छन्द: पञ्चचामर
जहाँ अनन्त सत्यले विलास गर्छ बल्कँदै
शिखा लिएर ऊर्ध्वमा निशान पोख्छ अग्लिँदै
धुवाँसमेत फेटियो शिखा छ रक्तरङ्गमा
बुभुक्षुले मुमुक्षुको तलास गर्छ अङ्गमा ।।
//१//
हजार हृत्त छन् जहाँ सफेद शून्य देखिने
सबै पुगेर अन्तको अनन्तमा लपेटिने
निराश लाग्छ जिन्दगी सतास चल्छ अग्निको
चिता जलेर के भयो, सुसेल्छ अग्नि मन्त्र जो ।।
//२//
मरेर जान्छ जिन्दगी चितासँगै चिरागमा
म आश देख्छु शान्तिको ज्वलन्त अग्नि वागमा
नदी किनार वास हो जहाँ म बस्छु गर्वले
चिता हरेक चित्तको निवास हो निसर्तले ।।
//३//
जलेर नष्ट हुन्छ यो शरीर पूर्ण भग्नमा
म मृत्युको मिठासले पुगेँ अनन्त नग्नमा
म जे थिएँ त्यही भएँ न चित्त यो दुखाउनू
सधैँ नक्षत्र हेर्दिनू र चित्त यो बुझाउनू ।।
//४//
श्मशानमा म सानले उकास जल्छु सर्वदा
म एकएक चित्तमा विरक्त पार्छु गर्वमा
म लासमा विलासको उमङ्ग छर्छु केवल
विलास नै तलास हो चिता म बल्छु केवल ।।
//५//
म खास शक्तिको गुफा चिरेर चित्र कोर्दछु
र रोग, शोक भोकमा मुहार रङ्ग फेर्दछु
म रागले निरस्त भै विचित्रमा रमाउँछु
रुवाउँदै म मार्गमा निराशमा डुबाउँछु ।।
//६//
हरेक जिन्दगी यही विशेष बिन्दु भेट्दछ
मभित्र लास पस्छ ऊ र स्वर्गलोक टेक्दछ
न लोभ हुन्छ चित्तमा न आश रासको कतै
म मित्र मृत्युको सधैँ र दिन्छु साथ दैवकै ।।
//७//
जहाँ पुगेर लासले सगर्व तीर्थ भेट्दछ
नदी प्रवाहमा बगी अनन्तमा बिलुप्त छ
भएर शून्य जान्छ ऊ म शून्यमा जलाउँछु
घमण्ड कन्दमा लगी समग्रमा पचाउँछु। ।
//८//
बागमती ५, सर्लाही
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।