तिमीले देखेका सपनाहरू
मेरा जस्तै थिए होलान्
त्यही सपनालाई मैले
परदेशका ठूला सहरहरूमा
बेचिरहेछु
हर दिन हर साँझ ।
युवाले सपना देख्छ
सपनाले कफन ओढ्छ
भन्नुस् न कस्तो विडम्बना
सगरमाथा र बुद्धहरूको !
जहाँ जिउनुअघि नै
सपनाहरू मारिदिन्छन् ।
मरेपछि पनि सपनाहरूले
परदेशका व्यस्त कफीसपहरूमा
श्वास त फेर्ने रहेछन् ।
हामी त सपना मारेका देशका मान्छे
मारेका सपनाहरूले
ब्युँताइरहने देशका मान्छे
भन न, हामी कहिले मर्छौँ ?
—०—
जापान
ureshiimohan@gmail.com


