यहाँ बाँच्नु आफैँमा युद्ध हो,
सासको धड्कनमा चिच्याइरहेछ पीडा,
दुनियाँको भीडमा हराउँदा पनि,
भित्र कतै एकान्त, झन् बढ्दो छ धड्कन ।
मुस्कानको आडमा लुक्छन्
परेलीका डिलमा सयौँ थोपा आँसु,
अनुहारमा मुखौटा देखिन्छ,
तर मनभित्र गाडिएका हुन्छन्
सबैका चिसा घाउहरू ।
हरेक साँझ एक थोपा विश्वास झर्छ,
रातमा विगतको भासले आँखा बगाउँछ,
तर जिन्दगी फाल्ने आँट…
त्यो त भयानक चिहान हो ।
तर
बुझ्न सकेनन्
वा बुझाइदिएनन्
कसैले पनि यहाँ,
त्यो घाम
भोलिपल्ट उदाउनकै लागि
आज अस्ताउने गर्छ ।
हेटौँडा-११, भैरवकुञ्ज, भैरवकुञ्ज


