❛❛
सुनसान रातको छायाझैँ
छाएको छ एक प्रश्न —
“म वास्तवमै को हुँ?
हिरा…?
कि केवल एउटा निरीह पत्थर?”
साँचै, झल्केर टल्कन त सकेको छैन,
तर हजार चोट सहँदै पनि
चिरा परेको छैन।
के यही शक्ति हो?
कि केवल बिर्सिएको संवेदना?
म आफैँ हराउँछु
मनका गल्लीहरूमा।
चिन्तनका चराहरू कराउँछन् —
तर उत्तर कहिल्यै झर्दैन।
कसैले चिन्दैन,
शायद म आफैँले पनि…
तर एउटा कुरा थाहा छ —
जब कोही प्रहार गर्छ छिनो–हथौडाले,
पकाउँछ प्रचण्ड अग्निमा —
तब हिरा बन्न सक्छ एउटा पत्थर।
त्यसैले,
अझै अनुत्तरित छु,
तर खोज जारी छ।
र, त्यो खोजमा —
शायद म नै हुँ
त्यो हिरा पनि,
र पत्थर पनि!
विवश चौलागाईं
मकवानपुर, हेटौंडा


