नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।
नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।
यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।
प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ ३३ औँ श्रृङ्खला
१. लघुकथा: प्रसाद
✒ सुरेशकुमार पाण्डे
“बिनिता, लसपस हुन नदिनु, आजबाट स्वस्थानी पर्व सुरु भयो ।” राधाले आफ्नी बुहारीसँग भनिन् ।
“आमा, चिन्ता नलिनु, मलाई थाहा छ, हजुर व्रत बस्नुहुन्छ भन्ने ।” बिनिताले आश्वासन दिँदै भनी ।
“तिमी चिसोबाट बच्नु, यो अवस्थामा स्वस्थानी पाठ गर्दा तिमी भित्रै न्यानोमा बसेर सुन्नू ।” राधाले बुहारीलाई सम्झाउँदै भनिन् ।
“हस् आमा !” बिनिताले सटिकमा भनी ।
“रेशम कहाँ गयो बुहारी ?” राधाले यताउता हेर्दै सोधिन् ।
“अघि नै केही सामान लिन जान्छु भन्दै हुनुहुन्थ्यो । हजुरले पठाउनुभएको होइन र कतै ?” बिनिताले उल्टै प्रश्न गरी ।
“ए…ए… पठाएकी थिएँ मैले, भुलेँछु । तर धेरै बेर भयो, प्रसादको सामान लिन गएको अझै आएन !” राधाले चिन्ता गर्दै भनिन् ।
“आमा, प्रसादको सामान पण्डितजीलाई दिएर प्रसाद पनि तयार गराउन पठाएँ । पाठक अङ्कलले शुद्ध गाईको दूध लिन पठाउनुभएको थियो, त्यही लिन गएको थिएँ । साँझ स्वस्थानी कथा पढेर सुनाउने तयारी गर्दै छु । साथै आज सुरुको दिन भएकोले शिवको झाँकीसहित कथा वाचन हुने हो !” रेशमले मुस्कुराउँदै भन्यो ।
“के कुरा गर्छ यसले, कहिलेको साँझ हो ? पाँच बजिसक्यो, पूजा सुरु गर्ने तयारी हुँदै छ ।”
“हस्, जा छिटो गर ।” आदेश मिल्दै रेशम हिँड्यो ।
एकछिनपछि राधा फेरि बिनिताको कोठामा आइन् ।
“यो के खाँदै छौ बुहारी ?” राधाले बिनिताले केही खाँदै गरेको देखेर सोधिन् ।
“खै कुन्नि आमा ! प्रसाद भन्दै हुनुहुन्थ्यो, हलुवाजस्तो दिएर जानुभएको थियो ।” बिनिताले बताई ।
“प्रसाद पनि एक कचौरा भरी हुन्छ त ?” राधाले केही शङ्का गर्दै भनिन् । उतिखेरै रेशम पनि कोठामा प्रवेश गर्यो ।
“बिनिता, यो के गर्यौ तिमीले ? शिवजीको मन्दिरमा राख्न भनेर दिएको त्यो सबै खायौ ?” रेशम आश्चर्यचकित भयो ।
“आमा, बिनिताले सबै प्रसाद खाइन्, अब के हुन्छ ?” रेशमले डराउँदै सोध्यो ।
“खान दे, खाई भने, समय छ, अरू बनाउँला ।” राधाले मुस्कुराउँदै भनिन् ।
“चिन्ता प्रसाद सकिएको होइन आमा, त्यसमा धतुरो मिसाएको थियो । बिनितालाई नोक्सान पुर्याउँछ कि ? उसको पेटमा… !” उसले आत्तिँदै भन्यो ।
–०००–
दाङ, घोराही–१८
❀❀❀
❛लघुकथा टिप्पणी❜
☞ मिथकीय दृष्टिले ‘प्रसाद’ लघुकथाको चिरफार
✒ नन्दलाल आचार्य
सुरेशकुमार पाण्डेद्वारा लिखित लघुकथा ‘प्रसाद’ ले नेपाली समाजमा गहिरो जरा गाडेर बसेको धार्मिक अन्धविश्वास, पितृसत्तात्मक सोच र पौराणिक मिथकको आडमा हुने लापरबाहीलाई कडा व्यङ्ग्य गरेको छ । यस कथालाई विशेष गरी स्वस्थानी व्रत र शिव-पार्वतीको मिथकीय सन्दर्भबाट विश्लेषण गर्न सकिन्छ ।
१. स्वस्थानी व्रत र पवित्रताको मिथक
स्वस्थानी व्रत हिन्दू महिलाहरूका लागि पवित्रता, त्याग र निष्ठाको प्रतीक मानिन्छ । कथामा राधाको पात्रले यो परम्परागत निष्ठाको प्रतिनिधित्व गर्छे । उनले बुहारीलाई “लसपस हुन नदिनु” भन्नुले मिथकीय शुद्धताको कठोरतालाई सङ्केत गर्छ । स्वस्थानीको मिथक आफैँमा कष्ट सहेर श्रीमान् वा परिवारको कल्याण गर्ने कथा हो । यहाँ राधाले बुहारी (बिनिता) को स्वास्थ्यभन्दा बढी व्रतको नियम र “शुद्धता” लाई महत्त्व दिएको देखिन्छ । यो मिथकीय ‘पवित्रता’ ले कसरी मानवीय संवेदनामाथि घेराबन्दी गर्छ भन्ने पक्ष यहाँ उजागर भएको छ ।
२. शिव र धतुराको बिम्ब: वरदान कि विष ?
मिथकअनुसार शिवले समुद्र मन्थनबाट निक्लेको कालकुट विष पिएर सृष्टिको रक्षा गरेका थिए र उनलाई चढाउने ‘धतुरो’ उन्माद र वैराग्यको प्रतीक हो । लघुकथामा रेशमले “प्रसाद” मा धतुरो मिसाउनुले एउटा गम्भीर विरोधाभास पैदा गरेको छ । एकातिर शिवको ‘झाँकी’ प्रदर्शन गरेर भक्तिको नाटक गरिँदै छ, अर्कोतिर स्वास्थ्यका लागि हानिकारक वस्तुलाई ‘प्रसाद’ को संज्ञा दिइएको छ । मिथकले धतुरालाई शिवको प्रिय वस्तु मान्छ, तर वास्तविक जीवनमा त्यो विषालु हुन्छ । कथाले प्रश्न गर्छ- के धार्मिक अन्धतामा परेर मान्छेले विषलाई पनि प्रसाद भन्दै बाँड्न मिल्छ ?
३. नारी अस्तित्व र पितृसत्तात्मक ‘प्रसाद’
बिनिता गर्भवती (यो अवस्थामा भनिएको सन्दर्भ) छिन् । उनलाई “न्यानोमा बस्नु” भन्नु मायाजस्तो देखिए पनि उनलाई घरभित्रै सीमित राख्ने र केवल ‘भक्ति’ मा लगाउने पितृसत्तात्मक संरचनाको हिस्सा हो । रेशमले मन्दिरका लागि ल्याएको धतुरा मिसाएको हलुवा बिनिताले खानुले एउटा ठूलो दुर्घटनाको सङ्केत गर्छ । मिथकले सधैँ नारीलाई सहनशील र भक्तिको पात्र बनाउँछ, तर त्यही भक्तिको आडमा उनीहरूको स्वास्थ्य र जीवनसँग खेलवाड भइरहेको हुन्छ ।
४. अन्धविश्वास र आधुनिकताको द्वन्द्व
स्वस्थानीको कथामा महादेवले सतीदेवी वा पार्वतीका लागि गर्ने लीलाहरू वर्णन गरिन्छ । तर पाण्डेको कथामा रेशमले देखाएको “शिवको झाँकी” र “धतुराको प्रयोग” ले धर्मलाई प्रदर्शन र फेसन बनाइएको देखाउँछ । प्रसादको नाममा बुहारीले विष सेवन गर्नु धार्मिक विवेकहीनताको पराकाष्ठा हो । राधाको सुरुको कठोरता (लसपस हुन नदिनु) अन्तमा आएर बुहारीको पेटमा रहेको बच्चाको चिन्तामा बदलिन्छ, जसले कर्मकाण्डभन्दा जीवन ठूलो हो भन्ने बोध गराउँछ ।
५. निष्कर्ष
‘प्रसाद’ लघुकथाले स्वस्थानी व्रतजस्तो सांस्कृतिक बिम्बलाई लिएर समाजमा व्याप्त अन्धभक्ति र असावधानीको चिरफार गरेको छ । धतुरालाई शिवको मिथकसँग जोडेर मानवीय जीवन जोखिममा पार्नु धार्मिक विचलन हो । लघुकथाले प्रष्ट पारेको छ कि यदि धर्मले विवेक गुमाउँछ र ‘प्रसाद’ ले मान्छेको ज्यान लिने अवस्था सिर्जना गर्छ भने, त्यस्ता मिथकीय अभ्यासहरूको पुनरावलोकन आवश्यक छ ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा: चेतनाको उज्यालो
✒ नन्दलाल आचार्य
“बिनितालाई तुरुन्तै अस्पताल लैजाऊ, यहाँ भगवान् होइन डाक्टरको जरुरत छ !” रेशमको आत्तिएको स्वरले घरको भित्ता थर्कायो ।
आँगनमा स्वस्थानीको मण्डप सजाउँदै गरेका पण्डित र छरछिमेकीहरू जिल्ल परे, तर राधाको मनमा भने धर्म र नातिप्रतिको आशङ्काबीच तीव्र द्वन्द्व चलिरह्यो । बिनिताको शरीर शिथिल हुँदै गयो, आँखामा अनौठो रक्तिम रङ्ग पोतियो र उनले असन्तुलित लवजमा बरबराउन थालिन् । रेशमले हतार-हतार उनलाई गाडीमा हालेर सहरतिर दौडायो । मन्दिरमा चढाउन ठिक्क पारिएको ‘प्रसाद’ मा घोलिएको धतुरोको विषले एउटा निर्दोश ज्यान र गर्भको भविष्यमाथि धावा बोलिरहेको थियो ।
अस्पतालको आकस्मिक कक्ष बाहिर घडीको सुईसँगै रेशमको धडकन पनि तीव्र भइरह्यो । यता घरमा राधा भने ‘प्रसाद’ को अपमान भएको भन्दै क्षमा पूजा गर्ने तरखरमा थिइन् । उनलाई लागिरहेको थियो- पूजाको सामग्री खाएकीले नै बुहारीलाई देउता लागेको हो । तर जब मध्यरातमा रेशमले फोन गरेर “आमा, हजुरको प्रसादले बिनिताको ज्यान त जोगियो तर भित्रको कोपिला सधैँका लागि ओइलायो” भन्यो, तब राधाका हातबाट अक्षताका दानाहरू भुइँमा छरपस्ट भए ।
भोलिपल्ट बिहानै राधाले तुलसीको मठ अगाडि बलिरहेको दियो निभाउँदै भनिन्, “अबदेखि मेरो घरमा कसैले अन्धभक्तिलाई प्रसाद भनेर विष पिलाउने छैन ।”
“प्रसाद त त्यो हो, जसले जीवन दिन्छ, जीवन लिने त केवल भ्रमको खेती मात्र रहेछ ।” राधाले मनको ऊहापोह पोखिन् ।
❀❀❀
२. लघुकथा: धागोको वाचा
✒ स्वस्तिका सिम्खडा
“आमा, यो धागो बाँधेन भने के हुन्छ ?”
छोराको आकस्मिक प्रश्नले बिहान झस्कियो ।
आँगनमा स्वस्थानीको किताब खुला थियो । धूपको धुवाँ बादलजस्तै उडिरहेको थियो ।
“केही हुँदैन,” आमाले हाँस्दै भनिन्, “तर बुझेनौ भने धैरे कुरा हराउँछ ।”
“के हराउँछ ?”
“राम्रो बन्ने याद,” आमाले छोटो उत्तर दिइन् ।
छोराले किताबतिर हेर्यो । त्यहाँ महादेवले अरूलाई बचाउन विष पिएको कथा थियो ।
“उहाँलाई त गाह्रो भएन ?”
“भयो,” आमाले भनिन्, “तर अरूलाई बचाउनुभयो ।”
त्यतिबेला छिमेकी बच्चा लडेर रोइरहेको आवाज आयो ।
छोरो उठ्यो ।
“आमा, म हेरेर आउँछु ।”
केही बेरपछि ऊ मुस्कुराउँदै फर्कियो ।
“उहाँ उठ्नुभयो,” उसले भन्यो ।
आमाले धागो बाँधिदिइन् ।
छोराले गुनगुनायो— “आमा, धागो बाँध्दा भगवान् होइन, म नै अलि राम्रो भएजस्तो लाग्यो ।”
–०००–
(सङ्कलक तथा सम्पादक लक्ष्मी रिजालद्वारा लघुकथाकार सिम्खडाको पुरानो हस्तलिखित डायरीबाट सङ्कलित ।)
❀❀❀
❛लघुकथा टिप्पणी❜
☞ मिथकीय दृष्टिले ‘धागोको वाचा’ लघुकथाको चिरफार
✒ नन्दलाल आचार्य
स्वस्तिका सिम्खडाद्वारा रचित लघुकथा ‘धागोको वाचा’ एउटा सानो तर गहिरो आयाम बोकेको सिर्जना हो । यस कथाले नेपाली समाजमा गहिरो गरी जकडिएको ‘स्वस्थानी व्रत’ र पौराणिक मान्यतालाई वर्तमान मानवीय संवेदनासँग जोडेर नयाँ व्याख्या प्रस्तुत गरेको छ ।
१. मिथकको मानवीकरण र समसामयिकता
मिथकहरू प्रायः अलौकिक र चमत्कारिक हुन्छन्, तर यस कथामा लेखिकाले ती मिथकलाई मानवीय व्यवहारसँग जोड्ने प्रयत्न गरेकी छिन् । स्वस्थानीको कथामा महादेवले लोककल्याणका लागि विष पिएको (कालकुट विष) प्रसङ्गलाई एउटा बालकको सरल जिज्ञासामा उतारिएको छ । बालकले सोधेको प्रश्न “उहाँलाई त गाह्रो भएन ?” ले पौराणिक कथाका नायकहरूले भोगेको पीडा र त्यागलाई मानवीय धरातलमा ल्याएर बुझ्ने कोसिस गरेको छ । यहाँ मिथक केवल पूजा गर्ने माध्यम मात्र नभई ‘परोपकार’ सिक्ने पाठशाला बनेको छ ।
२. ‘धागो’ को साङ्केतिक अर्थ र नयाँ परिभाषा
नेपाली संस्कृतिमा हातमा बाँधिने धागोलाई सुरक्षा र भगवान्को आशीर्वादको प्रतीक मानिन्छ । परम्परागत रूपमा यो ‘अदृश्य शक्तिबाट रक्षा’ पाउने विश्वासमा बाँधिन्छ । तर, यस कथामा ‘धागो’ को मिथकीय अर्थ बदलिएको छ । आमाले भन्छिन्— “राम्रो बन्ने याद ।” यहाँ धागो कुनै अन्धविश्वास होइन, बरु यो त स्वयं व्यक्तिले आफैँसँग गरेको एउटा ‘वाचा’ हो । छिमेकी बच्चा लड्दा उसको उद्धार गर्न जानु र फर्किएपछि मात्र धागो बाँध्नुले कर्म विनाको संस्कार अर्थहीन हुन्छ भन्ने सङ्केत गर्छ ।
३. लोककल्याणको निरन्तरता
स्वस्थानी र महादेवका कथाहरूमा त्याग र धैर्यको चर्चा हुन्छ । कथामा छिमेकी बच्चा लड्नु र बालक उसलाई उठाउन जानुले महादेवको ‘विष पिउने’ प्रवृत्तिलाई नै पछ्याएको देखिन्छ । बालकले पुस्तकमा पढेको त्यागलाई तत्कालै व्यवहारमा उतार्नुले मिथकको सान्दर्भिकता पुष्टि गरेको छ ।
४. आमाको भूमिका र संस्कार हस्तान्तरण
कथामा आमाले परम्परालाई जडवत् रूपमा लाद्नुको सट्टा बालकको जिज्ञासालाई विवेकपूर्ण उत्तर दिएकी छिन् । “बुझेनौ भने धैरे कुरा हराउँछ” भन्ने वाक्यले सांस्कृतिक मूल्यहरूको अन्तर्य नबुझी पालना गर्दा ती लोप हुन सक्ने खतराप्रति सचेत गराएको छ ।
५. निष्कर्ष
‘धागोको वाचा’ लघुकथाले परम्परागत धार्मिक मिथकलाई नैतिकता र मानवीय सेवाको कसीमा राखेर हेरेको छ । लेखिकाले धार्मिक कर्मकाण्डभन्दा मानवीय संवेदना ठुलो हो भन्ने कुरालाई बालकको मनोविज्ञानमार्फत कुशल रूपमा प्रस्तुत गरेकी छिन् ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा: नयाँ गाँठो
✒ नन्दलाल आचार्य
“आमा, के यो धागोले मेरो हात मात्र होइन, संसारका मान्छेका मन पनि जोड्न सक्छ ?”
छोराको यो प्रश्नले आँगनको शान्त वातावरणमा एउटा नयाँ चेतनाको शङ्खघोष गरिदियो । आमाले छोराको कलिलो नाडीमा बाँधिएको त्यो रक्षाबन्धनको धागोलाई सुम्सुम्याइन् । बाहिर समाजमा स्वार्थको अग्लो पर्खाल ठडिरहेको थियो र मानिसहरू धर्मका नाममा सङ्कुचित घेराभित्र गुम्सिरहेका थिए ।
आमाले डोरो कस्दै भनिन्, “बाबु, धागो आफैँमा केवल सुतीको रेशा हो, तर यसले बोक्ने सङ्कल्प ठूलो हुनुपर्छ । महादेवले विष पिएर नीलकण्ठ हुनुको अर्थ मन्दिरमा मूर्ति बन्नु मात्र होइन, समाजका विषालु विकृति र विभेदलाई आफूले पचाइ अरूलाई अमृत दिनु हो ।”
छोराले एकछिन टोलाएर आँगन बाहिरको बाटो हेर्यो, जहाँ एउटा श्रमिक पसिना पुछ्दै गह्रौँ भारी बोकिरहेको थियो । उसले बुझ्यो कि वास्तविक अनुष्ठान त ती भोका पेट र नाङ्गा आङहरूको सेवामा लुकेको छ । उसले आफ्नो नाडीको धागोलाई मुठ्ठीले कसिलो गरी समात्यो । उसलाई लाग्यो, यो धागो कुनै कर्मकाण्डीय बन्धन मात्र होइन, बरु उत्पीडितहरूको आवाज बन्ने एउटा क्रान्तिकारी प्रतिज्ञा हो ।
आँगनको धूप निभ्यो, तर छोराको मनमा मानवताको नयाँ दियो बलिसकेको थियो । ऊ अब ईश्वर खोज्न मन्दिरतिर होइन, मानिस खोज्न बस्तीका गल्लीहरूतिर लाग्ने तरखरमा थियो ।
उसले मुसुक्क हाँस्दै आमाको हात समातेर भन्यो, “आमा, यो धागो त एउटा यस्तो नयाँ गोरेटो रहेछ, जसले मलाई स्वार्थको कैदबाट मुक्त गरेर सामूहिकताको विशाल खुला आकाशतिर डोहोर्याउँदो रहेछ ।”
❀❀❀
३. लघुकथा: कछुवा-खरायोको दौड
✒ प्रेम नेउपाने प्रहर
फेरि पनि राखियो कछुवा र खरायोको दौड प्रतियोगिता ।
आयोजन समितिले विजयी टोलीलाई उत्कृष्ट इनाम राखिदियो ।
दुवै टोली यथासमयानुसार मैदानमा उत्रिए ।
समयको सिटी फुकियो । खरायोले सोच्यो- हिजोको जस्तो गल्ती आज नहोस्; यसैले यसचोटि आराम होइन, इनाम हत्याउनै पर्छ । एक, दुई, तीन दुवै लागे इतिहास बनाउन । डाँडा काट्यो खरायोले । धेरै लामो फड्को मार्यो ।
यता कछुवा कुद्दैकुद्दै सोच्न लाग्यो- ‘व्यर्थमै शरीर किन गलाउनु ? औपचारिक विजयमा रमाउँदिनँ म । इनाम कमाएर कसको मन सन्तुष्ट भएको छ र ? होस्, मलाई विजयी बन्नु छैन । मलाई दुनियाँ हँसाउनु छैन ।’
कछुवा फर्कियो आफ्नै विश्रामालयतिर । खरायोलाई नै विजयी घोषित गरियो । उत्कृष्ट इनाममा मख्ख परेको खरायो अहङ्कारको समुद्रमा डुबुल्की मार्न लाग्यो ।
कछुवाले परैबाट बधाईको सन्देश पठायो- “प्रतिद्वन्द्वीबिनाको दौडमा विजयी हुनुभएको यहाँलाई सहस्र बधाई छ ।”
–०००–
रुम्तेक, सिक्किम
❀❀❀
❛लघुकथा टिप्पणी❜
☞ मिथकीय दृष्टिले ‘कछुवा-खरायोको दौड’ लघुकथाको चिरफार
✒ नन्दलाल आचार्य
प्रेम नेउपाने प्रहरद्वारा लिखित लघुकथा ‘कछुवा-खरायोको दौड’ ले पराूर्व कालदेखि स्थापित लोककथाको नवीन व्याख्या गर्दै त्यसलाई एउटा आधुनिक मिथकको रूपमा प्रस्तुत गरेको छ ।
१. मिथकीय उपचेतना र पुनर्व्याख्या
परम्परागत मिथकमा कछुवा र खरायोको दौडलाई ‘निरन्तरताको जीत’ का रूपमा चित्रण गरिन्थ्यो । तर, प्रहरको यो लघुकथाले त्यो स्थापित मिथकलाई भत्काएर ‘डिकन्स्ट्रक्सन’ गरेको छ । यहाँ कछुवा र खरायो केवल दुई प्राणी होइनन्, बरु मानवीय प्रवृत्ति र अस्तित्ववादी चिन्तनका प्रतीक हुन् ।
२. कछुवा: एक स्थितप्रज्ञ र दार्शनिक पात्र
यस लघुकथामा कछुवा एक दार्शनिक पात्रका रूपमा उत्रिएको छ । उसले परम्परागत प्रतिस्पर्धाको औचित्यमाथि प्रश्न उठाएको छ । “औपचारिक विजयमा रमाउँदिनँ म” भन्ने उसको सोचले पूर्वीय दर्शनको ‘निष्काम कर्म’ लाई सङ्केत गर्दछ । उसले दुनियाँलाई देखाउनका लागि दौडिनुभन्दा आफ्नै ‘विश्रामालय’ मा फर्किनुलाई उत्तम ठानेको छ ।
३. खरायो: आधुनिक भौतिकवाद र अहङ्कारको निरन्तरता
खरायोले विगतको गल्तीबाट पाठ त सिकेको छ, तरुको चेतना केवल भौतिक विजयमा सीमित छ । उसले इनामलाई नै सर्वोपरी ठानेको छ । यसले के देखाउँछ भने, भौतिक प्रगतिले मानिसलाई थप अहङ्कारी बनाउँछ ।
४. प्रतिद्वन्द्वीबिनाको दौड र शून्यको अर्थ
कथाको क्लाइमेक्स कछुवाको व्यङ्ग्यात्मक बधाईमा छ । जब कछुवाले प्रतिस्पर्धा नै त्यागिदियो, तब खरायोको जीतको कुनै नैतिक मूल्य रहेन । यो आधुनिक समाजको ऐना हो, जहाँ हामी कसलाई उछिन्न कुदिरहेका छौँ भन्ने नै थाहा छैन ।
५. निष्कर्ष
प्रेम नेउपाने प्रहरको यो लघुकथाले पुरानो मिथकलाई नयाँ जीवन दिएको छ । लघुकथाले सन्देश दिन्छ कि- संसारले तोकिदिएको सफलताको मापदण्डमा दौडिनु नै महानता होइन । कछुवा यहाँ पराजित पात्र होइन, बरु भीडभाडबाट मुक्त भएको एक ‘मुक्त’ चेतना हो ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा: नयाँ क्षितिजको खोज
✒ नन्दलाल आचार्य
“पुरस्कारको त्यो सुनौलो तक्माले तिम्रो चेतनाको खुट्टा त बाँधिएको छैन खरायो साथी ?” कछुवाले निकै शान्त भावमा सोध्यो ।
विजयको उन्मादमा मात्तिएको खरायोले खिसीट्युरी गर्दै भन्यो, “यो त पराजितको छटपटी मात्र हो, तिमीले दौड नै पूरा गर्न सकेनौ र आज म सर्वशक्तिमान विजेता हुँ ।”
कछुवा मुस्कुरायो, उसको मुस्कानमा कुनै हीनताबोध थिएन, बरु एउटा गहिरो करुणा झल्कन्थ्यो । उसले बुझिसकेको थियो कि यो दौड केवल एउटा कृत्रिम घेराभित्रको प्रहसन मात्र थियो । खरायोले आफ्नो मेडल चम्काउँदै गर्दा कछुवाले टाढा बस्तीतिर हेर्यो, जहाँ अनगिन्ती भुइँमान्छेहरू आफ्नै पसिनाको मूल्य नपाएर थकित थिए ।
कछुवालाई महसुस भयो कि व्यक्तिगत श्रेष्ठताको यो अन्धवेगले सामूहिक हितको बाटो छेकिरहेको छ । उसले अब कसैलाई पछार्नका लागि होइन, बरु पछाडि पारिएकाहरूलाई साथमा लिएर हिँड्ने सङ्कल्प गर्यो । मैदानको कृत्रिम सिमानाभन्दा बाहिर एउटा विशाल दुनियाँ थियो, जहाँ ‘जित’ र ‘हार’ को परिभाषा फेर्नु आवश्यक थियो ।
अहङ्कारको अग्लो थुम्कोमा एक्लै उभिएको खरायोले नजिकैको ऐनामा हेर्दा आफ्नो घाँटीमा झुण्डिएको सुनौलो तक्माभन्दा ठूलो एउटा अदृश्य साङ्लो देख्न थाल्यो ।
“मुक्तिको असली दौड त तब सुरु हुन्छ, जब गोडामा बाँधिएको स्वार्थको जञ्जीर चुँडिन्छ ।” कछुवाको कथन बाहिरियो ।
❀❀❀
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



