, भकुण्डे, धौलेचौर, बागलुङ


