साउने सङ्क्रान्ति, मैले लुतो फालेंँ।
फाल्न नसकिएको लुतो
काठमाडौँ,
साउनको हरियो किनारभर बोकेर
सडक अशान्त बगिरहन्छ,
फोहोर बोकेर छातीभर।
पखाल्नु छ सडकलाई आफैँलाई,
धुनु छ रहरहरूका मृत्युशाला र चिहानहरू,
निर्धा, निमुखा सपनाका हत्यारा,
निवात-कवच र पौलोमादीहरू,
अथवा अर्काको श्रीमान् खोस्ने शूर्पणखा,
पाएसम्म सबैका श्री खोस्ने धुन्धुकारीहरू,
पासा जता पनि पल्टाउन सक्ने शकुनीहरू
छाडा छन् र चिलाइरहन्छ काठमाडौँको गुद्वारसम्म,
जहाँसम्म चुस्छन्, चुसिरहन्छन्
लुतोका उद्धृत कीटाणुहरू।
चिल्ला कारभित्र छिपेर
कुदिरहन्छन्।
झरिरहेको छ झरी निरन्तर।
खै आगो बालेर अगुल्टो मिल्काउने रहर !
बोलिरहन्छ आत्माले–
‘लुतो लैजा !
इट्टाभट्टामा जिउँदै मान्छे पिसल्नेहरू लैजा !
लैजा, कानुनमा पिसाब फेर्ने [अ] न्यायमूर्तिहरू !
यति, ओम्नी र चियाबगान निल्नेहरू,
सिङ्गो जहाज अट्ने घ्याम्पे पेट
र पैसामा निमुखा बेचेर देशमा रगरगी गर्नेहरू
लैजा रौरव, कुम्भीपाक र महाघोर नरकहरू !
भूत, मसान र चुल्ठेहरू !
घाउ, खटिरा, पिप, राल, सिंगान लैजा !
बालकोट दरबार,
बुढानीलकण्ठ दरबार,
घरभेटी-अखाडा…
लुतो लैजा !
उत्तर खोज्नेहरू हिमाल कटी जा,
दक्षिण खोज्नेहरू वीरगन्ज तरी जा,
लुतो लैजा, छिमेकी पाँच हो !
लुतो गई जा !’


