छन्द: पञ्चचामर
जहाँ अनन्त सत्यले विलास गर्छ बल्कँदै
शिखा लिएर ऊर्ध्वमा निशान पोख्छ अग्लिँदै
धुवाँसमेत फेटियो शिखा छ रक्तरङ्गमा
बुभुक्षुले मुमुक्षुको तलास गर्छ अङ्गमा ।।
//१//
हजार हृत्त छन् जहाँ सफेद शून्य देखिने
सबै पुगेर अन्तको अनन्तमा लपेटिने
निराश लाग्छ जिन्दगी सतास चल्छ अग्निको
चिता जलेर के भयो, सुसेल्छ अग्नि मन्त्र जो ।।
//२//
मरेर जान्छ जिन्दगी चितासँगै चिरागमा
म आश देख्छु शान्तिको ज्वलन्त अग्नि वागमा
नदी किनार वास हो जहाँ म बस्छु गर्वले
चिता हरेक चित्तको निवास हो निसर्तले ।।
//३//
जलेर नष्ट हुन्छ यो शरीर पूर्ण भग्नमा
म मृत्युको मिठासले पुगेँ अनन्त नग्नमा
म जे थिएँ त्यही भएँ न चित्त यो दुखाउनू
सधैँ नक्षत्र हेर्दिनू र चित्त यो बुझाउनू ।।
//४//
श्मशानमा म सानले उकास जल्छु सर्वदा
म एकएक चित्तमा विरक्त पार्छु गर्वमा
म लासमा विलासको उमङ्ग छर्छु केवल
विलास नै तलास हो चिता म बल्छु केवल ।।
//५//
म खास शक्तिको गुफा चिरेर चित्र कोर्दछु
र रोग, शोक भोकमा मुहार रङ्ग फेर्दछु
म रागले निरस्त भै विचित्रमा रमाउँछु
रुवाउँदै म मार्गमा निराशमा डुबाउँछु ।।
//६//
हरेक जिन्दगी यही विशेष बिन्दु भेट्दछ
मभित्र लास पस्छ ऊ र स्वर्गलोक टेक्दछ
न लोभ हुन्छ चित्तमा न आश रासको कतै
म मित्र मृत्युको सधैँ र दिन्छु साथ दैवकै ।।
//७//
जहाँ पुगेर लासले सगर्व तीर्थ भेट्दछ
नदी प्रवाहमा बगी अनन्तमा बिलुप्त छ
भएर शून्य जान्छ ऊ म शून्यमा जलाउँछु
घमण्ड कन्दमा लगी समग्रमा पचाउँछु। ।
//८//
बागमती ५, सर्लाही


