रगत चल्यो
अङ्गसँगै अङ्ग चल्यो
कति सजिलै भन्छौ
अब पानी चल्दैन ?
मौका पायो भने
यौवनको प्यास मेटाउन मज्जाले मिल्ने
तर घरमा बुहारी वा ज्वाइँ बनाउन
नमिल्ने अरे !
तिम्रो घरभित्र
मैले पालेको जनावर छिर्यो
तर भन्छौ
म मान्छे छिर्न मिल्दैन !
किन मिल्दैन म छिर्न ?
अनगिन्ती प्रश्नको
अनुत्तरित हुन्छु म !
मन्दिरभित्र
भगवान्को दर्शन गर्न
मलाई हप्काइयो
तिमीहरूले मन्दिर छुन हुँदैन रे !
मेरा यी निर्दोष नयनले
नियालेर हेरेँ त्यो मन्दिरतिर
र ती पुजारीले लगाएको लुगातिर
जो हाम्रै दर्जी काकाले सिलाएका थिए ।
पूजाका लागि बोकेको त्यो थाली
जो मेरै विश्वकर्मा मामाले बनाएका थिए ।
गाँसेको चप्पल,
लाज छोप्ने धोती
अक्षता राखेको थाली,
यी सबै-सबै त
हाम्रै जातकाले बनाएका थिए !
मूर्ति हामीले नै बनाएका थियौँ ।
हामीले नै फलाम पिटेर
त्यो त्रिशूललाई आकार दिएका थियौँ ।
अझ मन्दिरको निर्माण नै
हामीले गरेका थियौँ ।
मन्दिरका सबै सामान
हामीले छोएकै थियौँ ।
तर अहिले हामी
त्यही मन्दिर पस्न
अछुत कसरी भयौँ ?
मैले सिलाएको धोती चल्यो
मैले बुनेको टोपी चल्यो
मैले बनाएको मन्दिर चल्यो
तर त्यस मन्दिरमा
म चलिनँ या भनौँ
म पस्न मिलेन
आखिर किन ?
यदि मैले छुँदैमा
तिमी अपवित्र हुने हो भने
तिमीलाई पाप लाग्ने भयो
ढुक्क हुनु
तिमी जन्मजातै पापी भइसकेका छौ
किनकि तिमीले लगाएको भोटो
तिम्रो नाल काटेको हतियार
यी सबैको निर्माण
म र मजस्ता ‘अछुत’हरूले गरेका हौँ
तिमी अब
कहिल्यै पवित्र हुन सक्दैनौ
किनकि
मैले र म जस्ताले
तिमीलाई छोइसकेका छौँ
किनभने
म सानो जातको मान्छे हुँ…!!!
खार्खोला, कुमाख गा.पा.-२, सल्यान, कर्णाली प्र.


