Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : मौन अवधि | हाम्रो कथाघर

माघ १९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

आख्यान - कथा
कुमार काफ्लेकुमार काफ्लेअसार २६, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कुमार काफ्ले


माघको ठिहीमा नङ्छुरी लागेर मेरा हात कठ्याङ्ग्रिएका थिए। झिसमिसे उज्यालैमा नाइटबसले बिर्तामोड बसपार्कमा झारिदिएको थियो। सधैँ चहलपहल हुने टिकट काउन्टर सुनसान थियो। पहिले-पहिले गाडीबाट झर्न नपाई ‘कहाँ जाने, तपाईं कहाँ जाने?’ भन्दै सोध्ने चालक, सहचालकहरू त्यो दिन चुपचाप थिए। जब म फुङलिङ जाने गाडी खोज्न थालेँ, तब बल्ल थाहा पाएँ, म जानुपर्ने ठाउँमा हिजैदेखि सवारीसाधन आवतजावत बन्द रहेछ। मुक्कुमलुङमा केबलकार बन्ने भएपछि स्थानीयहरूले त्यसको विरोधमा हडताल गरेका रहेछन्। त्यसको प्रभाव ताप्लेजुङमा मात्रै होइन, पाँचथर, इलाम र झापासम्मै परेको रहेछ।

मलाई स्थानीयहरूको विरोधसँग कुनै लिनुदिनु थिएन, न त केबलकार बन्नु-नबन्नुमा कुनै रुचि थियो। मलाई त मात्रै समयमै कार्यक्षेत्रमा पुग्नु थियो। बिर्तामोड बसपार्कमा कहिले यता त कहिले उता गरिरहेको थिएँ। मैले त्यहाँबाट फुङलिङ पुग्ने केही उपाय वा साधन पाइएला भन्ने आशा गरेको थिएँ। कहिले काउन्टरमा त कहिले पार्किङ गरिराखेका बोलेरोतिर पुगेर मैले दुई घण्टा बिताएँ। तथापि, निराशाबाहेक केही मिलेन।

खबर मिल्यो, “फुङलिङमा त आगो बलेको छ रे!”

“बिहानैदेखि स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। कुनै हालतमा पाथिभरामा केबलकार बन्न नदिने रे!”

‘ल बदाम आयो, बदाम’ भन्दै आएका सेतै कपाल र दाह्री फुलेका बूढोसँग बदाम किनेर म कुत्रुक-कुत्रुक खान थालेँ।

एकछिनपछि नजिकैको होटलमा गएँ र चिनीबिनाको चिया पिउन थालेँ। बानी परेपछि खल्लो चिया पनि मीठै हुँदोरहेछ। दूध डढाएर उमालेको तात्तातो चिया सुरुप्प पार्दै मैले बसपार्कतिर नियालेँ। बदाम बेच्ने बूढो, जता-जता मान्छे छन्, त्यतै-त्यतै जान्थ्यो। चालक र सहचालकहरू गलल्ल हाँस्दै कुरा गर्दै थिए। सार्वजनिक शौचालयको अगाडि प्लास्टिकको रङ खुइलिएको कुर्सीमा बसेर एउटी किशोरी मोबाइल चलाउँदै थिई।

“सर, कहाँसम्म जाने हो?” वेटरले मलाई सोध्यो।

“फुङलिङसम्म जानुपर्ने भाइ, कहिलेसम्म खुल्छ, भाइ?” उसैले बन्द गरेको र खुलाउने पनि उही हो, जसरी मैले बुझ्न खोजेँ।

“अनिश्चितकालीन बन्द हो सर, खुल्ने कुनै टुङ्गो छैन,” उसले दृढ भएर दिएको उत्तरले म अक्क न बक्क भएँ।

“सर, अहिले माथि नजानुस्, बरु घरै फर्किनुस्…” वेटरले कप उठाउँदै थप्यो।

“होइन भाइ, कहिले जानु, कहिले आउनु? फेरि मेरो त बिदा सकियो, जसरी पनि भोलि त अफिस पुग्नुपर्छ,” मैले आफ्नो विवशता ओकलेँ।

“त्यसो भए त खर्च हुने भयो सर!” उसले हाँस्दै भन्यो।

मैले सोचेँ, ‘होटेलमा बसेपछि खर्च त बढ्ने भइहाल्यो नि!’

ऊ फेरि मेरो नजिक आयो र भन्यो, “बाइकमा जानुस् सर, बाइकलाई रोक्दैन।”

“बाइक! कसको छ र बाइक? तिमी मिलाउन सक्छौ?” मैले सोधेँ।

“पैसाका लागि यहाँ के गर्दैनन् र सर! म बोलाइदिऊँ बाइकवाला?”

“कति लिन्छ?”

“त्यो त उसैलाई सोध्नुस् न। बोलाइदिऊँ?”

“बोलाऊ न त।”

बाइकको पछाडि बसेर म गन्तव्यतिर लागेँ।

बुधबारे पुगेपछि हामीलाई रोकियो। हातमा प्लेकार्ड बोकेर केही युवाहरू चिच्याइरहेका थिए, ‘केबलकार चाहिँदैन, चाहिँदैन!’

उनीहरूले ‘कहाँ जान लागेको? जान मिल्दैन…’ भनेर केरकार गरे। बाइक चालक भाइले दिएको उत्तरले चित्त नबुझाएर हो कि, मलाई नि केही प्रश्न सोधे।

सोचेँ, ‘जान दिँदैनन् क्या हो! अलिकति मिलाएर कुरो गर्नुपर्‍यो।’

“त्यहीँ इलामसम्म मात्रै हो। अर्जेन्ट छ। तपाईंहरूको आन्दोलनप्रति मेरो पनि समर्थन छ।”

बल्ल उनीहरूले जान दिए। बाटो खाली थियो, त्यसैले हामी तीव्र गतिमा अगाडि बढ्यौँ।

ठाउँ-ठाउँमा चिया पिउन, खाजा खान रोकियौँ। थाहा भयो, इलाम, राँके र फिदिमबाट तराई झर्नुपर्ने मानिसहरू त्यतै रोकिएका रहेछन्।

फुङलिङमा आन्दोलनको रापताप निकै चर्किएको रहेछ। गएको राति ‘नो केबलकार’ समूहले मसाल जुलुस निकालेको रहेछ। केही उग्र युवाहरूले मसालको पुल्ठो व्यक्तिका घर र बैंक ताकेर हानेका रहेछन्। धन्न, आगलागी भने हुन पाएनछ।

‘मुक्कुमलुङ बचाउन हामी एक हौँ, एक हौँ’
‘आदिवासीमाथिको ज्यादती बन्द गर, बन्द गर’
‘प्रहरी ज्यादती बन्द गर, बन्द गर’
‘आदिवासी एकता जिन्दावाद, जिन्दावाद’ आदि जस्ता गगनभेदी नारा लगाउँदै स्थानीय आदिवासीहरू सडकमा उत्रिएका रहेछन्। एकछिन त सडकपेटीमा बसेर म आन्दोलनकारीहरूलाई हेरेको हेर्‍यै भएँ।

ढुङ्गा टिपेर प्रहरीलाई ताकिरहेका आन्दोलनकारीहरूको जोश थामिनसक्नुको थियो। इलामको माङ्सेबुङ, पाँचथरको हिलिहाङ र कञ्चनजङ्घाको फेदी फक्ताङलुङदेखि मान्छेहरू आएका रहेछन्।

हुरीझैँ हल्ला फैलियो, ‘फुङलिङ बजारदेखि केबलकारको बेस स्टेसन काफ्लेपाटीसम्म कर्फ्यु लाग्यो रे!’

म डराउँदै छिट्छिटो कोठामा पुगेँ र चैनको सास फेरेँ। कोठाको झ्याल आधा खोलेँ र आधा मुन्टो बाहिर निकालेर बाहिर हेर्न थालेँ।

स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न भन्दै निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीहरूले टेरपुच्छर लगाएका थिएनन्। प्रहरीहरू उनीहरूलाई रोक्न खोज्थे। के मान्थे! उल्टै प्रहरीमाथि ढुङ्गा टिपेर बर्साउन थाले।

‘मुन्धुमी धार्मिक स्थलको अतिक्रमण बन्द गर’, ‘मुक्कुमलुङमा सैन्यकरण बन्द गर’
‘असक्षम सीडीओलाई कारबाही गर, कारबाही गर’, ‘केबलकार खारेज गर’ भन्दै, चिच्याउँदै आदिवासी किरातहरू उफ्रिरहेका थिए।

प्रहरीले अश्रुग्यास छोड्यो, मान्छेहरू आँसु पुछ्दै तितरबितर भए र छिनमै जम्मा भइहाले। उस्तै उग्र नाराहरू घन्काउन थाले।

अचानक गोली पड्केको आवाज आयो, ‘गड्याम्म, गड्याम्म!’

आन्दोलनकारीहरूको भागदौड भयो।

केहीबेरमै आन्दोलनकारीहरू पुनः भेला भएर बीच सडकमा आगो बालेर चर्का नाराहरू लगाउन थालिहाले, ‘राज्य आतङ्क बन्द गर’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘असक्षम सीडीओलाई बर्खास्त गर’, …।

दिनप्रतिदिन आन्दोलन झन् उग्र हुँदै गइरहेको थियो। केही दिन निकै चासोपूर्वक हेरेँ मैले पनि, यताबाट उता घुम्दै, छलिँदै र भौँतारिँदै। केन्द्रबाट आदिवासी जातिका नेता, मधेसी नेता आएर आन्दोलनकारीको रगत उमाल्ने भाषण गरे र फर्किए।

शनिबार बिहान बिउँझिनेबित्तिकै मलाई पाथिभरा माताको दर्शन गर्न मन लाग्यो। केबलकार नबनिकन मुक्कुमलुङलाई आँखाभित्र सजाउने उत्कट चाहले मलाई तान्यो। यदि बनिहाल्यो भने त यसको प्राकृतिक सुन्दरता रहला, नरहला! कृत्रिम सौन्दर्यले ढाकेपछि यहाँको मौलिकता चुँडिएको फूलजसरी ओइलाउँदै जाला!

यस्तै सोच्दै-सम्झँदै म काफ्लेपाटीबाट उकालो लागेँ। तीन घण्टा पैदल हिँडिसकेको मलाई थकाइले भने गाँजिसकेको थिएन। छ्याङ्ग खुलेको आकाशतिर हेरेँ, सीमाहीन आकाशजस्तै चिसोको पनि सीमा छैन कि जस्तो लाग्यो मलाई। घाम पनि यति चिसो हुन्छ र! थाहा थिएन। बल्ल थाहा भयो, अन्त थाहा नभएका धेरै कुरा मुक्कुमलुङमै थाहा हुने रहेछ।

चुन्द्रीमा हालेर ढाडमा बूढीआमालाई बोकेर एउटा भरिया ओरालो झर्दै थिए। ढुङ्गेनी उकालो बाटो थियो। माथ्लो फेदीमा पुगेपछि म सुस्ताउन एकछिन बसेँ। त्यहाँ पनि पिठिउँमा बोकेर-बोकिएर माताकोमा पुग्ने र फर्किनेहरू थिए।

मलाई पनि पाथिभरा दर्शन गर्न एकपटक बूढीआमालाई ल्याउन मन लागेको थियो। सायद, रोगले खोक्रो बन्दै गएकी बूढीआमा यो चार-पाँच किलोमिटर उकालो हिँड्न सक्दिनन्। त्यही भएर भरियाहरूसँग कुरा गर्न मन लाग्यो, “दाजु, काफ्लेपाटीदेखि मन्दिरसम्म पुर्‍याएको कति लिनुहुन्छ?”

“त्यो त वेट हेरेर हुन्छ,” थाकेका दाइले छोटो उत्तर दिए। लागेको होला, यो अहिले मेरो ग्राहक होइन।

“अलि बुझिनँ दाजु, राम्रोसँग बुझाइदिनु न है,” मैले विनम्र अनुरोध गरेँ।

त्यसपछि उनले मलाई मजाले बुझाए, शब्दशक्ति र सम्मानको उपज होला सायद।

“साठी-सत्तरी किलोको मान्छे छ भने किलोको एक सयदेखि डेढ सयसम्म लिन्छौँ। त्यहाँदेखि माथि वेट छ भने किलोको दुई सय लिन्छौँ। अप एन्ड डाउनको हो है फेरि,” अङ्ग्रेजी मिसाएर भरिया दाइले जवाफ दिए। पर्यटकहरूको सङ्गतले होला।

मैले मुन्टो हल्लाउँदै मनमनै हिसाब गरेँ, ‘आमालाई ल्याउँदा छ-सात हजार त लाग्नेरहेछ।’

यहाँभन्दा माथि होटल, पसल केही पाइन्न रहेछ। पानी पनि नपाइने जानकारी बोर्डमा लेखिएको थियो। प्रहरी चौकीमा नाम लेखाएर मात्रै जान पाइने रहेछ। यात्रुहरूको सुविस्ताका लागि ठाउँ-ठाउँमा प्रतीक्षालय बनाइएको थियो। कति मिटर उचाइमा आइपुगियो, माताको मन्दिरमा पुग्न कति समय लाग्छ, सोको जानकारीसमेत दिइएको रहेछ। पहिले आउँदा विभिन्न रङका गुराँस फुलेका थिए। अहिले त गुराँस फुल्ने समय पनि होइन, तर फुल्नका लागि पर्खिरहेका गुराँसका बोट काटिएका रहेछन्। गुराँसका ठुटा आँखामा बिझाएर औँलाले कोसमा मिचेँ, निकैबेर दुखिरह्यो।

थकित भएको म माताको मन्दिरमा पुगेपछि भने फुर्तिलो बनेको थिएँ। त्यहाँ पुग्दा अनायासै हृदय झङ्कृत भइदियो। आफूलाई कतै स्वर्गको एक टुक्रामा छु कि झैँ आभास हुन थाल्यो। माताको दर्शन गर्दै मैले पुजारीसँग निकै कुरा गरेँ। देवी माताको बारेमा मैले धेरै कुरा थाहा पाएँ। आन्दोलनका कारण टाढाबाट दर्शनार्थीहरू नआएकाले चहलपहल निकै कम थियो।

उकालो चढ्दाभन्दा ओरालो झर्न आधा समय मात्रै लाग्यो।

कोठामा आएर निकै घोत्लिएँ, ‘मुक्कुमलुङमा केबलकार बनाउनुपर्छ भन्ने र बन्नैहुँदैन भन्ने कुन पक्ष र तर्क ठीक छ?’

निकै चिन्तन गरेपछि मैले सोचेँ, ‘मैले केबलकार बन्नुपर्छ भने पनि, बन्नुहुँदैन भने पनि हुन्छ चाहिँ के? बनाउन सरकार पूरा शक्तिका साथ लागिपरेको छ। अश्रुग्यास र गोली बर्साइरहेको छ। उता आन्दोलनकारीहरू केबलकार चाहिँदैन भन्दै ज्यानको बाजी थापेर सडकमा उत्रिएका छन्। बन्द, हडताल, मसाल जुलुस र विभिन्न अभियान चलाइराखेका छन्। बूढापाका र असहायहरूलाई बोकेर भरियाहरूले जीविका चलाइराखेका छन्। तल्लो फेदीदेखि माथ्लो फेदीसम्म स-साना व्यापार-व्यवसाय गर्नेहरूले पनि सेवाको साथसाथै अर्थोपार्जन गरिरहेकै छन्। फेरि केबलकार बनेपछि भरियालाई एक पैसा दिनु पनि पर्दैन। हिम्मत हारेकाहरू आशा बोकेर दर्शन गर्न आउने थिए होलान्!’

पाथिभराको ऐतिहासिकता के रहेछ! त्यसबारे खोजी गर्न मन लाग्यो। स्थानीय बूढापाकाहरूका किंवदन्ती सुन्दा यस्ता कुरा थाहा पाएँ, ‘परापूर्वकालमा भेडा गोठालाहरूले स्थापना गरेको विश्वास, आस्था एवम् अलौकिक शक्तिकी देवी पाथिभरा शक्ति-उपासकहरूका लागि विशेष छ। हिँडाइ र बसाइ जतिसुकै कष्टदायी भए पनि पुगेपछि भने कल्पनातीत स्वर्गको आभास भई यात्राको दुःख, कष्ट सबै क्षणभरमै भुलिन्छ।’ त्यहाँबाट कञ्चनजङ्घा, फक्ताङलुङ, काङबाचेन, मकालु, ल्होत्से र डोम हिमालको दृश्यावलोकन गर्दै गर्दा यस्तो आभास स्वयं गरेको थिएँ।

अन्न भरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथिभरा पहाडको शिखरमा उत्पत्ति हुनाले यसको महिमा गाएर सकिँदैन। लिम्बू समुदायमा पाथिभरालाई शक्तिको स्रोतका रूपमा लिने गरिन्छ। उनीहरूको भाषामा ‘मुकुम’को अर्थ शक्ति वा बल र ‘लुङ’को अर्थ ढुङ्गा हुँदोरहेछ। देवीको मन्दिर भवन नबने पनि किरातहरूले भने आफ्नै शैलीमा मन्दिर बनाएका रहेछन्, जसको प्राङ्गणमा महागुरु फाल्गुनन्दको प्रतिमा रहेछ।

यस्तै मन-मन्थन गर्दै म ढल्किएँ। खै कसले हो, मलाई चर्को स्वरमा सोध्यो, “तेरो कित्ता क्लियर गर्, न यताको न उताको पानीलौरो बनेर नबस्।”

हुटिट्याउँले आकाश थाम्ने कोसिस गरेझैँ मैले पनि केही त गर्नैपर्छ। म जिउँदो लास बनेर बाँच्न चाहन्नँ। मभित्र अझै मानवता जीवित छ। मैले यस्तो महसुस गरेँ।

काठमाडौँ छोडेको यो महिना दिनमा म, म रहिनँ। मुक्कुमलुङ कसैको पेवा होइन, यहाँ सबै किसिमका फूलहरू फुल्न पाउनुपर्छ। सबैको सहअस्तित्व स्वीकार गर्नुपर्छ। प्राकृतिक सम्पदा र मौलिक संस्कृति पनि जोगाउनुपर्छ। त्यसलाई जोगाउँदै विकास र समृद्धिको मार्गप्रशस्त पनि गर्नुपर्छ।

म सम्झनाको तरेलीमा बहँदै गएँ। चटक्क भुल्न नसक्ने गरी सुविधाभोगी पुस्ता जबर्जस्त रूपले अघि बढिरहेको छ। जीवनयापन गर्ने सवालमा भौतिक र अन्य कुरामा प्रगतिशीलताको जमाना आएको छ।

पुस-माघको कठ्याङ्ग्रिँदो ठन्डी र जेठ-असारको प्रचण्ड गर्मी सधैँ उस्तै रहँदैन। समय शून्य छ, तर समयले छोडेका खत र चिह्नहरू पछिसम्म रहिरहन्छन्।


ओखलढुङ्गा, हाल: नयाँ बजार इलाम


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

यो पनि पढ्नुहोस्...

कथा : मौन अवधि | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

उपन्यास: गरुराहा | अध्याय: ०५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

कथा : मौन अवधि | हाम्रो कथाघर

माघ १९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.