सुशील लामा
एक युगमा दशक-दशक जुनी बाँचेको
मीठो युगल जोडीको प्रेमिल यात्रा,
मिलन र खुसीको बगैँचामा
फुल्दै गरेको प्रेम-फूल,
पिरतिको पछ्यौरीमा एक ढक्की उमङ्गको कोपिला ।
दर्बिलो भरोसाको देउरालीमा
समाजलाई साक्षी राखेर,
इन्द्रेणीमा अटेको रातो रङको सिन्दुरले
सेतो, कोरा सिउँदो रक्त-रञ्जित बन्दै
जीवनको अर्को अध्यायको प्रारम्भ भयो ।
कसैकी छोरी हुँदै,
बन्यौ कसैकी बुहारी,
अनि बनेकी थियौ तिमी मेरी
महान्, प्यारी आमा ।
आमा !
म तिम्रो रगतको एक ढिक्का,
तिमीले फेरेको एक फाँक सास,
तिम्रो मुटुको ढुकढुकी,
सुन्दर तिम्रो गर्भ,
मेरो सृष्टिको आधार ।
तिम्रो पाठेघरको न्यानो, मुलायम कोठामा
नौ-नौ महिना बोकी हिँड्यौ ।
बोकी हिँड्दा पीडा भएन तिमीलाई ?
अवश्य पीडा भएको थियो होला,
हिजोआज खाना थोरै-बेसी हुँदा थाहा पाएको छु मैले ।
आमा, तिमीले पीडा खेप्यौ,
आमा, तिमीले दुःख सह्यौ,
र त आज ‘म’, ‘म’ भएर बाँच्न पाएको छु,
यो सुन्दर संसारमा ।
कहिलेकाहीँ म दुख्दै गर्दा
मेरो दुखाइ तिम्रो आँखाको बाटो हुँदै
आँसु बनेर बग्थ्यो ।
म बिमार परेर ओछ्यानमा पर्दा,
निद्रा तिमीलाई लाग्दैनथ्यो ।
तिमीले मलाई कति माया गर्यौ,
लाग्छ, हिजोआज
त्यति धेरै माया तिमीले आफैँलाई गरिनौ होला ।
तिम्रो प्रेमले फूलैफूलको मौसम खसेको थियो,
हाम्रो परिवारमा, मेरो जीवनमा ।
आमा…
छन् भने यो दुनियाँमा देउता,
त्यो तिमी हौ ।
छ भने निःस्वार्थ प्रेम,
त्यो तिम्रो मनबाट निस्कन्छ ।
तिम्रो प्रेमको अर्थ केलाउने म को हुँ र ?
जबकि तिम्रो प्रेमको परिभाषा मै हुँ ।
आमा, तिम्रो प्रेम
हरदम सजाएको छु,
मनको एउटा कोठामा ।
पाँचखाल, काभ्रेपलान्चोक, हाल: लिमासोल, साइप्रस


