Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

कविता: बेनाम लाशहरू | आचार्य प्रभा | हाम्रो कथाघर

भदौ १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क – १५ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क – १५ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यभदौ ८, २०८२457 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग” को
नयाँ श्रृङ्खला


१. लघुकथा: तीन मोहर
✒ मीना शर्मा

“हजुरआमा, एउटा कथा सुनाउनु न !” नातिले आग्रह गर्‍यो। हजुरआमाले आफ्नै पालामा घटेको सत्य घटनालाई कथाको रूपमा ढाल्दै सुनाउन थाल्नुभयो ।

“हर्कबहादुर नामको भरियाले साहुको भारी बोकेर तीन मोहर कमाएको थियो । तर, त्यति पैसाले घरपरिवार धान्न निकै गाह्रो पर्थ्यो ।”

“त्यसबेलाको तीन मोहर अहिले कति हुन्छ हजुरआमा?” कथा सुन्दै गर्दा नातिले सोध्यो ।

“झन्डै तीन सयजति होला अहिले त,” हजुरआमाले अनुमान गर्दै भन्नुभयो र फेरि कथातिर मोडिनुभयो ।

“हर्कबहादुरले त्यो तीन मोहर खल्तीमा राख्यो । काँधमा झोला भिर्‍यो, जाडो छेक्न ठूलो बर्को ओढ्यो । त्यसपछि डोको बोक्दै तानसेन बजारतिर हिँड्यो । सित्तलपाटीको चौतारीमा पुगेर डोको बिसायो ।”

“केमा गयो ?” नातिले फेरि प्रश्न तेर्सायो । “हिँडेर गयो, घरबाट एक घण्टा लाग्थ्यो,” हजुरआमाले छोटकरीमा जवाफ दिनुभयो र बाँकी कथा सुनाउन थाल्नुभयो ।

“त्यो बजारमा मानिसको भीड थियो । व्यापारीहरू भ्याइनभ्याइमा थिए । हर्कबहादुरले मौकामा चौका हान्यो । सामान देखाउँदै भाउ सोध्यो । अनि ‘कति महँगो रहेछ !’ भन्दै व्यापारीको आँखा छलेर बर्कोभित्र सामान लुकाएर झोलामा हाल्न थाल्यो । झोला भरिँदा डोकामा खन्याइदिने, फेरि अर्को पसलमा जान्थ्यो । यसरी दिनभर सामान जोड्यो । अन्ततः तीन मोहर त जस्ताको तस्तै घर लिएर गयो, तर डोको भने भरिएर आयो ।

यस्तै काम बारम्बार गरेपछि, एक दिन उसका साथी वीरबहादुरले सोध्यो- ‘हर्के ! तँ त काम गर्नै जान्दैनस्, तर दिनदिनै सामान किनेर कसरी ल्याउँछस्?’ हर्कबहादुरले साथीलाई सबै कुरा बताइदियो ।

अर्को दिन दुवै जना डोको बोकेर सँगै तानसेन बजार गए । सित्तलपाटीमा डोको बिसाए र पसलमा पुगेर सामानको भाउ सोधेजस्तै गरेर चुपचाप झोलाभित्र हाल्न थाले । ‘महँगो भयो’ भन्दै निस्किन लाग्दा व्यापारीहरूले निगरानी गर्दै गरेका रहेछन् । झोलाबाट सामान डोकामा खन्याउँदै गर्दा उनीहरूको चोरी पत्ता लाग्यो । व्यापारीले दुवैलाई च्याप्प समाते…”

—०—
चितवन
❀❀❀

❛विश्लेषण❜
☛ मीना शर्माको लघुकथा ‘तीन मोहर’ को साहित्यिक शक्ति
✒ नन्दलाल आचार्य

म यो कथा पढ्दा सँगै कुनै पुरानो चौतारीमा बसेर हजुरआमाको ओठबाट बगिरहेको मौखिक कथा सुन्दैछु जस्तो लाग्छ । कथाको प्रारम्भ नै नातिको आग्रहबाट हुन्छ- “हजुरआमा, एउटा कथा सुनाउनु न !” यो आग्रहमा बालपनको जिज्ञासा, आस्थाको न्यानोपन, र हजुरआमामा टाँसिएको ज्ञानको धरोहर झल्किन्छ । नातिनातिनीलाई कथा सुनाउने संस्कार हाम्रो मौलिक मौखिक परम्पराको एउटा सुन्दर अभिव्यक्ति हो । यसले हामीलाई देखाउँछ- कथा सुन्ने संस्कार पुस्तापुस्तामा ज्ञान, अनुभव र जीवनबोध हस्तान्तरण गर्ने एउटा जीवित पुल हो ।

हजुरआमाले सुनाउन थालेको कथा हर्कबहादुर नामक भरियाको हो । कथा एक्कासि अत्यन्तै जीवन्त लाग्छ किनभने यो कुनै काल्पनिक नभई वास्तविक जीवनको प्रतिरूप जस्तो देखिन्छ । हर्कबहादुरको तीन मोहर आजका हिसाबले करिब तीन सय मात्र हुने भनेर हजुरआमाले गर्ने रूपान्तरणले समयको अन्तरालमा पैसाको मूल्य घटबढको प्रत्यक्ष अनुभूति गराउँछ । तीन मोहरले एक परिवार पाल्नुपर्ने अवस्थाले त्यतिबेलाको अभाव, दारिद्रय र जीवन सङ्घर्षलाई आँखै अगाडि ल्याइदिन्छ ।

हर्कबहादुरको चरित्र द्विविधपूर्ण छ । उसले भरिया बनेर इमानदार मेहनत गर्छ, तर त्यो कमाइ पर्याप्त हुँदैन । यही असमर्थताले उसलाई बेइमान मार्ग रोज्न बाध्य बनाउँछ । बजारमा गएर ‘महँगो छ’ भन्दै सामान लुकाएर झोलामा हाल्ने दृश्यमा सामाजिक यथार्थको कटुता स्पष्ट झल्किन्छ । यो चोरीको अभ्यास असल बाटोमा नपुगेको अभावग्रस्त जीवनको प्रतीक हो । पैसा छैन, तर पेट छ; आचरणको सिधाइ छैन, तर भोक छ । यिनै द्वन्द्वले हर्कबहादुरलाई ‘नैतिक चोरी’तर्फ धकेल्छ ।

कथा सुन्दै गर्दा मैले आफ्नै गाउँको कुनै तामाङ वा मगर भरिया सम्झिएँ जसले गाउँबाट बोकीबोकी तरकारी बजारमा पुर्‍याउँछ । कहिलेकाहीँ मैले देखेको थिएँ- तिनीहरू पसलमा सामान चाखेर हेर्ने, ‘कति महँगो !’ भन्दै हाँसो उडाउने, तर मनभित्र कतै असन्तोष, भोक र लालसाको मिश्रण बोक्ने । हर्कबहादुरको चरित्रसँग मेरा ती दृश्यहरू जोडिन्छन् ।

तर, कथा यतिमै रोकिँदैन । जब उसले आफ्नो चोरी गर्ने तरिका साथी वीरबहादुरलाई भन्छ र दुवै जना पकडिन्छन्, त्यहीँ कथाले निर्णायक मोड लिन्छ । चोरी जति गुप्त भए पनि अन्ततः पत्ता लाग्छ भन्ने सार्वभौमिक सत्य यसमा अभिव्यक्त भएको छ । जीवनमा छोटो बाटो खोज्दा पाप र अपमान दुवै हात लाग्छ भन्ने चेतावनी पनि यहाँ छ ।

मेरो अनुभूतिमा यो कथा एउटा साधारण ग्रामीण जीवनको तस्बिरभन्दा बढी हो । यो हाम्रो समाजको गरिबी, अवसरको अभाव र त्यसले जन्माउने आपराधिक प्रवृत्तिको प्रतीक हो । मैले पढ्दा महसुस गरें- जब प्रणालीले श्रमको उचित मूल्य दिँदैन, जब पेटको भोक पैसाभन्दा ठूलो हुन्छ, तब मानिसले धर्म-अधर्मको रेखा सजिलै काट्न सक्छ । हर्कबहादुर दोषी मात्र होइन, बाध्यताको शिकार पनि हो ।

त्यसरी नातिको जिज्ञासा र हजुरआमाको कथन शैलीले कथा सुन्ने-सुनाउने संस्कारलाई पुनर्जीवित गराएको छ । हजुरआमा इतिहासकी वाचिका हुन्, नाति भविष्यको श्रोता । हजुरआमाको स्वरमा पीडाको वंशानुगत स्मृति छ, नातिको आँखामा त्यो पीडा बुझ्ने उत्सुकता । यसरी कथा मात्र नभई दुई पुस्ताबीचको संवाद बनेको छ ।

मलाई लाग्छ- ‘तीन मोहर’ लघुकथा एउटा सूक्ष्म तर घच्घच्याउने प्रश्न हो- के हाम्रो समाजमा अझै पनि हर्कबहादुरजस्ता बाध्य चोरी गर्नेहरूको सङ्ख्या घटेको छ त ? कि आजको महँगी र बेरोजगारीले अरू धेरै हर्कबहादुर जन्माइरहेको छ ?

यसरी हेर्दा, मीना शर्माको यो कथा केवल भूतको कथा होइन; वर्तमानको ऐना हो । तीन मोहरको अभाव र चोरीमा परिणत भएको विवशता आज पनि हजारौँ जीवनको यथार्थ हो भन्ने अनुभूतिले मेरो हृदय चसक्क पार्छ । यही चसक कथाको शक्ति हो ।

❀❀❀

❛प्रयोग उत्तरकथा❜
लघुकथा: तीन मोहरको ऋण
✒ नन्दलाल आचार्य

चौतारीमा एउटा चरा बेसुरमा करायो । हावा अचाक्ली चल्यो । नाति झसङ्ग भयो ।

“त्यसपछि के भयो हजुरआमा ?” उसको स्वरमा एक प्रकारको डर मिसिएको थियो।

हजुरआमाको आँखामा अचानक कालो बादल खेल्यो । ओठ काँपे । गहिरो श्वास तानेर भन्न थाल्नुभयो; “हर्कबहादुरलाई बजारैभरि घिसारियो । लाखौँ आँखा उसको टाउकोमाथि बर्सिए । चोरको टोपी पहिराइयो । साथी वीरबहादुर भाग्यो । तर, हर्के बाँचेको भए पनि, त्यही दिनदेखि उसको नाम मरेको थियो ।”

नातिले अचम्म मान्दै सोध्यो; “त्यो तीन मोहर त बचायो नि ?”

हजुरआमाले छाती छाम्नुभयो । आवाज थरथर काँप्यो; “हो, पैसा त घर आयो । तर, इज्जत त कहिल्यै फर्किएन । गाउँका मान्छेले उसको नाम लिन छाडे । उसका छोराछोरीलाई पनि ‘चोरका छोराछोरी’ भनेर हेप्थे ।”

नाति नि:श्वास फेर्दै कुर्सीमा ढल्कियो । उसको आँखामा त्रासको छाया झल्कियो ।

हजुरआमाले ढुङ्गाजस्तो आवाजमा अन्तिम वाक्य भन्नुभयो; “बाबु, पैसा त जोगिने रहेछ, तर पापले भने सधैँ काखी च्यापेर पछ्याउँदो रहेछ ।”

❀❀❀


२. लघुकथा: निरुत्तर
✒ मनोहर पोखरेल

कार्यक्रमस्थल खचाखच थियो । मञ्चबाट ओर्लनासाथै एक वृद्धले मन्त्रीको हात च्याप्प समाते । उनको आवाजमा यस्तो तिक्तता थियो, जसले सबैलाई रोक्यो ।

मन्त्रीलाई भेट्नेहरूले आआफ्नो माग सुनाइरहेका थिए । युवाहरू सेल्फी खिच्ने अवसर खोजिरहेका थिए ।

वृद्धले हातै नछाडेपछि मन्त्री अलमलिए ।

“कि चाहिँ, बाबा ?” मन्त्रीको प्रश्नसँगै वरिपरि भीडमा रहेका कार्यकर्ताहरू पनि पालैपालो चिच्याउन थाले, “के चाहनुहुन्छ ? भन्नुस्, पूरा हुन्छ ।”

वृद्धका आँखामा आँसु टिलपिलाए । मन्त्रीका पिएले गोजीबाट पाँच सयको नोट निकाल्दै सोधे; “छाक टार्न रासन चाहिएको हो ?” अर्काले थप्यो; “जाडो बढेको छ, सिरक चाहिएको होला ।”

भीड अनुमानमै रमायो; “सायद घर, स्वास्थ्योपचार, जागिर वा छोराछोरीको पढाइ मागेका हुन् ।”

वृद्ध शान्त तर दृढ स्वरमा बोले; “बडो कठिनाइ गरेर यहाँसम्म आइपुगेँ । दुई घण्टा यात्रा गरें, तीन घण्टा तपाईंलाई पर्खिएँ । तर, म पैसा र जागिर माग्न आएको होइन ।”

मन्त्रीले अधीर हुँदै भने; “छोटोमा भनिदिनुस्, के चाहनुहुन्छ ?”

त्यसपछि भनेको कुरा सुनिसक्दा त्यहाँ सन्नाटा छायो । भीड भावुक भयो । प्रश्न गर्नेहरू मौन भए ।

कृषि क्रान्ति र समृद्धिको सपना बाँड्ने मन्त्री असिनपसिन भए । उँधो टाउको लगाएर चुपचाप झोक्रिए । वृद्धका शब्दले उनलाई भित्तामा ठोक्किएझैँ हानेर निरुत्तर बनाए । अन्ततः कालो सिसा लगाएको गाडीमा चढेर भागे ।

तर, उनको मनमस्तिष्कमा वृद्धको माग बजिरह्यो- “मेरो एउटै माग छ, सरकार ! बाली लाउन नपाउँदा भोकमरी हुने भयो, एक बोरा मल चाहियो !”

—०—
राजविराज–६, सप्तरी, नेपाल
❀❀❀

❛विश्लेषण❜
☛ मनोहर पोखरेलको लघुकथा ‘निरुत्तर’ को साहित्यिक शक्ति
✒ नन्दलाल आचार्य

मनोहर पोखरेलको लघुकथा ‘निरुत्तर’ पढ्दा मलाई लाग्छ- साहित्यले समाजलाई ऐना देखाउँछ भने यस्तो कथा हाम्रो दैनिक विडम्बनाको वास्तविक प्रतिविम्ब हो ।

कथाको प्रारम्भमै म देख्छु, मञ्च, भीड, मन्त्री, कार्यकर्ताहरू सबै आफ्ना भूमिकामा व्यस्त छन् । तर, त्यो भीडभाडमा एक वृद्धको हातले मन्त्रीलाई अड्काइराखेको क्षण भने असाधारण छ । मेरो अनुभूति भन्छ- त्यो हात केवल शारीरिक अड्काइ मात्र होइन, बरु इतिहासकै प्रश्न हो जसले सम्पूर्ण सत्ता संरचनालाई अड्काइदिएको छ ।

भीडमा रहेका युवाहरूको सेल्फी मोहले मलाई वर्तमान पुस्ताको राजनीतिक चेतनाबारे सोच्न बाध्य पार्छ । राजनीति जनताको मुद्दा होइन, देखावटी उपस्थिति र तस्बिरकै रस्साकस्सीमा हराएको यथार्थ देख्छु । त्यसैबीच वृद्धको आँखा टिलपिलाउने क्षणले मेरो मन हल्लाइदिन्छ । आँसुमा लुकेको पीडा, मौनतामा उत्रिएको आक्रोश यिनै हुन् वास्तविक मागका भाषा ।

मलाई लाग्छ, वृद्धले माग्ने कुरा पनि भीड र कार्यकर्ताहरूको कल्पनाभन्दा टाढा थियो । कार्यकर्ताहरूको चर्को स्वर, पीएको पैसा देखाउने शैली, सिरक, जागिर, घर, उपचार यी सबै पूर्वनिर्धारित विकल्पहरू हुन्, जसलाई सत्ताले आफ्नो सुविधाअनुसार बाँड्छ । तर, वृद्धले भनेको माग; “एक बोरा मल” त्यो पूर्वनिर्धारित सूचीमै पर्दैन । यही कारणले मन्त्री निरुत्तर हुन्छन् ।

मेरो आत्मिक अनुभव भन्छ- मल माग्नु भनेको केवल मलको खोजी होइन । त्यो त किसानको जीवन, गाउँको अस्तित्व, देशको मेरुदण्ड सुरक्षित गर्ने मूल माग हो । समृद्धिको नारा लगाउने शासकका सामु त्यस्तो सामान्य माग राखिनु नै सबैभन्दा ठूलो व्यङ्ग्य हो ।

कथाले मलाई मेरो आफ्नै जीवनसँग पनि जोड्छ । गाउँमा उब्जनी नभएको, खेतमा हरियो नबढेको, दाउराको धुवाँमा आमाले आँसु झार्नुभएको दृश्यहरू सम्झिन्छु । त्यो वृद्ध त केवल एक व्यक्तिको आवाज होइन, हजारौँ किसानहरूको सामूहिक करुण चित्कार हो ।

मन्त्रीको कालो सिसा भएको गाडी चढेर भाग्ने दृश्य पढ्दा मेरो मुटुमा चोट लाग्छ । त्यो भागाइ केवल एक व्यक्तिको पलायन होइन, बरु समग्र राज्य व्यवस्थाको विफलता हो । शासकहरूले किसानसँग आँखा जुधाउन नसक्ने असमर्थता हो ।

मलाई लाग्छ- यस कथाको शीर्षक ‘निरुत्तर’ केवल मन्त्रीलाई मात्र होइन, हामी सबैलाई प्रश्न हो । किनभने किसानको मागमा हामी पनि निरुत्तर छौँ । हामी सहरमा बस्नेहरू भोक नलागेसम्म मलको महत्त्व बिर्सन्छौँ । तर, देशको मेरुदण्ड किसान नै हो भन्ने तथ्यलाई बिर्सनु हाम्रो साझा भूल हो ।

अन्त्यमा, यो कथा पढ्दा मेरो मनमा एउटा गहिरो अनुभूति बन्छ- सत्य माग सधैँ सरल हुन्छ, तर सत्ताले त्यो सरलतालाई सुन्न सक्दैन । वृद्धको आवाज, आँसु र दृढता यी नै जनताको शक्तिशाली प्रतीक हुन् । मन्त्री निरुत्तर भए, तर म पाठक पनि त्यत्तिकै निरुत्तर छु ।

यसरी, ‘निरुत्तर’ केवल कथाभन्दा बढी मेरो आत्माको दर्पण बन्यो । यसले मलाई सोच्न बाध्य बनायो- कसरी सामान्य लाग्ने एउटा बोरा मल, वास्तवमा, सम्पूर्ण व्यवस्था र समृद्धिको खोक्रोपनमाथि प्रश्नचिन्ह बन्छ । यही प्रश्न आज पनि मेरो मनमा निरन्तर बजिरहेजस्तै लाग्छ ।

❀❀❀

❛प्रयोग उत्तरकथा❜
लघुकथा: मलको छायाँ
✒ नन्दलाल आचार्य

“तपाईँलाई थाहा छ ? ती वृद्ध रातारात हराएछन् !” गाउँको चौतारीमा उभिएका युवाहरूको गफले सारा वायुमण्डल नै रहस्यमय बनायो ।

मन्त्री भागेको दृश्य सबैले देखेका थिए । तर, वृद्धले बोकेको खाली बोरामा मल कहिल्यै परेन । खेतमा बीउ रोपियो, माटो फुरफुराउँदो पारियो, तर जीवनले अन्न उमारेन ।

गाउँले उनलाई देखेन, सुनेन । तर, उनको आवाज हरेक खेतको ढिस्कोमा टाँसिएर बाँकी रह्यो । “एक बोरा मल…” त्यो वाक्य आँधीजस्तो भएर तर्साउने गर्न थाल्यो ।

मल खोज्दै उनी फेरि नजिकको डिपो पुगेछन् । कर्मचारीले ढोका बन्द गरेर हाँसेछन्, “सूचना आउनुपर्छ, तब पाइन्छ।” वृद्ध हात झट्कार्दै फिरेछन् ।

त्यसपछि बजारको चोकमा, सरकारी कार्यालयको ढोकामा, मन्त्रीका पार्टी अफिसमा उनी कतै बोलिरहेका भेटिन्थे। तर, वास्तविक शरीर भने नदेखिने । गाउँका बच्चाहरूले समेत भन्न थाले, “हेर, मल माग्ने बाबा फेरि आयो !”

मन्त्री फेरि गाउँ छिरे। जुलुस थियो, भाषण थियो, भोट माग्ने ध्वनि थियो। अचानक आकाश कालो भयो, बिजुली चम्कियो । भीडबीच वृद्धको स्वर फेरि गुञ्जियो- “म एक बोरा मल मागेर हराएँ, तर लाखौँ किसान अब तपाईंको आत्मामा भूतझैँ फर्केर माग्नेछन् !”

यति पहिलेको कथा सुनाएपछि मन्त्रीको पिएले अहिलेको भेटमा मसँग भन्यो; “मल नभएको देशमा सरकार सबभन्दा ठूलो भोकमरी हो !”

❀❀❀


३. लघुकथा: अनुहार
✒ विनोद कार्की

“हेलिकप्टर आयो ! हेलिकप्टर !” बालकको स्वर आकाश चिरेर गाउँभरि फैलियो ।

पहिलोचोटि फलामको चराले गाउँको आकास चुमेपछि रामनाथ ओर्लियो, हात हल्लाउँदै, अनुहार चम्काउँदै । झलमल्ल लवाइ, मख्ख बोली सुनेर गाउँलेहरू लठ्ठ परे ।

गाउँमा चर्चा भइसकेको थियो, “केटी हेर्न आएको हो रे !”

युवाहरू मोबाइल झिक्दै भन्न थाले, “दाजु, फेसबुक खोल्नुस् त !”

रामनाथ हाँस्यो, “म काठमाडौँको मान्छे, उहाँ नै मेरो बुबा हुनुहुन्छ, निवृत्त कर्नेल हुनुहुन्थ्यो । काठमाडौँमा पाँच तलाको बङ्गला छ । अरू प्रश्न नगर । बरु प्रमाण आफैँ खोज ।”

रामनाथ सँगै आएको बुढाले थप्यो, “कान्छो छोरो हो मेरो । यो अहिले दुबई दूतावासमा अफिसर छ । मासिक तलब पाँच लाख कमाउँछ । छोरो मन परे टीकाटालो गरेर आजै बिहे गरौँ ।”

सबै चुप लागे । तर, केटाहरू चुप लागेनन् । अझ उक्सिएर कराए, “पहिले फेसबुक खोल्नुस् दाइ !”

लक खुलेपछि अनुहार भत्कियो रामनाथको । फेसबुकका पोस्टहरूबाट र उसका मित्रहरूबाट थाहा भयो- ऊ भगौडा प्रहरी, तीन पत्नीको पोइ, अदालतमा मुद्दा झुन्डिएको, अनुशासनहीनतामा कारबाहीमा परेको मान्छे रहेछ ! प्रहरी बर्दी लगाएरै पो भागेको रहेछ ! बुबा भनिएको बुढो घरधनी पो रहेछ, जसको कोठामा रामनाथ मासिक सात हजार भाडा तिरेर बस्ने गरेको प्रमाणित भयो !

सत्य पर्दामा देखेपछि सबै स्तब्ध भए ।

केटीका बाबुले ढोकामा उभिएर भने, “मुखौटा त फाट्यो, असली अनुहार त अब देखियो ।”

युवाहरूको स्वर एकैसाथ गुञ्जियो, “सधैँ देखिने अनुहार सधैँ साँचो नहुँदो रहेछ !”

—०—
चम्पादेवी-३, सिल्खुबेसी, ओखलढुङ्गा ।
हाल: शिक्षा तालिम केन्द्र, बारा, कलैया ।

❀❀❀

❛विश्लेषण❜
☛ विनोद कार्कीको लघुकथा ‘अनुहार’ को साहित्यिक शक्ति
✒ नन्दलाल आचार्य

लघुकथा लेखनमा कम्मर कसेर लागेका विनोद कार्कीको ‘अनुहार’ लघुकथा पढ्दा मेरो मनमा पहिलो धक्का त्यतिबेला लाग्छ, जब गाउँको आकाशमा हेलिकप्टरको गर्जनसँगै बालकको उत्साहित स्वर गुञ्जिन्छ- “हेलिकप्टर आयो !” यो बालसुलभ उद्घोष केवल हावामा उड्ने फलामे चरा देख्दा हुने कौतुहल मात्र होइन, सारा गाउँको चेतनामा नयाँपनको झट्का हो । हेलिकप्टरसहित ओर्लिएको पात्र रामनाथ भने त्यो कौतुहललाई छेक्ने वा टिकाउने नभई, भ्रम, ढोंग र प्रपञ्चले पोसिएको एउटा अनुहार भएर प्रस्तुत हुन्छ ।

मलाई कथा पढ्दा पहिलो अनुभूति यही लाग्छ- मान्छेहरू प्रायः अनुहारलाई देख्छन्, तर असली अनुहारलाई पत्ता लगाउन गाह्रो हुन्छ । झलमल्ल लवाइ, चिप्लो बोली र ठूलो दाबी । यी सबै क्षणिक जादु हुन्, जसले मानिसलाई मोहित त पार्छ तर सत्यको सामना गर्न सक्दैन । म आफ्नै जीवनका कतिपय क्षणहरू सम्झन्छु, जब बाहिरी चमकले भित्रको वास्तविकतालाई ढाकेको पाइन्थ्यो । कथाको ‘रामनाथ’ त्यसैको मूर्त रूप लाग्छ । उसको बोली मिठो छ, हाउभाउ लोभलाग्दो छ, तर मुटु र विगत दुवै दुर्गन्धित छन् ।

कथामा सामाजिक यथार्थ पनि गहिरो छ । गाउँलेहरूको उत्सुकता, केटीका बाबुको सावधानी, र युवाहरूको प्रत्यक्ष माग यी सबै जीवन्त दृश्य हुन् । खासगरी युवाहरूको “पहिले फेसबुक खोल्नुस् दाइ !” भन्ने माग मलाई अत्यन्त सान्दर्भिक लाग्छ । यो केवल एक संवाद मात्र होइन, हाम्रो डिजिटल पुस्ताको मानसिकता र सत्य खोज्ने नयाँ तरिका हो । मान्छेको असली अनुहार अब मुखामुखको कुरा वा सुनेर मात्र होइन, उसको डिजिटल उपस्थिति फेसबुक पोस्ट, मित्रता र विगतका प्रमाणहरूबाट समेत उजागर हुन सक्छ भन्ने चेतावनी हो यो ।

कथाको उत्कर्षबिन्दु त्यतिबेला आउँछ, जब रामनाथको लक खुलेर उसको अनुहार भत्किन्छ । भगौडा प्रहरी, तीन पत्नीको पोइ, अदालतको मुद्दामा फसिएको यी सबै तथ्य बाहिरिँदा मलाई लाग्छ, जीवनमा कुनै पनि कृत्रिम आवरण स्थायी हुँदैन । सत्य ढाक्न सकिन्छ, तर लुकाउन सकिँदैन । कथामा केटीका बाबुको भनाइ, “मुखौटा त फाट्यो, असली अनुहार त अब देखियो ।” यसले मलाई जीवनकै एउटा कठोर तर अपरिहार्य पाठ सम्झाउँछ । मान्छेले जतिसुकै चम्किलो मुखौटा ओढे पनि समय र परिस्थितिले त्यसलाई च्यातिदिन्छ ।

यसरी कथा केवल एउटा ‘रामनाथ’को कथा होइन, समाजकै अनुहारको कथा हो । हाम्रो वरिपरि यस्ता धेरै अनुहारहरू छन्, जसले आफूलाई ठूलो देखाउन चश्मा लगाउँछन्, झुटो परिचय दिन्छन्, र प्रतिष्ठाको हेलिकप्टरमा उड्न खोज्छन् । तर, जब सत्यको स्क्रीन खुल्छ, ती सबै अनुहारहरू भत्किन्छन्। यो कथा पढ्दा म सोच्न बाध्य हुन्छु- मलाई भेटिने प्रत्येक अनुहार साँचो हो कि मुखौटा ?

अन्तिममा युवाहरूको स्वर- “सधैँ देखिने अनुहार सधैँ साँचो नहुँदो रहेछ !” यो वाक्य मेरो मुटुमा सूक्ति भएर बस्छ । जीवनमा बारम्बार मैले पनि देखेको छु, हाँसो र मिठो बोली पछाडि दुःखद वास्तविकता लुकेको हुन्छ । कतिपय अनुहारहरू, जसलाई मैले आदर्श ठानेँ, पछि झुट र स्वार्थको गहिराइमा फँसिरहेका भेटेँ । त्यसैले यो कथा केवल मनोरञ्जन होइन, चेतावनी पनि हो । अनुहारलाई मात्रै विश्वास नगर्नु, अनुहारभित्रको अनुहार पढ्न सक्नुपर्छ ।

समग्रमा, अनुहार लघुकथा पढ्दा मैले झल्केको अनुभूति यही हो- मानिसको पहिचान उसको बोली, लवाइ, वा सम्पत्तिमा होइन, उसको चरित्र र विगतमा छ । हेलिकप्टर, बङ्गला, पाँच लाखको तलब यी सबै भ्रामक हो, यदि आत्मा र अनुहार असत्यले ढाकिएको छ भने । अन्ततः, सत्य नै अन्तिम अनुहार हो, जसलाई कुनै मुखौटा, कुनै हेलिकप्टर, कुनै झुटो परिचयले ढाक्न सक्दैन ।

❀❀❀

❛प्रयोग उत्तरकथा❜
लघुकथा: छायाँ
✒ नन्दलाल आचार्य

“अनुहार मात्र होइन, नाम पनि नक्कली रहेछ !” कोमल स्वरमा केटीले फुस्फुसाइन् । गाउँलेहरू चकित परे । कोही बुढो, कोही केटा, सबैको दृष्टि एकै ठाउँमा थिचियो । रामनाथले गहिरो सास फेर्‍यो । आँखामा डरको झिल्को थियो, तर बोलीमा अझै धाक थियो- “म ठूलो सहरको मान्छे, मेरो सम्बन्ध ठाउँठाउँका नेतासँग छ, मलाई केही गर्न सक्दैनौ !”

हावा अचानक तात्न थाल्यो । गाउँको चौरमा जमेको भीड चर्कन थाल्यो । मोबाइलका क्यामेरा टल्किन थाले, हरेक अनुहार प्रत्यक्षदर्शी साक्षीमा बदलिन थाले । एक वृद्धले काँपेको स्वरमा भने, “हामीलाई धोका दिने हात अब काँप्नेछ, तर हाम्रो सत्य बलियो छ !”

बालकहरू अगाडि आए, चिच्याए, “हेलिकप्टर होइन, यो त भेष बदलेको मान्छे रहेछ !”

हाँसो र क्रोध मिसिएको लहर गाउँभरि फैलियो । रामनाथ छायाझैँ पछुताउँदै पछाडि सरे, तर भीडले घेर्‍यो । एक युवाले फेसबुककै प्रमाण अगाडि देखाउँदै कठोर स्वरमा भन्यो, “साँचो अनुहार लुकाउँदा छायाले पनि धोका दिँदोरहेछ ।”

अचानक मौनता छायो । केटीको बुबाले हात उठाउँदै भने, “आज हाम्रो छोरीको रक्षा मात्र भएको छैन, हाम्रो गाउँको इज्जत पनि बचेको छ ।”

गाउँलेहरूको भीड शान्त हुँदै गयो, तर प्रत्येक अनुहारमा एउटा गहिरो छायाँ पर्‍यो । त्यस छायाले सम्झाइरह्यो- “झुटको पखेटा कहिल्यै आकाश उड्न सक्दैन, सत्यको अनुहार अन्ततः धर्तीमा उदाउँछ ।”

❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

लघुकथामा एक प्रयोग अङ्क: १४ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

लघुकथामा एक प्रयोग नन्दलाल आचार्यका साथमा – अङ्क: ११ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

कविता: बेनाम लाशहरू | आचार्य प्रभा | हाम्रो कथाघर

भदौ १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.