कल्पना मरासिनी
“ए! यता सुन्नुस् त! बच्चालाई चिसो लागेजस्तो छ, उसको टोपी दिनुस् न,” आफूभन्दा पछिल्लो सिटमा बसेका श्रीमान्लाई श्रीमतीले भनिन् । श्रीमान्ले सुरुमा त केही सुनेनन्, पछि झसङ्ग हुँदै सोधे, “के रे! के चाहियो रे?”
श्रीमतीले पुनः भनेपछि उनले झोलाबाट टोपी झिकेर दिए।
बालाजु बसपार्कबाट छुटेको “बालाजु, जमल, रत्नपार्क, लगनखेल” लेखिएको चिटिक्क परेको हरियो रङको विद्युतीय साझा बस एकाएक जमलमा आएर रोकियो। एक दम्पती नौ-दश महिनाको काखे बच्चासहित बसमा चढे। सुरुमा सँगै बसेका उनीहरू “बालबालिका” लेखिएको सिट भएकाले सहचालकले श्रीमान्लाई पछिल्लो सिटमा बस्न लगाए।
श्रीमतीको काखको बच्चा अघिल्लो सिटको आफूजस्तै सानो बच्चालाई देखेर रमाउँदै आमाको काखमा उफ्रिँदै थियो। यो देखेर आमाको मुहारमा सयौँ गुलाबहरू एकैपटक फक्रिरहेका थिए।
पछिल्लो सिटमा बसेका श्रीमान् आफ्नै छेउमा बसेकी एक युवतीसँग गफमा व्यस्त थिए। मानौँ, त्यहाँ उनीहरू दुईजनाबाहेक कोही पनि छैनन्। उनको मुहारमा पनि हजारौँ सयपत्रीहरू एकैपटक झुलिरहेझैँ प्रतीत हुन्थ्यो।
बस पुलचोक आइपुगेपछि सहचालक पैसा उठाउँदै आयो। श्रीमतीले भनिन्, “सुन्नुभएन! गाडीभाडा दिनुस् न।”
दुई-तीन पटक बोलाउँदा पनि नसुनेको देखेर सहचालकले व्यङ्ग्यमिश्रित स्वरमा भन्यो, “के सुन्नुहुन्थ्यो त, उहाँ गफमा मस्त देखिनुहुन्छ!”
यो सुनेर झसङ्ग भई अप्ठ्यारो मान्दै श्रीमान्ले पर्सतिर हात बढाए।
भूमिकास्थान-९, अर्घाखाँची; हाल: ललितपुर


