शत्रुले लगाएको पर्खाल
मैले तोडेँ ।
त्यो केवल इँटाको थिएन,
सामन्तवादको जरासहित गाडिएको,
कठपुतली बनाउने सोचको पर्खाल थियो ।
शिक्षाको उज्यालो ल्याउने पाइलामाथि
कसैले कालो पर्दा तान्न खोज्यो,
तर मैले ती पर्दाहरू च्याँतेँ
एकैचोटि निर्भीक रूपमा ।
रक्सी, चुरोट, खैनी नखाने,
स्वस्थ र सचेत परिवारलाई
समाजले एक्ल्याउने निर्णय गर्यो,
तर मैले
ती सामाजिक बन्धनका पासो चुँडाले ।
न आफू झुकेको छु,
न विवेकलाई बेचेको छु ।
अझ पनि सत्कर्ममा अघि बढिरहेको छु,
न थाकेर न डराएर ।
म भिक्षा माग्दिनँ,
म घुम्टो हालेर लुकेर बाँच्दिनँ ।
म समाजको आँखामा आँखा जुधाएर हेर्छु ।
सबल भएर, सक्षम भएर,
कुरा होइन, काम गरेर ।
आज मलाई गर्व छ कि
मैले सच्चाइका लागि लड्न सकेँ ।
आज पनि म उभिएको छु
सिद्धान्तको बलमा,
संघर्षको जगमा ।
र भोलि पनि उभिने छु
सत्यको बुइ चढेर,
आत्मसम्मानको लहर फहराउँदै ।
शत्रु चाहे जतिसुकै बलिया किन नहुन्,
म कमजोर छैन ।
किनभने मसँग छ आत्मबल,
सकारात्मक सोच र कर्मठ आँट ।
म अडिग छु
जीवनलाई उज्यालो बनाउने यात्रामा ।
—०—
बागलुङ नगरपालिका-१०, भकुण्डे, धौलेचउर, बागलुङ,


