असल चरित्र
फराकिलो छ सडक,
उज्यालो बालेर बलिरहेछन् बत्तीहरू।
आधा जूनको झन्डा फहरिरहेछ आकाशमै,
डराएर टेकिरहेछन् मेरा पाइलाहरू,
जबर्जस्ती सडकको छेउ-छेउतिर।
टेकेर निसङ्कोच हिँड्न मन थियो,
फराकिलो सडकको फराकिलो छातीमा।
तर, आकारमा फराकिला सबै-सबैको,
विधान फराकिलो कहाँ हुँदो रहेछ?
अदृश्य वास्तविकता फराकिलो कहाँ हुँदो रहेछ?
सडक छेउछाउका पर्खालहरूमा,
टाँसिएका मानवीयताविरोधी नाराको आवाजभन्दा,
खान नपाएर भुकिरहेका,
अव्यवस्थित कुकुरहरूका आवाजभन्दा,
ठूलो हुँदो रहेछ मौनताको स्वीकृति।
जसरी लेखिन्छ सडकको विधानभित्र
बिचमा निषेध, छेउमा स्वतन्त्रता।
ठीक त्यसैगरी किन लेखिँदैन,
सडकको सबै भागमा समानताको स्वतन्त्रता?
किन त्यही सडकमा,
हिँडिरहेछन् कोही बिचबाटै हतार-हतारमा?
हिँडिरहेछन् कोही छेउ-छेउबाटै हतार-हतारमा?
जीवनको यो यात्रामा,
किन कोही-कसैको हतारमा समानता नहोस्?
हिँडिरहने मान्छेहरूका पदचापमा,
किन कोही-कसैका पाइतालाहरू साँघुरोमा फसुन्?
सायद,
नबुझेर म हिँडिरहेछु वर्षौंदेखि,
सडकको छेउ-किनारामा,
साँघुरो बनाउँदै आफ्नो गन्तव्य!
साझा बस्ती, खोटाङ


