बादल —
गर्जिन्छ, थर्किन्छ,
ठूलो डरलाग्दो हुङ्कार गर्छ।
तर
पानी बनेर बर्सिन्छ,
धर्तीलाई रसिलो बनाउँछ,
उर्वरता दिन्छ ।
घाम —
चर्को हुन्छ, खरो हुन्छ,
खपिनसक्ने गरी गर्मी दिन्छ,
तर
जीवनका लागि ऊर्जा दिन्छ,
उत्पादनको शक्ति दिन्छ,
तापद्वारा पोषण दिन्छ ।
पुरुष —
बोलीमा
झर्किन्छ, रिसाउँछ,
रूखो व्यवहार देखाउँछ,
तर
कर्तव्य र जिम्मेवारीमा
भित्रैदेखि सचेत हुन्छ,
नदेखिए पनि
स्नेहभावले भरिएको हुन्छ ।
बिजुली —
चञ्चल हुन्छे,
बादलको सहयोगी भएर
चमचमाउँदै सधैँ-सधैँ सँगसँगै लाग्छे,
कालो बादललाई पनि सेतो देखाउँछे,
आकाशलाई समेत प्रकाशमान पार्छे ।
धर्ती —
आफूभित्रै
बादलले झारेको
वर्षारस सँगालेर,
आफूलाई रसमय बनाउँछिन्,
घामको तापलाई
आफूभित्र जम्मा गरेर
ऊर्जाशक्ति बढाउँछिन्,
उत्पादक बन्छिन् ।
नारी —
पुरुषको छायाजस्तै भएर,
अलग अस्तित्व भए पनि
सहअस्तित्व कायम गरेर,
सृजनशीलताको पर्याय बन्छन्,
पुरुषको परिपूरक भूमिकामा
अविरल संलग्न रहन्छन्,
मनभरि माया भरिएका हुन्छन् ।
यसरी यो ब्रह्माण्डमा
सृष्टिको प्रक्रिया चलिरहन्छ ।
मलाई
बादल, घाम र पुरुष,
बिजुली, धर्ती र नारी
उस्तै-उस्तै लाग्छन् ।
पैयुँ-२, पर्वत, हाल: पोखरा


