लभ कुमार भुजेल
❛❛
साँढेको जुजाइमा,
बाछाको मिचाइ भयो
रगतमा भिजेका सपनाहरूको चिच्याहट,
पुग्दैन कहिल्यै राज्यको कानसम्म।
विद्यालयको ढोका थर्कन्छ,
जहाँ एउटा गुरु,
कुच्चिएको कर्म लिएर
किताब खोल्दै छन्
तर, राजनीति बन्दुक बन्छ।
कसरी सम्झाऊँ म,
शिक्षा कुनै गुट होइन,
यो त जीवनको पुनर्जन्म हो।
तर यहाँ,
बजेटभन्दा सस्तो बनाइएको छ शिक्षकको आत्मा,
तलब पाउने आशामा
गौथलीका झैँ कुर्लिन्छन् उनीहरू
तर सुनिन्न,
किनभने सरकार भुइँमा छैन।
हिजोका नानीहरू आज अन्धकारमा छन्,
उनीहरू अक्षर पढ्न चाहन्छन्,
तर पाठशालामा भविष्यको पाठ छैन।
शिक्षकलाई सरहदमा राखेर,
राजनीतिक खेलाडीले चेसको गोटी बनाएका छन्,
उनीहरूको प्रमाणीकरण,
पारिश्रमिक,
र अस्तित्व
सबै शर्तमा राखिएको छ।
हे सरकार,
तपाईंको निर्णयले सबैतिरको उज्यालो मेटिनेछ,
के तपाईं त्यो गोधूलि देख्न सक्नुहुन्छ?
जहाँ आमाले किताब बेचेर पाठ्यपुस्तक किन्छिन्,
र शिक्षकले आँखा ओभार्दै सुत्छन्,
किनभने उनका नानीहरूले रोटी मागेका छन्।
सपना देखाइन्छ सरकारद्वारा
“शिक्षा डिजिटल, आधुनिक, समावेशी”
तर विद्यालयमा सुविधा छैन,
इन्टरनेट त सपनाको कथा हो।
शिक्षकलाई स्वीकृति छैन,
तर दोष भने उनैलाई दिइन्छ।
शिक्षा राजनीतिबाट पवित्र रहनुपर्छ,
यसलाई सम्झौताको टेबलमा नराख।
शिक्षकहरू गद्दार होइनन्,
उनीहरू परिवर्तनका बिजारी हुन्।
शिक्षकलाई अस्थायीत्वको पासोमा नपार
किनभने उनीसँग केवल आफ्नो पेट होइन,
अर्काको भविष्य बाँधिएको हुन्छ।
आजको राजनीति जटिल छ
तर शिक्षक सरल चाहन्छ,
उनीहरूले पाठ पढाउन चाहन्छन्
“देशप्रेम के हो?”
“न्याय र समता कसरी निर्माण हुन्छ?”
तर, पाठशाला बन्द छन्,
कारण —
कतै विद्यार्थी छैनन् त कतै गुरूहरू नै छैनन्।
के भावी देशनिर्माता बजेटको भीखमा हुर्कनु पर्ने?
ए सरकार,
दुवै स्तरका सरकार,
संविधानको अक्षर बुझ
शिक्षा अधिकार हो, सजाय होइन।
शिक्षक बाँच्न पाउँन्,
ताकि नानीहरू पनि उज्यालोमा रमाउन सकून्।
मतिगढा, सिलगढी


