लक्ष्मी थापा क्षेत्री
काँधमा घरको जिम्मेवारी,
मुटुमा देशको माया,
आँखामा छोराछोरीका सपना
र शिरमा देशको इज्जत बोकेर
परदेशिएका मेरा बा।
कालो अक्षर नचिन्ने मेरा बा,
तर डाँडापाखा, वन, मन र इसारा
सबै पढ्न र बुझ्न सक्ने ज्ञानी छन्।
कसैभन्दा कम छैनन् मेरा बा।
उनी
देशको शान, मान र
इज्जतका हकदार हुन्,
न देशलाई झुकाउन चाहन्छन्,
न सुकाउन।
विडम्बना! रोजगारकै लागि
परदेशिएका हुन् मेरा बा।
आफू जन्मेको गाउँठाउँ छोड्नु रहर थिएन,
बाध्यताको खोल ओढेर परदेशिए मेरा बा।
सात समुद्रपारिबाट आफ्नो देशको माटोलाई
असाध्यै माया गर्ने एक सच्चा देशभक्त,
देशका असली सर्जक पनि हुन् मेरा बा।।
दैलेख, नेपाल


