उद्दीप्त
अग्निकुण्डमा होमिएर
ती बेनाम लाशहरू
बेअर्थ
मौनतामा सुंक्सुकाई रहेछन्
सायद !
बाँचुन्जेल
जीवनको दुःखलाई
जीवनकै पर्याय ठानेर
कठोर जिजीविषालाई
आत्मसात् गर्दै
कसरी धाने होलान्
जिन्दगीका गह्रौं बोझहरू
ती अचल लाशहरूले ?
हो,
कुनै दिन ती लाशहरू पनि
जीवनमा उद्देश्यको खात बोकेर
बाँचेका थिए होलान् ।
तर
नियतिको घनचक्करमा पिसिएर
उनीहरूका आशा, इच्छा,
र महत्त्वाकाङ्क्षालाई
कसैको क्रूर पाइतालाले
किचिक्मिचिक बनाएर
अस्तित्वहीन बनाए होलान्
उद्वेलित बनेर जागेका जाँगरलाई ।
दमक, झापा


