आज म
सभ्यता होइन,
सभ्यताको पोस्टमार्टम रिपोर्ट बाँच्दै छु—
जहाँ
मनुष्यको भित्र
साँघुरिएको छ सम्पूर्ण ब्रह्माण्ड !
क्याफेमा कफीको गन्धमा बगिरहेको छ
पुराणको सूत्र,
र मन्दिरका घण्टीहरू
एउटा एपको नोटिफिकेशनमा हराइरहेछन् !
स्मृतिमा पिँजडाजस्तो जोगिएको
त्यो गाउँको एक्लो पीपल
अहिले वाइफाइ टावरमा रूपान्तरित छ
र त्यहीँबाट प्रसारण हुँदै छ—
एक ‘कन्फ्युज्ड’ भगवानको लाइभ ।
मान्छेहरूले अब श्वास लिन्छन्—
क्लोन गरिएको नीतिमा;
चर्चामा अब धर्म होइन,
बिटक्वाइनको भविष्य छ ।
साहित्य अब ब्लगपोस्ट हो,
र ब्लग अब विज्ञापनको खोल !
एउटा नास्तिक
धार्मिक क्रान्तिको पोस्टर बोकेर
र्यालीमा अगाडि हिँडिरहेको छ ।
र एउटा पादरी
पबमा वेटरलाई सम्झाउँदै छ—
“प्रेम नै ईश्वर हो !”
टिकटकको ट्रेन्डमा
अब महाभारतको युद्ध
बीस सेकेन्डको नाचमा सकिन्छ—
र अर्जुनले आफैँलाई अनफलो गरिसकेको छ ।
टावरहरूको उचाइमा
धर्तीको स्पन्दन हराइरहेछ
अनि
ध्वंसको नयाँ व्याकरणमा
कविता लेखिरहेका छन्—
आर्टिफिसियल बुद्धिहरू !
बगिरहेको छ प्लास्टिकको नदी
जहाँ आत्मा डुबुल्की मार्न खोजिरहेछ—
तर तल गहिराइमा
फेला पर्छन् केवल सेल्फीहरू !
शब्दहरूको श्मशानमा बसेको म
अहिले
मनुष्यता बचाउने मन्त्र खोजिरहेछु
र लाजसँग सम्झौता गरेर
संविधानलाई न्यानो ओढाइरहेछु ।
कसैले भन्छ—
अब क्रान्ति डिजिटल हुनेछ ।
कसैले भन्छ—
ईश्वरको प्रोफाइल डिएक्टिभ भइसकेको छ ।
म भन्छु—
अब मान्छेले
सपना होइन,
पासवर्ड परिवर्तन गर्न सिक्नुपर्छ ।
अब
धर्तीको नक्सा होइन,
नरसंहारको ग्राफ अपडेट हुँदै छ ।
र आज पनि
संसारको सबैभन्दा पुरानो भोक
“न्याय”
पखालिँदै छ—
एउटा महँगो परफ्युममा ।
इति,
पतनको पराकाष्ठा—
जहाँ स्वर्गको प्रवेशद्वारमा लेखिएको
छ:
“आउट अफ सर्भिस” ।
काठमाडौँ


