Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: प्रेम दिवस | ईश्वर साउद ‘भिक्षु’ | हाम्रो कथाघर

फाल्गुन २, २०८२

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

फाल्गुन २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

फाल्गुन १, २०८२

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

माघ २९, २०८२

“फिर्दोसको साँचो” सपना, आत्मा र यथार्थको मिश्रण, नेपाली समाजको यथार्थ चित्रण

माघ २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क: १४ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: १४ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यभदौ १, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग” को
नयाँ श्रृङ्खला


१. लघुकथा: ऋण उठाउनी
✒ प्रा.डा. प्राज्ञ खेमराज खनाल

“जैले भाका सार्छौ। कैले तिर्छौ ऋण?” साहुले भन्यो।

“म दिइहाल्छु नि। धन्दा नमान्नु न।” आसामीले उत्तर फर्कायो।

“द्यौ द्यौ, कैले औँसी, कैले पुर्णे! सातै बार बार्दा रैछौ। ऋण खाएसी तिर्न जान्नुपर्छ नि।” साहु रन्कियो।

“खान्नम्, खान्नम्; कसैका पैसा खार मर्नु छैन हाम्लाई। अहिले नभर पो नदेको त। छोरालाई विदेश मात्र पठाम्न। तत्कालै तिर्दिन्छम्। बरु छोरो पठाम्न अरू अलिकति ऋण देऊ न।” स्वास्नीले भनी।

“के रे, के रे? हेर न लाज नलाग्या। अझ अरू ऋण थप्नु रे। आज त केइ न केइ नउठाई जाँदै जान्नँ।” साहु लैनो भैँसीतिर झम्ट्यो।

“धेरै अचाक्ली नगर है, धनी भएँ भनेर।” स्वास्नी चिच्याई।

एकहाते भैँसी परपुरुष देख्नासाथ बिच्क्यो र साहुका तिघ्रामा लात्ती बजार्यो। “ऐया! मरें!” साहु गोबरमाथि पछारियो। स्वास्नीले भित्रभित्रै खुच्चिङ मच्चाई।

आसामीले स्वाङ रच्दै भन्यो, “चः चः बिचरा! म आफैँ खोल्दिन्थेँ नि भैँसी।”

“भैँसी पनि तिमेरूजस्तै दुर्छे रहेछ। पख मात्र न, म पुलिस ल्याउँछु, पञ्चभलाद्मी राख्छु।” साहु रन्केर हिँड्यो।

स्वास्नीले पछाडिबाट लोपार्दै भनी, “ला तँलाई पैसा। कागजसागज गर्या छैनम् । फेरि पनि आइस् भने कोनी के पो देखाइदिन्छु।”

—०—
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी।
❀❀❀

❛समीक्षा❜
☛ आलोचनात्मक दृष्टिले ‘ऋण उठाउनी’ लघुकथाको अन्तर्य
✒ नन्दलाल आचार्य

प्रा.डा. प्राज्ञ खेमराज खनालको लघुकथा “ऋण उठाउनी” साधारण ग्रामीण जीवनको ऋण-पैसाको झमेला मात्र होइन, कथाकारको प्रहार गर्ने शैली, पात्र-संवादको जीवन्तता र अन्त्यमा आउने व्यङ्ग्यात्मक चोटको दृष्टान्त हो। खेमराज खनाल लघुकथामा परिस्थिति निर्माण र पात्र-संवादको लयलाई यति स्वाभाविक र चपल बनाउँछन् कि पाठकले कथा पढ्दा दृश्य सजीव भएर आँखाअगाडि उभिन्छ।

यो कथामा उनले ग्रामीण अर्थतन्त्रको एउटा पुरानो तर अझै जीवित पक्ष देखाएका छन्: साहु र आसामीको सम्बन्ध। ऋण दिने-लिने संस्कृतिमा बन्ने पारस्परिक निर्भरता र त्यसभित्र लुकेको तनावलाई उनले कम शब्दमा खोलिदिएका छन्। साहुको कठोर भाषाले उसको सामाजिक हैसियत र पैसाको घमण्ड देखाउँछ: “जैले भाका सार्छौ। कैले तिर्छौ ऋण?” जस्तो संवादमा सत्ताको स्वरूप स्पष्ट हुन्छ। अर्कोतर्फ आसामी र उनकी श्रीमतीको भाषामा निर्लज्ज सहजता मिसिएको छ: ऋण तिर्न ढिलाइ, अझ नयाँ ऋणको माग, अनि साहुको अपमान गर्दा पनि आत्मगौरवको नोक्सान नहुने मनोविज्ञान।

कथाकारको प्रवृत्तिगत पक्ष यहाँ स्पष्ट देखिन्छ:

१. संवादप्रधान प्रस्तुति: कथाको अधिकांश भार पात्रहरूको बोलचालमा छ, जसले ग्रामीण बोलीको मौलिकता बोकेको छ।

२. हास्यव्यङ्ग्यको झटारो: भैँसीको लात्तीले साहुलाई पछार्नु, स्वास्नीको भित्रभित्रको खुच्चिङ, र अन्त्यको धम्की, मुख लोपारिने शैली, यी सबैले कथालाई चटपटी र स्मरणीय बनाएका छन्।

३. वर्गीय टकरावको हल्का चित्रण: साहुलाई पैसाको घमण्ड र गरिबको निर्लज्ज चाल, दुवैलाई समान व्यङ्ग्यको लक्ष्यमा राखिएको छ जसले कथालाई एकतर्फी नबनाई सन्तुलन दिएको छ।

४. अन्त्यमा ‘ट्विस्ट’: भैँसीको अप्रत्याशित प्रहार र त्यसपछि श्रीमतीको पैसासहितको चेतावनीले लघुकथा अचानक उचालिन्छ र पाठकको मुखमा हाँसो ल्याउँदै गहिरो अर्थ छोड्छ।

कलात्मक दृष्टिले कथाको दृश्यचित्रण छोटो तर धारिलो छ। “साहु लैनो भैँसीतिर झम्ट्यो” वा “साहु गोबरमाथि पछारियो” जस्ता वाक्यले कथामा हल्का ‘स्लो-मोशन’ प्रभाव ल्याउँछ। पाठकले त्यस क्षणलाई देख्न मात्र होइन, अनुभव गर्न पनि पाउँछ।

आलोचनात्मक दृष्टिले, कथाको गहिराइ अझ बढाउन सक्ने केही बुँदा छन्। पहिलो, पात्रहरूको पृष्ठभूमि वा ऋणको कारणबारे एक-दुई पङ्क्ति थपिँदा सामाजिक-आर्थिक सन्दर्भ अझ स्पष्ट हुन्थ्यो। दोस्रो, कथामा महिला पात्रको प्रस्तुतिलाई ‘धूर्त सहायिका’का रूपमा मात्र सीमित राखिएको छ; उसको आर्थिक, सामाजिक विवशता वा रणनीतिक सोच देखाउन सके कथाले लिङ्ग परिप्रेक्ष्यमा थप अर्थ पाउँथ्यो। तेस्रो, हास्य र व्यङ्ग्यले कथा रमाइला भए पनि यदि अन्त्यमा ऋण-संस्कृतिको गहिरो निहितार्थबारे सूक्ष्म सङ्केत राखिएको भए पाठकको हाँसोसँगै विचार पनि उचालिन्थ्यो।

खेमराज खनालको यो कथामा उनको प्रवृत्ति स्पष्ट छ: गाउँघरको बोली, तत्काल उत्पन्न हुने द्वन्द्व, र अनपेक्षित हास्य-अन्त्य। उनी संवादलाई यति स्वतन्त्र छोड्छन् कि कथाकारको उपस्थिति पर्दापर्दा हराएर पात्रहरू आफैँ बोलिरहेका जस्ता लाग्छ। यही कारण, कथाले पाठकलाई ‘कुनै गाउँको चौतारोमा घटेको घटना’ भोगेको अनुभव दिन्छ।

अन्ततः, “ऋण उठाउनी” लघुकथा ठूलो सामाजिक ‘स्वाद’ राख्ने खेमराज खनालको सीपको प्रमाण हो। भैँसीको लात्ती यहाँ केवल साहुको तिघ्रामा होइन, पैसाको घमण्ड र सामाजिक असमानतामा समेत परेको छ।
❀❀❀

❛प्रयोग उत्तरकथा❜
लघुकथा: गोबरको फन्दो
✒ नन्दलाल आचार्य

“पैसा त दिन्छु, साहु, तर गोबरको मूल्य पनि त गन्नुपर्छ नि।” आसामी मुस्कानसहित नजिकियो।

“केको गोबर?” साहु हैरान भयो।

“तिम्रो लुगा, जुत्ता, सबै गोबरले पोतिसकेको छ। सफा गर्न मजदुरी लाग्छ।”

साहु हाँस्यो: “ऋण तिर्, नत्र म प्रहरी ल्याउँछु।”

“पुलिसले भने गोबरमा तिम्रो छाप देख्नेछ, प्रमाण त बलियो छ।”

साहुको स्वर सुस्तियो: “तिमी के चाहन्छौ?”

“माथिको ऋण घटाऊ, अनि गोबरको मूल्य छुट्याएर हिसाब गर।”

साहुले मन दबाउँदै खल्तीबाट पैसा निकाल्यो: “यो ल, सबै चुक्ता भयो।”

आसामीले नोट समाउँदै भने: “गोबर त सफा हुन्छ, तर लोभको दाग कहिल्यै मेटिँदैन।”
❀❀❀


२. लघुकथा: अँध्यारो तीज
✒ विनिता गौतम

“निर्जला… सुनिस्? मादलको ताल स्वर्गबाट आएको जस्तो छ।” बाहिरबाट आएको आवाजले उनको कानभित्र कम्पन गरायो।

उनी मरिहत्ते गरेर घुमाउँदै थिइन्; जाँतो घुम्दै थियो। त्यसैगरी सपनाहरू पनि घुमिरहेका थिए: अधुरा, अल्झिएका र अधकल्चा।

आँगनबाहिर राता साडी लगाएका नारीहरूको लहर उकालो चढ्दै थियो। मायाले हाँस्दै भनी, “आऊ है निर्जला, शिवालयमा आकाश पनि नाच्छ।”

तर भान्साको धुलो, मकैको बोरा, अधुरो पिँधाइ…! यी सबैले उनको पाइलालाई बाँध्यो। मनलाई जेलमा कोच्यो। आँखालाई ओभाउन दिएन।

अचानक सासूको कठोर स्वर गुञ्जियो:
“हामी आमाछोरी व्रत बस्छौँ। तैँले मकै पिँधेर सकेपछि घरका सबैलाई खाना बनाएर खुवाएस्। हाम्रो लागि केही नपकाएस्।”

शब्दहरू ढुङ्गाजस्तो हृदयमा खस्यो। उनको अनुहारको उज्यालो अकस्मात् चलेको हुरीले निभाएको बत्तीझैँ निभ्यो।

उनको मनमा माइतीघरको तीज सम्झना झल्कियो:
सखीहरूसँगको चुरा फुट्ने हाँसो। चारैतिर धूपको सुगन्धमय वातावरण। आमाको मायालु काखको न्यानोपन। शिवालयमा गुञ्जिने गीत र भजन। नाचगान, नाटक-प्रहसन। एकाएक तँछाडमछाड गर्दै आए र लुसुक्क कतै बिलाए।

उनका लागि यस घरमा तीजको अँध्यारो मात्र कायम थियो। जाँतो उनको हातमा अविरल अझै घुम्दै थियो। तर मनभित्र कतै चिरिएको आवाज गुञ्जियो: “मेरो तीज… मेरो उज्यालो… सपना मात्र।”

—०—
काठमाडौँ
❀❀❀

❛समीक्षा❜
☛ आलोचनात्मक दृष्टिले ‘अँध्यारो तीज’ लघुकथाको अन्तर्य
✒ नन्दलाल आचार्य

विनिता गौतमको लघुकथा ‘अँध्यारो तीज’ स्त्रीजीवनका गहिरा पीडा, अपूर्ण आकांक्षा र संस्कारको कठोर विडम्बनालाई एक साँघुरो तर गहिरो दृश्यभित्र समेट्ने प्रयत्न हो। शीर्षक नै कथाको भावभूमिलाई स्पष्ट पार्ने सङ्केत हो: तीजजस्तो रङ्गीन, उमङ्गपूर्ण र सामूहिक उल्लासको पर्व यहाँ ‘अँध्यारो’ भएर उपस्थित छ। त्यो अँध्यारो केवल प्रकाशको अभाव होइन, अधिकार, स्वतन्त्रता र भावनात्मक सन्तुष्टिको कमी हो।

कथाको प्रारम्भमा “मादलको ताल स्वर्गबाट आएको जस्तो” भन्ने वाक्य श्रवणीय सौन्दर्यको चित्रण हो। यो आवाज निर्जलाको कानभित्र पस्दा उसको मानसपटलमा पुरानो उज्यालो तीजको स्मृति बिउँझिन्छ। तर त्यो उज्यालोलाई जीवनको वर्तमान यथार्थले तुरुन्तै ढाक्छ: जाँतो घुमाउने दिनचर्या, अधुरा सपनाहरू, जिम्मेवारीको बेडामा बाँधिएको शरीर। गौतमले जाँतोको घुमाइ र सपनाको घुमाइलाई समानान्तर राखेर प्रतीकात्मकता सिर्जना गरेकी छन्। एक स्त्रीको श्रमचक्र र उसको भावनात्मक चक्र दुवै निरन्तर घुमिरहे पनि पूर्णता कहिल्यै नपाउने।

कथामा बाहिरको राता साडी र शिवालयमा आकाश पनि नाच्ने भनाइले उत्सवको उज्यालो संसारको प्रतिनिधित्व गर्छ तर भान्साको धुलो, मकैको बोरा र अधुरो पिँधाइले त्यो संसारमा निर्जलाको पाइला पुग्न दिँदैन। यहाँ भौतिक अवरोध मात्र होइन, सामाजिक संरचना र पितृसत्तात्मक संस्कारको अदृश्य पर्खाल छ।

सासूको संवाद: “हामी आमाछोरी व्रत बस्छौँ… हाम्रो लागि केही नपकाएस्।” कथाको निर्णायक मोड हो। यस वाक्यमा परम्परागत धार्मिक अनुशासनको नाममा हुने असमान व्यवहारको तीक्ष्ण आलोचना लुकेको छ। व्रतको आध्यात्मिक भावको आडमा निर्जलालाई वञ्चित गरिनु धार्मिकताको सतही प्रयोग हो जसले उसको तीजलाई उत्सवबाट अपमानमा रूपान्तरित गर्छ।

माइतीघरको स्मरण अतीतको उज्यालो र वर्तमानको अँध्यारोबीचको तीव्र विरोधाभासलाई स्पष्ट पार्छ। त्यहाँ सखीहरूको हाँसो, धूपको सुगन्ध, आमाको माया र सामूहिक उल्लास छ। जसको साटो यहाँ केवल श्रम, एकान्त र मौन छ। गौतमले स्मृतिमा उज्यालो र यथार्थमा अँध्यारो देखाएर भावनात्मक द्वन्द्वलाई जीवन्त बनाएकी छन्।

कथाको अन्त्य “मेरो तीज… मेरो उज्यालो… सपना मात्र” भन्ने वाक्यले पूरै भावभूमिलाई सङ्कलन गर्छ। यो निष्कर्ष न त भावुक रोदन हो, न त खुला विद्रोह। यो स्त्री-मनको मौन चित्कार हो, जसमा पीडा, तृष्णा र आत्मस्वीकृत दुःखको मिश्रण हो।

प्रवृत्तिगत पक्ष
विनिता गौतमको लघुकथा लेखनमा प्रायः तीन प्रवृत्ति देखिन्छन्:

१. स्त्रीकेन्द्रित यथार्थवाद: उनी कथाका केन्द्रमा महिलाको दैनिकी, पीडा र मनोभावनालाई राख्छिन् जसमा सामाजिक संरचना र संस्कारको आलोचना सहज रूपमा घुलमिल हुन्छ।

२. प्रतीकात्मक समानान्तरता: जाँतो, मादल, राता साडी, भान्साको धुलो आदि वस्तु वा दृश्यहरूलाई उनी पात्रको मानसिक अवस्थासँग गाँसेर प्रयोग गर्छिन्।

३. संक्षिप्तता र भावघनत्व: उनका वाक्यहरू लामा होइनन् तर प्रत्येकमा अर्थको गहिराइ हुन्छ जसले छोटो संरचनामा पनि दीर्घ भावानुभूति दिन्छ।

‘अँध्यारो तीज’मा गौतमले समाजमा गढेको परम्परागत पर्वको ‘उत्सव’ र स्त्रीको निजी जीवनको ‘अँध्यारो’बीचको द्वन्द्वलाई कलात्मक रूपमा चित्रित गरेकी छन्। यहाँ उनको लघुकथा केवल व्यक्तिगत पीडाको वृत्तान्त होइन, त्यो हजारौँ निर्जलाहरूको साझा कथा हो जसको तीज अझै पनि घरको जाँतोसँगै घुमिरहेको छ: अपूर्ण, अल्झिएको र अधकल्चा।
❀❀❀

❛प्रयोग उत्तरकथा❜
लघुकथा: उज्यालो तीज
✒ नन्दलाल आचार्य

“निर्जला… फेरि मादलको ताल आयो सुन।” आकाशे स्वर फेरि उसको कानमा टुप्लुक्क झर्यो।

यसपटक उनी थामिइनन्। जाँतो पनि अडियो।
भुइँमा टोलाउँदै भनिन्: “अँध्यारो तीज भनेको त हृदयको बन्धन रहेछ।”

आँगनबाट राता साडीको लहर फेरि गुज्रियो। एक युवती रोकिएर मुस्कुराइन्: “चरा उड्न पिँजडाबाट नै सुरु हुन्छ, बहिनी।”
निर्जलाले ढोका धकेलिन्। धुलोको कणसँगै उनका आँखामा पुरानो शिवालय देखा पर्यो।

सासूको कठोर स्वर टाढाको बादलझैँ ओइलियो तर भित्रको स्वर गर्जियो: “तीज केवल भोकै बस्नु होइन, आत्मालाई नचाउनु हो।”
उनका पाइलाले अब पर्खिन सकेनन्।

रातो चुरा छनछनी बजाउँदै उनी भीडमा हराइन्। जाँतो भने एक्लै अँध्यारोमा घुमिरहेथ्यो: पुराना बन्धन अझै कतै बाँकी हुन्छन्।
❀❀❀


३. लघुकथा: झुपडीमा गणतन्त्र
✒ समर भण्डारी

“हिजो जस्तो आज पनि उस्तै, अनि भोलि झन् खस्केलास्!” सन्देशले तमतमाइलो तिरस्कारसहित भन्यो।

तर आज नत्थु दाइ थर्किएनन्।
तीन दशकदेखि खिया लागेका शब्दजस्तै सुन्दै आएका थिए: हेला, हाँसो र हानथाप।
कुम्लो बोकेर गल्ली चहार्ने हातले यसपल्ट केही बोकेको थियो: विश्वास।

भन्छन्, “संविधान रित्तो देखिन्थ्यो। गणतन्त्र सुनिन्थ्यो, तर छुन सकिँदैनथ्यो। भुइँ थिएन, आकाश टाढै थियो। अब त्यो तन्नेरी सपना भित्रैको उज्यालो बनेको छ।”

सन्देश फेरि हाँस्यो, “दिमागको नटबल्टु फुस्किएछ तेरो!”

तर नत्थु दाइले एउटा फोटो देखाए: टिनको छानो, दुईवटा ससाना झ्याल र एक टुकीको उज्यालोमा हाँसिरहेको अनुहार।
“हेर्नुहुन्छ? यो मेरो घर हो। झुपडी भनेको मैले हेर्ने होइन, बाँच्ने ठाउँ हो।”

फेरि कागज देखाए: राष्ट्रिय परिचयपत्र, बैंक खाता, सहायता चिठी।

“यी मेरा पहिलो सम्पत्ति हुन् जहाँ म नेपालको नागरिक सङ्ख्यामा अँटेको छु, सपना देख्न र भेट्न सक्ने भएको छु। अब म सरकारलाई गाली गर्दिनँ। म गणतन्त्रमा बास बस्न थालेको छु। अनि बाँकी जीवन म आफैँले जोत्ने हिम्मत जुटाएको छु।” नत्थु दाइले धाराप्रवाह रूपमा एकै सासमा भने।

“कसले दियो त यति सबै?” सन्देशले अलमलिएर सोध्यो।

नत्थु दाइ मुस्कुराए: “एक जना मास्टरले पन्ध्र हजारको खल्ती र पन्ध्र लाखको विश्वास दिए।”

—०—
जमदह, गोलबजार-३, सिरहा।
❀❀❀

❛समीक्षा❜
☛ आलोचनात्मक दृष्टिले ‘झुपडीमा गणतन्त्र’ लघुकथाको अन्तर्य
✒ नन्दलाल आचार्य

समर भण्डारीको लघुकथा ‘झुपडीमा गणतन्त्र’ पढ्दा पहिलो अनुभूति यो हुन्छ कि लेखकले राजनीतिक आदर्श र जनताको जीवनबीचको दूरीलाई अत्यन्तै ठोस र जीवन्त चित्रणमार्फत नजिक ल्याएका छन्। यहाँ “गणतन्त्र” जस्तो ठूलो राजनीतिक अवधारणा, जसको चर्चा प्रायः सहरका मञ्चहरूमा, राजनीतिक सभाहरूमा वा समाचारका हेडलाइनमा मात्र सीमित रहन्छ, त्यही गणतन्त्रलाई उनले एक टुकीको उज्यालो र झुपडीको मुस्कानसम्म झारिदिएका छन्।

कथामा नत्थु दाइ भन्ने पात्र मात्र कथानायक होइन, यो नेपालको ग्रामीण परिवेशमा बाँच्ने, दशकौँसम्म राज्यको सुविधाबाट टाढा, अभावमा हुर्किएका लाखौँ जनताको प्रतीक हो। सुरुवाती संवादमै “हिजो जस्तो आज पनि उस्तै, अनि भोलि झन् खस्केलास्!” भन्ने सन्देशको वाक्यले कथामा निराशावाद र यथास्थितिवादको स्वर ल्याउँछ जसको प्रतिउत्तरमा नत्थु दाइको थर्किनु भन्दा मुस्कुराउने शैलीले कथाको भावनात्मक टोनलाई सकारात्मक मोड दिन्छ।

शिल्प र प्रवृत्ति:
समर भण्डारीको लेखनमा संक्षिप्त संवाद, प्रतीकात्मक वस्तुहरूको प्रयोग, र एकै वाक्यमा गहिरो सन्देश दिने प्रवृत्ति देखिन्छ। यो लघुकथामा पनि “कुम्लो बोकेर गल्ली चहार्ने हातले यसपल्ट केही बोकेको थियो: विश्वास” भन्ने वाक्यमा लेखकको शैली झल्किन्छ। यो वाक्य मात्रले नत्थु दाइको जीवनको पुरानो थकान र नयाँ आशा दुवैलाई एकसाथ समेट्छ।

कथामा वस्तुहरू पात्र बन्छन्: राष्ट्रिय परिचयपत्र, बैंक खाता, सहायता चिठी केवल कागजका टुक्रा होइनन्, नत्थु दाइका लागि राज्यसँगको औपचारिक सम्बन्धका प्रमाण हुन्। यी प्रतीकहरूले गणतन्त्रको पहुँचको पहिलो छाप जनजीवनमा कस्तो पर्छ भन्ने कुरा पाठकले बिनाधेरै सोच बुझ्छन्।

सन्देश र आलोचना:
कथाको मूल सन्देश स्पष्ट छ: राजनीतिक परिवर्तनको मूल्य त्यो परिवर्तनले तल्लो तहको जनजीवनमा आएको ठोस सुधारबाट मात्र नापिन्छ। यहाँ गणतन्त्रलाई नारा वा अमूर्त सपना नभई बसोबास गर्ने वास्तविक ठाउँका रूपमा प्रस्तुत गरिएको छ। नत्थु दाइका लागि गणतन्त्र भनेको एउटा उज्यालो टुकी, सुरक्षित झुपडी, र आर्थिक पहिचान हो।

तर, आलोचनात्मक दृष्टिले हेर्दा कथामा देखाइएको सुधार व्यक्तिगत अनुभवमा सीमित छ। यो एक व्यक्तिको जीवनमा आएको सानो परिवर्तनलाई ठूलो राजनीतिक परिवर्तनको प्रतिनिधि बनाइएको छ जसले कथालाई केही हदसम्म अत्यधिक आशावादी बनाइदिन सक्छ। समाजका धेरै नत्थु दाइहरू अझै पनि परिचयपत्र वा बैंक खाताबाट धेरै टाढा छन् भन्ने यथार्थ पनि छ। यसैले, कथा भावनात्मक र प्रेरणादायी भए पनि यथार्थको सम्पूर्ण जटिलता समेटिएको छैन।

प्रवृत्तिगत पक्ष:
समर भण्डारीका लघुकथामा प्रायः ग्रामीण जनजीवनको प्रत्यक्ष चित्रण,
संवादमा निहित व्यङ्ग्य र आशा,
प्रतीकात्मक वस्तुहरूद्वारा ठूला राजनीतिक/सामाजिक अवधारणाहरूलाई जीवन्त बनाउने क्षमता देखिन्छ।
‘झुपडीमा गणतन्त्र’ पनि यही शृङ्खलामा पर्छ। लेखकको प्रवृत्ति नकारात्मक धारणा भएका पात्रहरूलाई सकारात्मक दृष्टिकोणद्वारा चुनौती दिने हो। यसमा निराशावादी सन्देश र आत्मविश्वासी नत्थु दाइबीचको संवाद त्यसको उदाहरण हो।

निष्कर्ष:
यो कथा संरचनात्मक हिसाबले सानो भए पनि भावनात्मक दृष्टिले गहिरो छ। संवाद, प्रतीक र दृश्यहरूको सन्तुलनले पाठकलाई तत्काल चित्र बनाइदिन्छ। यसले गणतन्त्रलाई एउटा ठूलो राजनीतिक अवधारणाबाट लिएर एउटा झुपडीको भित्री उज्यालोसम्म झार्ने सफल प्रयास गरेको छ। यद्यपि, यदि लेखकले नत्थु दाइको सुधारको पृष्ठभूमि वा सङ्घर्षलाई अझ विस्तृत रूपमा चित्रण गरेका भए कथा अझ सशक्त र बहुस्तरीय बन्न सक्थ्यो।

यसरी, ‘झुपडीमा गणतन्त्र’ एउटा आशा र सम्मानको सूक्ष्म राजनीतिक दस्तावेज हो जसले भुइँतहसम्म पुगेको परिवर्तनको पहिलो किरण देखाउँछ तर त्यो किरणलाई स्थायी प्रकाश बनाउने चुनौती पाठकको चेतनामा छोडेर जान्छ।
❀❀❀

❛प्रयोग उत्तरकथा❜
लघुकथा: झुपडीको उज्यालो
✒ नन्दलाल आचार्य

“तँलाई थाहा छ, नत्थु दाइ,” सन्देशले अँध्यारो गल्लीमा अचानक कानमा फुसफुसायो, “गणतन्त्र त तिनैका लागि हो जसको घरमा टुकीभन्दा उज्यालो बल्छ।”

नत्थु दाइ हल्का मुस्कुराए, “टुकीको उज्यालोले पनि आँखा खोलेको छ।”
“आँखा खोलेर के हुन्छ, पेट त खाली छ।” सन्देश झर्कियो।

नत्थु दाइले खल्तीबाट निकालेर चाबी देखाए: एक सानो खेतको लालपुर्जा।
“यो मेरो नयाँ खेत हो, जहाँ अन्न मात्र होइन, मेरो छोराको पहिलो अक्षर उम्रनेछ।”

सन्देश अलमलायो, “कसरी सम्भव भयो?”
नत्थु दाइको स्वर गहिरियो: “गणतन्त्र भनेको राज्यको उपहार होइन, आफैँभित्रको जग हो जसलाई पसिना, आँसु र भरोसाले ढलान गर्नुपर्छ।”

सन्देशले निस्वास फेर्दै टुकीको उज्यालोतर्फ हेरिरह्यो। झुपडी अब उसको आँखामा पहिलोपटक घरजस्तो देखिन थाल्यो।
❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथा स्तम्भ लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

लघुकथामा एक प्रयोग अङ्क: ३३ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २३ | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

कविता: प्रेम दिवस | ईश्वर साउद ‘भिक्षु’ | हाम्रो कथाघर

फाल्गुन २, २०८२

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

फाल्गुन २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

फाल्गुन १, २०८२

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

माघ २९, २०८२

“फिर्दोसको साँचो” सपना, आत्मा र यथार्थको मिश्रण, नेपाली समाजको यथार्थ चित्रण

माघ २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.