सरिता पराजुली
एउटै आकाशका
दुई चम्किला तारा थियौँ हामी,
छुट्टाछुट्टै दिशाबाट आए पनि,
भावीले जुराइदिएको थियो
हाम्रो यात्रा।
एकअर्कातिर तानिँदै गए आँखाहरू,
बढ्न थाले पाइलाहरू,
समाउनलाई हातहरू,
एउटै सङ्गीतको धुनमा हराउँदै,
हामी आफ्नै संसारमा रमाउन थाल्यौँ।
अचानक
कालो बादल मडारिन थाल्यो,
आकाश गर्जियो,
समयको आँधीले हाम्रो खुसी खोस्यो।
मनका रहरहरू छताछुल्ल पोखिए,
भित्रभित्रै यो मन छियाछिया भयो।
आज म
मृत ताराझैँ बनेकी छु,
चिहाइरहन्छु हरपल,
अर्कै आकाशबाट उसलाई।
आवाजविहीन रुन्छ मेरो मन,
उसको यादमा तड्पिन्छु
एकान्तमा।


