सत्यजीत
खण्ड-एक
पश्चिम नेपालको विकट पहाडी जिल्लाको सदरमुकाम सिमाना नजिक एउटा टाकुरे गाउँ थियो, जहाँ हिमाली हावा सधैँ माटोमा बगेको रगतजस्तै लाली छर्दै फन्को मार्थ्यो। खोला किनारमा साना-साना खेतका गराहरू, पहाडी फेदीमा बाख्राहरूको बोओँ-बोओँ र टाढा काठे छानामाथिको धुपको मुस्लो। त्यही वातावरणभित्र थियो गाउँको सामाजिक बनोट: उपल्लो डाँडामा ब्राह्मण र क्षेत्रीहरू बस्थे, मध्य भागमा ठकुरी, मगर, कामी, दमाई र खोलानजिक झुप्रा बनाइ माझी तथा सार्कीहरू बसेका थिए।
त्यही बस्तीको एउटा साँघुरो गल्लीमा घुम्दै गर्दा मङ्गलले पहिलोपटक उनीलाई देखेका थिए – सेतो सारी, सुतलीको झोला, काखीमा पुराना किताबहरू। उनी थिईन् स्मृति, एक ब्राह्मणकी छोरी, गाउँकै पुरानो संस्कृत पाठशालाका गुरु वेदपाठी पण्डित शरणीधर त्रिपाठीकी सुपुत्री। उनका घरमा बिहान-बेलुकी पूजा नहुँदा सास रोकिने मान्यता थियो। उनका बुबाको सपना थियो: स्मृति ‘गीता’ को व्याख्या गरेर समाजको मार्गदर्शक बनुन्।
तर मङ्गल, गाउँछेउको मुस्कानपुर टोलका एक दलित, जो परम्पराको साङ्लो तोडेर स्वतन्त्र सोच बोकेका युवा थिए। उनले दलन र विभेदका विरुद्ध किताब पढ्दै आफूलाई जटिल प्रश्नहरू सोध्न थालिसकेका थिए।
दुवैजना सदरमुकाममा कलेज पढ्दै थिए। दुई महिनासम्म अपरिचितरूपमा, उनीहरू सार्वजनिक पुस्तकालयमा बोलचाल बिना भेटिरहे। पुस्तकालयका डायरीभित्र उनीहरूको आँखाले प्रेम लेख्न थालिसकेको थियो, तर जिब्रो अझै मौन थियो। तर समाज मौन थिएन – शङ्का, घृणा, उपेक्षा र पुरानो मूल्य-मान्यताहरूको कडा निगरानी थियो।
पहिलोपटक एक साँझ स्मृतिले हृदय खोलेर प्रश्न गरिन्, “हामीले किताबहरूमा पढेको माया, के यो समाजले स्वीकार गर्छ त?”
मङ्गल मुस्कुराए, “तिमी मसँग एउटा घोषणापत्र लेख्न चाहन्छ्यौ?”
“घोषणापत्र?” स्मृतिले आँखा झिम्काइन्। “हो,” मङ्गलले भने, “प्रेमको घोषणापत्र – जसमा जात, धर्म, लिङ्ग, वर्गलगायत सबै बन्धनहरूको विरुद्ध माया घोषणा गरिन्छ।”
त्यही दिनदेखि, उनीहरूले आफ्नो परिचय बाँडे र प्रेमलाई लुकाएनन्। गल्लीहरू थर्किन थाले। मन्दिरका पुजारीहरूको दिमागमा राँको बल्न थाल्यो र उनीहरू भन्न थाले, “यो कुल-कलङ्क हो।”
स्मृतिको घरमा छोरीलाई शुद्ध पार्न भन्दै थुप्रै पूजाहरू हुन थाले। मङ्गलको टोलमा उनी ‘जातभङ्ग’ घोषित भए। तर उनीहरू डराएनन्।
मङ्गल लेख्दै गए, “माया धर्मको होइन, मुटुको कर्म हो। माया शुद्ध हो, जबसम्म यसमा नियन्त्रण लादिएको हुँदैन।”
स्मृतिले त्यो पाण्डुलिपि पढिन् र आँसु पोख्दै भनिन्, “हामीले माया मात्र गरेनौँ, विद्रोह पनि गर्यौँ।”
खण्ड-दुई
अब उनीहरूको प्रेम निजी चाहना थिएन, यो घोषणा थियो – जातीय विभेदका विरुद्ध, धर्मको ठेकेदारीका विरुद्ध, समाजको ‘शुद्धता’ भन्ने भ्रमका विरुद्ध एक प्रेमी जोडीद्वारा लेखिएको सङ्घर्षको संहिता।
गाउँमा हल्ला चल्यो – “ब्राह्मणकी छोरीले दलित केटासँग ‘पाप’ गरिन्!” “धर्म हरायो, कुल बिग्रियो, संस्कृति मासियो!” “यस्ता मानिसहरूलाई त गाउँ निकाला गर्नुपर्छ!”
तर स्मृति डराएनन्। उनले किताबहरू पढेकी थिइन्: ‘मनुस्मृति’मा उल्लेखित छुवाछुतको सिद्धान्त र ‘धर्मशास्त्र’ मा लेखिएका नारीका लागि नियमहरू। तर उनले जीवनमा पहिलोपटक प्रश्न गरिन्, “धर्मले माया निषेध गर्छ भने, त्यो धर्म हो कि भेद?”
मङ्गलले पनि न्याय प्रणाली पढिरहेका थिए। उनको हातमा संविधानको सानो प्रति थियो, जसमा लेखिएको थियो: “कुनै पनि नेपाली नागरिकलाई जात, धर्म, लिङ्ग वा वर्गका आधारमा विभेद गर्न पाइँदैन।”
तर वास्तविकता त्यसको ठीक उल्टो थियो – नागरिकतामा समानता तर व्यवहारमा बहिष्करण। कागजमा अधिकार तर गल्लीमा गाली।
स्मृतिले मङ्गलसँग घोषणापत्रमा थप गर्न भनिन्, “हामी प्रेम मात्रै गर्दैनौँ, हामी पुराना नियमहरूलाई खारेज गर्दैछौँ।”
“हामी आफ्नो भविष्य लेख्दैछौँ – माया र न्यायको अक्षरमा।”
त्यसपछि उनीहरूले मिलेर “प्रेमको घोषणापत्र” लेख्न थाले। घोषणापत्रको पहिलो हरफमा लेखिएको थियो: “माया जन्मले होइन, आत्माले हुन्छ। धर्मले होइन, विवेकले हुन्छ र समाजले होइन, समानताले न्याय दिन्छ।”
गाउँमा दिनप्रतिदिन चर्को विरोध बढ्न थाल्यो। स्मृतिका बुबा-आमाले पूजा गराएर ‘दुष्ट आत्मा’ हटाउने प्रयास गरे। मङ्गललाई चौतारीमा बसेका ज्येष्ठहरूले ‘जात बिर्सने दुष्ट’ भनेर गाली गरे।
तर युवाहरू, जसमा एक-दुई जना शिक्षित र केही मजदुरीबाट फर्केका थिए, उनीहरू यो प्रेममा हिम्मत देख्न थाले।
“सायद हामीले डराएर बसिरह्यौँ,” उनीहरूले भने। “यी दुईले देखाएका छन्, परिवर्तन सुरु त एकबाटै हुन्छ।”
बदलिँदो वर्तमान जन्मिँदै थियो। पानीको सतहमा पहिला एक-दुई तरङ्ग आउँछ, त्यसपछि मात्रै आँधी आउँछ।
मङ्गलले घोषणापत्रमा अर्को अनुच्छेद थपे: “यदि समाज माया र न्यायको विपक्षमा उभिन्छ भने, हामी त्यो समाजलाई परिवर्तन गर्न सक्ने ‘नवराज’ जस्तो आवाज बनौँ।” अझ स्पष्ट रूपमा, अब ‘प्रेमको घोषणापत्र’ केवल कागजमा लेखिएको शब्द मात्र रहेन।
खण्ड-तीन
घोषणापत्र तयार भयो। छोटो थियो, तर त्यसमा युगौँका दमनका विरुद्ध आवाज थियो। त्यो घोषणा एउटै पानामा थियो, तर त्यो पाना आगो थियो जसले जात, धर्म, कुल, संस्कारका पाखण्ड, आडम्बर र खोक्रोपनलाई पोल्ने क्षमता राख्थ्यो।
गाउँको चौतारीमा एकाबिहानै, स्मृति र मङ्गल हात समातेर उभिए। सामुन्ने केही युवाहरू, केही नारीहरू र धेरै वृद्धहरू थिए, जो आश्चर्य, क्रोध वा उत्सुकतासहित उनीहरूलाई हेरिरहेका थिए।
मङ्गलले घोषणापत्र पढ्न थाले:
“हामी, स्मृति र मङ्गल, प्रेमलाई जन्म, जात, धर्म र लिङ्गका भेदभावपूर्ण सीमाबाट मुक्त गर्छौँ। हामी सामाजिक भेदभाव र धार्मिक दम्भको विरोध गर्छौँ। र, हामी हाम्रो प्रेमलाई विद्रोह र सामाजिक क्रमभङ्गका रूपमा स्वीकार गर्छौँ – न्याय, समानता र आत्मसम्मानका लागि।”
चौतारीको वातावरण चिसो भयो। केहीले टाउको निहुराए, केहीले दाँत किटे र केहीले भने, “यी दुइटाले समाजको लाज फालिदिए!” पुजारी हरिहरले हातमा गीता लिएर भन्न थाले, “धर्मले यस्तो प्रेमलाई स्वीकार गर्दैन। यो अराजकता हो, धर्मविरुद्ध विद्रोह हो!”
तर स्मृतिले जवाफ दिइन्, “धर्मले मलाई बोल्न दिएन, छुन दिएन, माया गर्न दिएन। त्यो धर्म त मेरो शत्रु भयो, मेरो भगवान् होइन।”
त्यो दिन यो खबर गाउँभरि फैलियो: “ब्राह्मणकी छोरी र दलित युवकले प्रेमको घोषणा गरे।” तर यो समाचार सहरसम्म पुग्न समय लागेन।
एक स्थानीय पत्रिकाले लेख्यो: “अन्तर्जातीय प्रेमको विद्रोही घोषणापत्र: गाउँको शान्ति सङ्कटमा।” प्रशासन सक्रिय भयो। स्थानीय प्रहरी चौकीबाट एक जना हवल्दार आए। उनले सोधे, “तपाईंहरूले जातीय र सामाजिक सद्भाव भङ्ग गर्ने प्रयास गर्नुभयो?”
मङ्गलले भने, “हामीले त सद्भावको नयाँ परिभाषा दिन खोजेका हौँ।”
स्मृतिलाई परिवारले घरमा थुन्यो, फोन खोस्यो, कलेज जान रोक लगायो। मङ्गलको घरमा ढुङ्गामुढा हानियो। तर घोषणापत्र अब मानिसहरूको मनमा छापिसकेको थियो।
एक बालिकाले टोलको भित्तामा लेखिन्, “मायामा जात हुँदैन।”
एक किशोरीले चुपचाप आफ्ना सपना बोकेर स्मृतिलाई पत्र लेखिन्, “तपाईंले हिम्मत दिनुभयो दिदी, अब म पनि डराउँदिनँ।” पुरानो समाज तर्सिएको थियो, तर नयाँ चेतना गर्भमा जन्मिँदै थियो।
‘प्रेमको घोषणापत्र’ अब एउटा दस्तावेज थिएन, यो एउटा आन्दोलन बनिरहेको थियो।
खण्ड-चार
घोषणापत्रको प्रतिध्वनि गाउँको सीमाबाट निस्केर हावाभन्दा तीव्र वेगमा सहरका टोलटोल र भित्ताहरूमा पुगिसकेको थियो। कतै पोस्टर बन्यो, “मायाले जात हेर्दैन।” कतै विद्यार्थीकै जुलुसमा नारा बन्यो, “प्रेम घोषणा हो, अपराध होइन!”
स्मृति अझै घरमै थुनिएकी थिइन्। उनी छतमा चुपचाप किताब पढ्थिन्, तर अब किताब पढ्नु पनि विद्रोह थियो, किनकि त्यो किताबभित्र प्रेम थियो र विचार थियो।
बुबा-आमाले भने, “तँ अझै सुध्रिईनस्! प्रेमको भूतले तेरो बुद्धि खायो।” उनकी आमा रातदिन पूजा गर्थिन्, छोरीको ‘शुद्धि’का लागि, तर छोरीले पूजाको पानी छोइनन्, किताब मात्रै छोडिनन्।
मङ्गल अब गाउँको चोकमा खुलेर उभिन्थे। ‘प्रेमको घोषणापत्र’का केही अंशहरू उनले बाँड्न थाले। कपडामा छपाइ गरेर युवा साथीहरूले टी–शर्ट बनाएका थिए।
कुनै युवतीले फेसबुकमा लेखिन्, “धर्म, जात र मर्यादाको परिभाषा हामीले बदल्नेछौँ।”
यस्तो देखेर प्रशासन झस्कियो। थरहरू हराउँदै, वर्गहरू मेटिँदै एक नयाँ चेतना लहरझैँ बगिरहेको थियो।
पुजारी हरिहर, जसको घण्टीले गाउँ चल्थ्यो, अहिले टोलमा हिँड्दा केटाकेटी हाँस्थे, र भन्ने गर्थे “घण्टीले मायाको तुफान रोक्दैन नि, पुजारी बा!”
धार्मिक सङ्गठनले जिल्ला प्रमुखसँग गुनासो गरे, “यी युवाहरू संस्कार भङ्ग गरिरहेछन्।” जिल्ला प्रमुखले कडा स्वरमा भने, “संस्कार जोगाउने नाममा अन्याय रोक्न सकिँदैन अब।”
स्मृतिको नजर झ्यालबाट बाहिर जान्थ्यो। उनी हेर्थिन्, टोलका किशोरीहरू खुलेर हाँस्न थालेका छन्। उनी महसुस गर्थिन्, आफू थुनिए पनि विचार स्वतन्त्र भइसकेको छ। प्रेम अब केवल सम्बन्ध होइन, प्रतिक्रिया बनिसकेको थियो।
त्यसैबीच, एक नयाँ समूह जन्मियो – ‘प्रेमस्वर’ नामको युवा मञ्च। जसले घोषणा गर्यो, “हामी अन्तर्जातीय विवाह गर्ने जोडीहरूलाई कानुनी सहयोग र संरक्षण दिनेछौँ। प्रेम जन-जनमा छ, धर्मको गुफामा होइन।”
एक नयाँ युगको सङ्केत देखिन थालेको थियो, तर पुरानो सोचमाथि अझै अन्तिम हमला गर्न बाँकी थियो।
खण्ड-पाँच
घोषणापत्रको हावा बिस्तारै आँधी बन्न थालेको थियो। प्रेम अब दुई व्यक्तिको मात्र कुरा थिएन, समाजको संरचना हल्लाउने विस्फोटक शक्ति बनिरहेको थियो।
स्मृतिका बुबा, वेदपाठी पण्डित शरणीधर त्रिपाठी, जो गाउँमा धर्मको “अन्तिम सत्य” मानिन्थे, अब उनी आफैँ प्रश्नको केन्द्र बनेका थिए। छोरीका विषयलाई लिएर गाउँमा आवाज उठ्न थाल्यो, “पण्डितकी छोरी त नास्तिकसँग भाग्ने पो रहिछ।” “जसले शास्त्र पढायो, ऊ आफैँ धर्मको रमिते बन्यो।”
एक साँझ, गाउँको धर्मसभाले बैठक बोलायो। बाइस जना पुरुष थिए – दायाँपट्टि ब्राह्मण, बायाँपट्टि क्षत्रिय, बीचमा एकजना पुजारी। स्मृतिकी आमालाई समेत प्रवेश दिइएन। “स्त्रीको ठाउँ चुल्हो हो, सभा होइन,” भनियो।
बैठकको निर्णय थियो: “स्मृतिलाई घरबाट निकाल्ने, मङ्गललाई गाउँबाट बहिष्कृत गर्ने, उनको सम्पत्ति र परिवारको हकसमेत खोस्ने।”
रातको समयमा मङ्गलको टोलमा ढुङ्गामुढा भयो। उनको कोठामा आगो लगाउने प्रयास गरियो। तर मङ्गल जिउँदै थिए। उनले आगोभन्दा ठूलो विद्रोह बोकेका थिए।
स्मृति त्यही रात झ्यालबाट बाहिर निस्किईन्। उनीले कुनै गन्तव्य रोजिनन्, तर उनीलाई थाहा थियो कि माया कहाँ सुरक्षित छ।
गाउँलेहरूको हुल, बाँसको लौरो बोकेर मङ्गलको पछि लाग्यो। तर यसपटक उनी एक्ला थिएनन्। ‘प्रेमस्वर’ समूहका साथीहरू, कतिपय बुद्धिजीवी, पत्रकार र समाजसेवीहरू उनको घरअगाडि भेला भइसकेका थिए।
क्यामेराहरू चम्कन थाले। घोषणापत्र पढियो: “हामी डराउँदैनौँ। प्रेम हाम्रो अपराध हो भने, न्यायालय हाम्रो धर्म हो।”
त्यही दिन, काठमाडौँका विभिन्न सहरहरूमा प्रदर्शन भए।
सामाजिक सञ्जालहरूमा यस्ता ह्यासट्यागहरू ट्रेन्डमा देखिन थाले।
#माया_अपराध_नठान
#प्रेम_घोषणापत्र_संसदमा
#जात_भत्काऔँ
#अन्धविश्वास_खरानी_बनाऔँ
तर प्रश्न बाँकी छ: अब के हुनेछ? स्मृति र मङ्गलले न्याय पाउँछन्? कि पुरातन समाज फेरि जित्नेछ?
खण्ड-छ
काठमाडौँको मौसम चिसो भए पनि वातावरण तातेको थियो। मङ्गलले पहिलोपटक सर्वोच्च अदालतको प्राङ्गण टेक्दा उनको हात समातेर स्मृति उभिएकी थिइन्। दुवैको अनुहारमा थकाइ थियो, तर आँखा आशाको उज्यालोले चम्किएका थिए।
वकिल सरोज तामाङले मुद्दा दर्ता गरे: “संवैधानिक अधिकारको हनन, अन्तर्जातीय प्रेममाथि सामाजिक अत्याचार र धार्मिक दबाबमा महिला स्वतन्त्रताको हनन।” त्यसपछि, मुद्दा मात्र कानुनी होइन, सामाजिक बहस बन्यो।
एकातर्फ पण्डित त्रिपाठी पक्षले “धार्मिक स्वतन्त्रता” को हवाला दिए। उनकी वकिलले भनिन्, “हाम्रो समाजको संस्कृति यस्ता विद्रोही प्रेमले बिगार्छ। यो लाजको विषय हो, अधिकारको होइन। उनीहरूलाई कठघरामा उभ्याउनुपर्छ।”
अर्कोतर्फ मङ्गलका पक्षले संविधानको धारा १८, १९, २४, २९ जस्तै समानता, अभिव्यक्ति, धर्म र स्वविवेकको स्वतन्त्रताको कुरा उठाए।
सार्वजनिक बहस चर्कियो।
मिडिया विभाजित भयो। केही टेलिभिजनले स्मृतिलाई “धर्मद्रोही” भन्दै बदनाम गरे, अरू केहीले भने उनलाई “साहसी नारी” घोषित गरे।
यही बहसबीच, देशका विभिन्न जिल्लाबाट अन्तर्जातीय जोडीहरू अदालतसम्म आइपुग्न थाले। कसैले बयान दिए, “हामी पनि समाजको डरले लुकेका थियौँ। अब उठौँ, बोल्ने बेला आयो।”
न्यायालय दबाबमा थियो – एकातर्फ परम्परा, अर्कोतर्फ संविधान। एकातर्फ धर्म, अर्कोतर्फ मानवीयता।
अदालतले मङ्गल र स्मृतिको सुरक्षा सुनिश्चित गर्न आदेश दियो, तर मुद्दाको टुङ्गो अझै लागिसकेको थिएन।
त्यो बेलासम्म, मङ्गलले घोषणापत्र पुनः संशोधन गरे। अब त्यो सिर्फ प्रेमको दस्तावेज थिएन, त्यो प्रतिरोधको राजनीतिक भाषा बनिसकेको थियो।
उनी लेख्थे: “हामी संविधानले दिएको माया गर्न पाउने अधिकार खोज्दैछौँ, तर समाजले त्यो अधिकार धर्मको नाममा खोसेको छ।”
त्यसपछि घोषणा गरियो: “प्रेम दिवसमा देशभर प्रेम स्वतंत्रता ऱ्यालीको आयोजना गरिनेछ।” काठमाडौँदेखि कञ्चनपुरसम्म। नारा एकै थियो: ‘प्रेम अपराध होइन।’
तर अब समाज मात्र होइन, राज्य पनि असहज हुन थालेको थियो।
खण्ड-सात
प्रेम अब केवल व्यक्तिगत विषय थिएन। मङ्गल र स्मृतिको कथा गाउँघरको झुपडीबाट राजधानीको संसदसम्म गुञ्जिन थालिसकेको थियो। तर जुनबेला माया विद्रोह बन्छ, त्यो विद्रोह विरुद्ध षड्यन्त्रको सञ्जाल बुनिन्छ।
तीनवटा मुख्य पात्रहरू अब पर्दा पछाडिबाट सक्रिय भएका थिए – पण्डित शरणीधर त्रिपाठी: स्मृतिकी बुबा, धार्मिक प्रतिष्ठाका नाममा अन्तर्जातीय प्रेमका कट्टर विरोधी। रुद्र लामिछाने: एक प्रभावशाली मिडिया मालिक, जसले समाजको ‘शुद्धता’का नाममा राष्ट्रवादी भावना बेच्थे। अर्जुन भण्डारी: सत्तारूढ दलका युवा सङ्गठन प्रमुख, जसको नजर अन्तर्जातीय प्रेम-विरोधी आन्दोलनलाई ‘राष्ट्रिय अस्मिता’ बनाउनेमा थियो।
उनीहरूको भेट एक गोप्य रिसोर्टमा भयो। “यिनीहरूको प्रेम हाम्रो धर्म, संस्कृति र सत्ता सबैमाथि खतरा हो,” त्रिपाठीले भने। उनीहरूले यो निर्णय गरे कि मिडियाबाट चरित्र हत्या गर्ने, धार्मिक सङ्गठनले विरोध र्याली निकाल्ने र युवा सङ्गठनले बल प्रयोग गर्ने षड्यन्त्रको योजना बन्यो।
पहिलो प्रहार: स्मृतिमाथि अस्मिता बेचेको आरोप। सामाजिक सञ्जालमा एउटा फेक भिडियो फैलाइयो जहाँ स्मृतिलाई ‘धर्म परित्याग गरी विदेशी एजेन्डा बोक्ने एजेन्ट’ र ‘कलङ्कित आइमाई’ भनिएको थियो।
दोस्रो प्रहार: मङ्गलमाथि झुटो आरोप। एक बालिका अपहरणको झुटो मुद्दा दर्ता गरियो र मङ्गललाई ‘मोरल पोलिसिङ’को सिकार बनाइयो।
तेस्रो प्रहार: घोषणापत्रमाथि प्रतिबन्धको माग। रुद्र लामिछानेको सञ्चारमाध्यमले सम्पादकीय लेख्यो, “देश टुक्र्याउने घोषणापत्रमाथि तुरुन्त प्रतिबन्ध लगाइयोस्, अन्यथा देशमा ठूलो दुर्दशा सुरु हुनेछ।”
मङ्गलको टोलमा ढुङ्गामुढा भयो। स्मृतिकी आमालाई मानसिक यातना दिइयो। उनको घरमा एक सातासम्म पुरोहितहरूले ‘पुनः शुद्धि यज्ञ’ गरे।
तर त्यहीबेला एक युवती अगाडि आइन्। उनको नाम थियो रेणुका विश्वकर्मा। उनले मिडियामा भनिन्, “म पनि दलित हुँ। मैले ब्राह्मण युवकसँग माया गरेँ। तर मलाई बन्धक बनाइयो, जबर्जस्ती सम्बन्धको आरोप लगाइयो। अब म चुप बस्दिनँ।”
त्यसपछि अनेक अन्तर्जातीय जोडीहरूले ‘प्रेम घोषणापत्र’ नामको अभियान चलाए। फेसबुक, ट्विटर, टिकटकभरि माया, आँसु र विद्रोह छताछुल्ल भयो। षड्यन्त्रकारीहरूको योजना उल्टियो, तर खतरा अझ बाँकी थियो।
रातको अँध्यारोमा मङ्गललाई एक अपरिचित नम्बरबाट फोन आयो: “तिमी धेरै बोल्छौ, धेरै लेख्छौ, धेरै ग्याङ परिचालन गर्छौ। अब लेख्नुअघि एकपटक ज्यानको सुरक्षा पनि सोच…..।”
खण्ड-आठ
मङ्गल अस्पतालको बेडमा सुतेका थिए। स्मृति शान्त स्वरमा उनको निधारमा हात राखेर भनिरहेकी थिइन्, “हाम्रो प्रेमलाई अपराध मानेको यो समाजलाई हामीले संविधानकै भाषामा जवाफ दिनुपर्छ।”
त्यसैदिन एउटा ऐतिहासिक प्रस्ताव संसदमा दर्ता भयो: “अन्तर्जातीय विवाहलाई विशेष संवैधानिक सुरक्षा दिने सम्बन्धमा……”
सांसद दिलमाया परियारले सदनमा आवाज उठाइन्, “माया सामाजिक सम्झौता होइन, मानवीय अधिकार हो।”
“हामी संविधानमा समानता गुनगुनाउँछौँ तर देशका गल्लीगल्लीमा जात हेर्छौँ, भेदभाव, षड्यन्त्र, दमनमा उत्रन्छौँ।”
कसैले ताली बजाए, कसैले आँखा चम्काए। तर केही रुढिवादी सांसदहरू उठे। उनीहरूले नियमापत्ति छ भन्दै आक्रोशित हुँदै बोले, “यी नयाँ पुस्ताले हाम्रो परम्परा भत्काउँदैछन्!” “कुल, धर्म, संस्कृति सबै मासिन्छन्, यो पश्चिमाको डलरको खेल हो!”
त्यसै घडी संसदभित्र हुटिङ सुरु भयो। सत्तापक्ष मौन थियो। विपक्ष आआफ्नै भाषणमा व्यस्त।
स्मृतिले मिडियामा भनिन्, “हामीले प्रेम मात्र गरेका छैनौँ, संविधानको ‘समानताको धारालाई’ जीवनमा उतारेका छौँ।”
“हामी दयाको भिक होइन, अधिकार र कानुनी संरक्षण मागिरहेका छौँ।”
यसरी, ‘प्रेमको घोषणापत्र’ अब संविधानमा अङ्कित हुने लडाइँमा रूपान्तरण भइसकेको थियो।
युवाहरू सडकमा नारा लगाउन थाले:
“प्रेम अपराध होइन!”
“अन्तर्जातीय विवाहलाई कानुनी संरक्षण चाहिन्छ!”
“अन्धो समाज होइन, संविधानले शासन गरोस्!”
तीन साताको निरन्तर बहसपछि संसदले एउटा ऐतिहासिक निर्णय गर्यो: “संविधानको धारा १८ मा अन्तर्जातीय प्रेम र विवाहको संरक्षण उल्लेख गरियोस्!”
मङ्गल त्यो दिन बोल्न सकेनन्, तर स्मृतिले अस्पतालको झ्यालबाट संसद भवन हेरेर मुस्कुराउँदै भनिन्, “अब हामीले प्रेमलाई अपराध होइन, परिवर्तनको घोषणापत्र बनाएका छौँ।”
खण्ड-नौ
संसदको ऐतिहासिक निर्णयपछि केही महिना बितिसकेको थियो। ‘प्रेमको घोषणापत्र’ अब नेपालको इतिहासमा एउटा सशक्त दस्तावेजको रूपमा चिनिन्छ। समाजमा व्यापक परिवर्तनको आभास थियो, तर अझै केही कुरा बाँकी थिए।
काठमाडौँका प्रमुख चोकहरूमा पोस्टर र होर्डिङहरू चर्किरहेका थिए: “समाजले प्रेमको अधिकार दिनुपर्छ!” “जात, धर्म र वर्गको नाममा जे–जस्तो असमानता छ, त्यो हटाउनुपर्छ!”
युवाहरू अब मञ्चमा उभिएर आफ्नो अधिकारका लागि आवाज उठाइरहेका थिए। स्मृतिको आँखामा अब दुःख होइन, शक्तिको चमक थियो – त्यो बल जसले शोषित र अपहेलित वर्गलाई न्याय दिलाउँथ्यो।
विवाह र सम्बन्धका नयाँ कानुनी मापदण्डहरू लागू भए। कानुनी कागजातमा प्रत्येक नागरिकलाई आफ्नो साथी चयन गर्ने स्वतन्त्रता मिलिसकेको थियो। स्मृति र मङ्गलको सम्बन्धलाई केवल कानुनी मान्यता मात्र प्राप्त भएको थिएन, उनीहरू अब समाजका क्रान्तिकारी प्रतीक थिए।
तर परिवर्तन सबै ठाउँमा सस्तो हुँदैन। कसैले प्रेमको स्वतन्त्रतालाई स्वीकृति दिएका थिए, तर अझै पुराना धारणा र मूल्यहरूले केही ठाउँमा पासो थापेका थिए। आँखामा आँसु थियो, फेरि पनि मनमा आक्रोश थियो। स्मृति र मङ्गलले त्यो सङ्घर्ष बुझिसकेका थिए। यो केवल दुवैको कथा थिएन, समाजको समग्र भविष्यको कथा थियो।
स्मृतिले एक पत्रिकालाई अन्तर्वार्ता दिइन्, उनीले भनिन्: “हामीले यो परिवर्तन मागेका थिएनौँ, यो परिवर्तन माया र इन्कारको बीचको सङ्घर्षबाट आएको उपहार हो।”
“आज हामीले प्रेमलाई न केवल आफ्नो, सबैको अधिकार बनाएका छौँ।”
मङ्गलका आँखामा पनि एउटै चमक थियो, उनको चेहरामा त्यस दिनको चोटको दाग ओझेल परेको थिएन – त्यो घाउको तातो प्रेम र न्यायको मार्गलाई चिनाउने निशानछापजस्तै बनेको थियो।
अन्ततः प्रेमले आफ्नो रूप पाएको थियो। मङ्गल र स्मृतिको प्रेम केवल दुई प्रेमी बीचको कुरा नभएर, यसले समाजमा भूकम्प ल्यायो र नयाँ विधिको संवेदनशील र सजीव हिस्सा पनि बनेको थियो।
अब गल्ली र गाउँहरूमा हरेक ठाउँमा यो कथा फैलिएको थियो: “‘प्रेमको घोषणापत्र’ले जात, धर्म र वर्गका बाधाहरूलाई तोडेको छ।”
स्मृति र मङ्गलले एकअर्कालाई अङ्गालेर भनिरहेका थिए, “हामीले जात, धर्म र वर्गको सीमाना तोडेर प्रेमलाई एक नयाँ यथार्थ बनाएका छौँ। अब हामीले केवल स्वतन्त्रता मात्र खोजेका छैनौँ, हामीले समाजलाई नयाँ नजरले हेर्ने ढङ्ग सिकाएका छौँ।”
अन्ततः, यो केवल एउटा प्रेमको कथा मात्र थिएन, यो एक सामाजिक क्रान्ति थियो जसले सामाजिक असमानता र विभाजनलाई चुनौती दिएको थियो। स्मृति र मङ्गलको प्रेम आज पनि समाजको मुक्तिको प्रतीक बनेको छ। उनीहरूको प्रेम अब आन्दोलनको उद्घोषणा बनिसकेको छ।
ललितपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।