सन्दीप तोमर
डाइनिङ टेबलको एकातिर छोरी चुपचाप बसेकी थिइन्। उनको प्लेटमा रहेको रोटीको टुक्रा भिजिरहेको थियो — आँसुले वा दूधले, कसैलाई थाहा थिएन।
कोठामा आमा-बाबुका शब्दका तरबारहरू चलिरहेका थिए।
“तिमी त सधैँ गलत शब्द प्रयोग गरेर छोरीलाई बाबुको विरुद्ध भड्काउने कुत्सित र असफल षड्यन्त्र गर्छ्यौ।”
बाबुले भनेपछि आमा मुस्कुराइन्, त्यो मुस्कानमा पीडाको धार थियो।
“हेर्दै जानुस्, एक दिन आफ्नो उद्देश्यमा सफल भएरै छाड्छु,” उनले बरफजस्तै चिसो स्वरमा भनिन्।
“म त सत्यको साथमा छु, केटाकेटीहरूले राम्रो-नराम्रो छुट्याउन जान्दछन्,” बाबुले छोरीतिर अनुहार फर्काए। उनी अझै चुप थिइन्।
“जबसम्म तपाईंलाई बर्बाद गर्दिनँ, मलाई चैन हुनेछैन,” आमाको यो वाक्य कोठाको हावामा काँडाजस्तै तैरियो।
“यिनै केटाकेटीले एक दिन फैसला गर्नेछन्, को सही, को गलत?” बाबुले अन्तिम हतियार फाले।
“त्यो त हेर्दै जाउँला मिस्टर…” आमाले पनि आफ्नो अन्तिम प्रहार गरिन् र चुपचाप उठेर भान्सातिर लागिन्।
छोरी अझै चुप थिइन्। उनले दूधको गिलास उठाइन् र बिस्तारै भनिन् — “तपाईंहरू दुईमध्ये को सही हुनुहुन्छ… यो कुराको छिनोफानोमा नलागी अब मैले ठूलाहरूले जस्तै एउटा ठूलो निर्णय लिनुपर्ने भयो।”
उनी आफ्नो डायरीमा एउटा पाना थप्दै थिइन् — “आमा-बुबा, म घर बदल्दै छु। सायद एक दिन तपाईंहरू पनि बदलिनुहुन्छ कि!”
(लेखक तोमर एक भारतीय प्रसिद्ध लेखक हुन्। यहाँ प्रस्तूत लघुकथा उनको हिन्दी लघुकथा ‘फैसला’लाई हाम्रो कथाघरका प्रधान सम्पादक जीवन सोनीले अनुवाद गरेका हुन्। र लेखकको साहित्यिक परिचय लगत्तै निम्न छ।)
सन्दीप तोमरको जन्म ७ जुन १९७५ मा भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगर जिल्लाको गंगधाडी गाउँमा भएको हो। पेशाले अध्यापक रहेका तोमर एक बहुआयामिक साहित्यकार हुन्, जसले कविता, कथा, लघुकथा, उपन्यास, समालोचना र गजलजस्ता विभिन्न विधामा कलम चलाएका छन्।
उनले विज्ञानमा स्नातक गरेपछि शिक्षणशास्त्र, गणित, समाजशास्त्र र भूगोलजस्ता विषयमा एम.एड., एम.एस्सी., एम.ए. तथा एम.फिल.सम्मको उच्च शिक्षा हासिल गरेका छन्।
उनको साहित्यिक यात्रा सन् २००३ मा प्रकाशित पहिलो कविता सङ्ग्रह ‘सच के आस पास’ बाट सुरु भएको हो। सन् २०१७ मा प्रकाशित उपन्यास ‘थ्री गर्ल्सफ्रेन्ड्स’ ले उनलाई एक चर्चित उपन्यासकारको रूपमा स्थापित गरायो। त्यसैगरी, उनको आत्मकथा ‘एक अपाहिज की डायरी’ को विमोचन सन् २०१८ मा नेपालमा भएको थियो। उनका अन्य प्रमुख कृतिहरूमा ‘कामरेड सञ्जय’ (लघुकथा सङ्ग्रह), ‘यंगर्स लभ’ (कथा सङ्ग्रह), र ‘एस फर सिद्धि’ (उपन्यास) पर्दछन्।
साहित्य र शिक्षणमा पुऱ्याएको योगदानका लागि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित छन्। उनका केही प्रमुख सम्मानहरूमा ‘तुलसी स्मृति सम्मान’ (२००४), भारत सरकारद्वारा ‘बेस्ट टिचर अवार्ड’ (२०११), नेपालमा प्रदान गरिएको ‘साहित्य सृजन सम्मान’ (२०१८) र ‘हिन्दी रत्न सम्मान’ (२०१८) आदि पर्दछन्।


