सुरक्षा गौतम
आमा,
मलाई पछुतो छैन
तिम्री छोरी भएकोमा,
तर साँच्चै पछुतो छ,
केवल एक छोरी भएकोमा।
मैले आफूलाई सुरक्षित
कहीँ पनि पाइनँ,
तर यसको दोष
म तिम्रो काँधमा
कहिल्यै बोकाउँदिनँ।
सुनेकी छु,
मलाई जन्माउनुअघि
तिमीले बारम्बार सोचेकी थियौ रे,
“यो समाजमा छोरी भएर
यसले कसरी दुःख सहली?”
गर्भ जँचाउँदा
म छोरी भएको थाहा पाउँदा
घरकाले गर्भमै मलाई
फ्याँक्न दबाब दिँदा पनि,
तिमी र बाबाले मिलेर
मलाई यो संसार देखायौ रे!
तर
ज्ञान दिने गुरु नै
विद्यालयमा बैरी बने,
आफ्नै भनिएका आफन्तहरू
पशु सरी बने।
यहाँ कसैले चाहेनन्
एक छोरीको भावना बुझ्न,
म पितृसत्तालाई मात्रै
के भनेर सराप्नु अब?
कसैले ढाड सुमसुमाउँदा होस्
वा होस् हात समाउँदा,
म झस्किन्थेँ, आत्तिन्थेँ,
हरपल त्रसित हुन्थेँ।
ती गिद्धे नजरहरूबाट
म कसरी बच्न सक्थेँ र?
जब डरले थिच्थ्यो,
आँखाबाट आँसु झर्थे बरर…
त्यसैले त भन्छु आमा,
मलाई पछुतो छैन,
तिम्री छोरी भएकोमा,
मलाई पछुतो छ त केवल,
यो समाजमा
आफू ‘छोरी’ भएकोमा।


