विकल ‘आर्त्त’
प्रिय दुश्मन!
प्रेमको वर्षा अनवरत छ तिमीलाई।
मलाई आफन्तभन्दा दुश्मन प्यारो लाग्छ,
आफ्नैले त कति बेला घाँटी थिच्छन्,
अँगालोमा कसेर ओठ चुम्दै छुरा रोप्छन्।
मलाई जोसमा जोगिन गाह्रो छ,
त्यसैले त
मैले एउटा दुश्मनका लागि
हजारौँ आफन्त गुमाइसकेको छु।
प्रिय दुश्मन!
म आफूलाई भन्दा कयौँ गुना
अगाध प्रेम गर्छु तिमीलाई।
तिम्रो हातमा हतियार नहोला,
तर तिम्रो हातमा कानुन छ,
कानुन किन्न सक्ने हर्कत छ,
न्यायाधीश कब्जामा लिने रूप छ,
आँखाको झिमिक्कमा मान्छे गायब गर्ने
मुस्कानको धार छ।
र पनि त म
तिमीलाई नै प्रेम गर्छु।
खोटाङ


