❝
हलुका बग्न लोभ्याउँछ मन यो पानीझैँ,
जहाँ ठेस लागोस्, मीठो दुखोस्;
र मनका भार,
जसरी लडाइरहेछ पत्थर
र कुँदिरहेछ शालिग्राम पानीले ।
हजारौँ छाल, उछालका छिनाहरूले
खेपिएर पुजिन्छ शालिग्राम !
हे झरी, ठोकिदेऊ मेरो तालुमा,
कुँद अक्षरका मालाहरू !
प्यास नबुझाई तड्पन्छु,
जतिबेलासम्म बन्दैनन्
अक्षरका शालिग्राम !
चोटहरू दुखून् सुस्तरी-सुस्तरी,
झनझनाएर अन्तस्करण ।
जसरी दुखाइरहेछ बाउसे प्यारको झोक,
फालेर पछ्यौरीको सप्कोमा,
रहरहरू उमार्दैछन् गीतका अन्तरा ।
सुसाएर लोभलाग्दो ईर्ष्या,
किन पोख्छ आँसु, पलाँसु र थोपाले
बैँसको उन्माद, उर्लँदो भेल पोखेर ?
किन लतारिरहन्छ कलिला रोपाहारका फाँट ?
मनका कुनाकानी
फुसफुसाएर बर्सँदैछ झरी ।
गुम्फनहरू पोखिने बहाना पनि बनोस् ।
वर्षौँ भयो छातीमा गाँठिएको दर्द फुस्कन्छ कि !
निर्धक्क फुकाएर बगाउन सकूँ न आफूलाई
भित्रैदेखि पोल्ने आगोका जलनहरू ।
वर्षिन सकूँ यो आकाशजस्तै,
जसरी दर्किरहेछ
मभित्रका पीरका छहराहरू अविराम त्रिशूली !
जसरी पोखिन्छ ठोकिएर हिमालका सौन्दर्यमा
यी काला बादलहरू !
मैले ईर्ष्या गरेर के गर्नु ?
पोखिन्छ यही वर्षाद पखालेर अङ्ग-अङ्ग चुम्दै,
रक्तिम गुलाबी शरीरका अन्तरकुन्तर ।
खोतल्छ उस्तै रोपाहारका छाती र नितम्ब ।
कस्तो बेशरम छस् तँ वर्षात् ? कस्तो बेसोमती !
छामछुम गरिरहेछन्
कोपिला लालीगुराँसका छातीमा,
उम्रिरहेका पहाडका जामुनहरू ।
रोकिँदैन वर्षाद यतिमै,
जतिबेलासम्म बग्दैनन्
जमेका फोहोरहरू
मन मस्तिष्कदेखि सडक किनारसम्म !
❞
—०—
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।