असल चरित्र
फराकिलो छ सडक,
उज्यालो बालेर बलिरहेछन् बत्तीहरू।
आधा जूनको झन्डा फहरिरहेछ आकाशमै,
डराएर टेकिरहेछन् मेरा पाइलाहरू,
जबर्जस्ती सडकको छेउ-छेउतिर।
टेकेर निसङ्कोच हिँड्न मन थियो,
फराकिलो सडकको फराकिलो छातीमा।
तर, आकारमा फराकिला सबै-सबैको,
विधान फराकिलो कहाँ हुँदो रहेछ?
अदृश्य वास्तविकता फराकिलो कहाँ हुँदो रहेछ?
सडक छेउछाउका पर्खालहरूमा,
टाँसिएका मानवीयताविरोधी नाराको आवाजभन्दा,
खान नपाएर भुकिरहेका,
अव्यवस्थित कुकुरहरूका आवाजभन्दा,
ठूलो हुँदो रहेछ मौनताको स्वीकृति।
जसरी लेखिन्छ सडकको विधानभित्र
बिचमा निषेध, छेउमा स्वतन्त्रता।
ठीक त्यसैगरी किन लेखिँदैन,
सडकको सबै भागमा समानताको स्वतन्त्रता?
किन त्यही सडकमा,
हिँडिरहेछन् कोही बिचबाटै हतार-हतारमा?
हिँडिरहेछन् कोही छेउ-छेउबाटै हतार-हतारमा?
जीवनको यो यात्रामा,
किन कोही-कसैको हतारमा समानता नहोस्?
हिँडिरहने मान्छेहरूका पदचापमा,
किन कोही-कसैका पाइतालाहरू साँघुरोमा फसुन्?
सायद,
नबुझेर म हिँडिरहेछु वर्षौंदेखि,
सडकको छेउ-किनारामा,
साँघुरो बनाउँदै आफ्नो गन्तव्य!
साझा बस्ती, खोटाङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

