सबिन खत्री
कहिलेकाहीँ
जीवन यति चाँडो दौडिन्छ कि,
आफ्नै पाइला हराउँछ।
ऐना हेरेर मुस्कुराउँछु,
तर त्यो मुस्कान चिनिनसक्नुको देखावटी हुन्छ।
भित्र कतै म छु, थिइनँ कि भन्ने शङ्का लाग्छ।
दिनहरू बिते, समय बग्यो
र म आफैँलाई भुल्दै गएँ।
उज्यालो खोज्दा आँखा चिम्लिए,
शान्ति खोज्दा आवाज ठूलो भयो।
र जब म आफूभित्र फर्केर हेर्न थालेँ,
त्यहाँ भीड थियो,
तर म थिइनँ।
कसैको सपना पूरा गर्न खोज्दा,
आफ्ना सपनालाई सस्तोमा बेचिएको पाएँ।
म सधैँ राम्रो बन्न खोज्दै थिएँ,
तर त्यो अरूको परिभाषा थियो,
जुन मैले कहिल्यै सोधिनँ।
मलाई लाग्थ्यो, म सफल हुँदै छु,
तर म के गुमाइरहेको छु भन्ने महसुस
केही वर्षपछि मात्रै भयो,
जब मन सुन्न थाल्यो, तर हृदय मौन रह्यो।
आफूलाई भुल्नु सजिलो थिएन,
तर क्रमशः त्यसलाई बानी बनाइयो।
सपना अरूका थिए, आवाज अरूको थियो
र हिँड्ने बाटो पनि कसैको इशारामा थियो।
अब जब एक्लै बस्छु,
अझै याद आउँछ— ती दिनहरू,
जब मैले आफ्नै लागि सोच्न बन्द गरेको थिएँ,
जब म ‘म’ थिइनँ,
अरूको कथामा केवल एउटा पात्र थिएँ।
तर त्यो भुलिएको ‘म’ आज पनि कतै छ,
सपना देख्न डराउने,
तर सपनाभित्र लुकेको,
धेरै चोट खाएर पनि बाँचेको।
म जान्न चाहन्छु,
के फेरि सम्भव छ आफैँलाई सम्झन?
के फेरि सम्भव छ नयाँ तरिकाले बाँच्न?
किनकि अब म फेरि आफैँ बन्न चाहन्छु।
रामेछाप


