लभ कुमार भुजेल
म सधैँ तिनैलाई खोज्छु, जसले उज्यालो बाँड्छन्,
जसको हृदयमा प्रेम छ, जसले सबैलाई अँगाल्छन्।
यो दुनियाँ बदलियो, स्वार्थले छोप्न थाल्यो,
म तिनैलाई खोज्दैछु, जसले सत्यको दियो बाल्यो।
मानवता हराउँदैछ, आकाशमा धुवाँ सरी,
जहाँ स्नेहको मोल छैन, बेइमानी हाँस्छ निर्लज्ज बनी।
तर अझै कतै कुनामा, उज्यालोको झिल्को बल्छ,
जहाँ मन सफा छन्, जहाँ प्रेम झरना सरी झर्छ।
म ती आँखाहरू खोज्छु, जो अरूको पीडामा भरिन्छन्,
ती पाइलाहरू खोज्छु, जो अरुकै लागि सधैँ अघि सर्छन्।
युगलाई दोष के दिनु, जब स्वार्थले मन पोल्छ,
तर कोही त छन्, जसले नि:स्वार्थ सेवाको ढोका खोल्छ।
म ती शब्दहरू खोज्छु, जसले घाउमा मल्हम लगाउँछ,
ती हृदयहरू खोज्छु, जसले टुटेका सपना सजाउँछ।
संसारको अन्त्य अझै भएको छैन, जबसम्म सद्गुणीहरू छन्,
जो सत्यका गाथा रच्छन्, र प्रेमभावले धर्ती सिञ्चन गर्छन्।
म ती मान्छेहरू खोजिरहन्छु, जो अन्धकारमा दीप बन्छन्,
जो आफ्नै उज्यालोले, अरूको अँध्यारो मेट्ने सङ्कल्प गर्छन्।
कोही भन्छन्, “समय बदलियो, अब असल मनहरू भेटिन्नन्,”
म भन्छु, “नियालेर हेर, छन् तिनै, जो प्रेमले भरिएका छन्।”
मतिगढ़ा, सिलगढी


