❝
हलुका बग्न लोभ्याउँछ मन यो पानीझैँ,
जहाँ ठेस लागोस्, मीठो दुखोस्;
र मनका भार,
जसरी लडाइरहेछ पत्थर
र कुँदिरहेछ शालिग्राम पानीले ।
हजारौँ छाल, उछालका छिनाहरूले
खेपिएर पुजिन्छ शालिग्राम !
हे झरी, ठोकिदेऊ मेरो तालुमा,
कुँद अक्षरका मालाहरू !
प्यास नबुझाई तड्पन्छु,
जतिबेलासम्म बन्दैनन्
अक्षरका शालिग्राम !
चोटहरू दुखून् सुस्तरी-सुस्तरी,
झनझनाएर अन्तस्करण ।
जसरी दुखाइरहेछ बाउसे प्यारको झोक,
फालेर पछ्यौरीको सप्कोमा,
रहरहरू उमार्दैछन् गीतका अन्तरा ।
सुसाएर लोभलाग्दो ईर्ष्या,
किन पोख्छ आँसु, पलाँसु र थोपाले
बैँसको उन्माद, उर्लँदो भेल पोखेर ?
किन लतारिरहन्छ कलिला रोपाहारका फाँट ?
मनका कुनाकानी
फुसफुसाएर बर्सँदैछ झरी ।
गुम्फनहरू पोखिने बहाना पनि बनोस् ।
वर्षौँ भयो छातीमा गाँठिएको दर्द फुस्कन्छ कि !
निर्धक्क फुकाएर बगाउन सकूँ न आफूलाई
भित्रैदेखि पोल्ने आगोका जलनहरू ।
वर्षिन सकूँ यो आकाशजस्तै,
जसरी दर्किरहेछ
मभित्रका पीरका छहराहरू अविराम त्रिशूली !
जसरी पोखिन्छ ठोकिएर हिमालका सौन्दर्यमा
यी काला बादलहरू !
मैले ईर्ष्या गरेर के गर्नु ?
पोखिन्छ यही वर्षाद पखालेर अङ्ग-अङ्ग चुम्दै,
रक्तिम गुलाबी शरीरका अन्तरकुन्तर ।
खोतल्छ उस्तै रोपाहारका छाती र नितम्ब ।
कस्तो बेशरम छस् तँ वर्षात् ? कस्तो बेसोमती !
छामछुम गरिरहेछन्
कोपिला लालीगुराँसका छातीमा,
उम्रिरहेका पहाडका जामुनहरू ।
रोकिँदैन वर्षाद यतिमै,
जतिबेलासम्म बग्दैनन्
जमेका फोहोरहरू
मन मस्तिष्कदेखि सडक किनारसम्म !
❞
—०—


