❝
के दसैँ, के तिहार?
के चाड, के पर्व?
के मेला, के महोत्सव?
रहरहरूलाई बन्धकी राखेर,
जवानीलाई थारो बनाउँदै,
सफल सपनाहरू खोज्न,
अरब जित्न,
घर छोडी निस्केकाहरूको
उस्तै छन् दिनहरू,
उस्तै छन् रातहरू ।
काममा जाऊ,
कोठामा आऊ,
खाना पकाऊ अनि खाऊ,
अनि फेरि काममा पुनः जाऊ—
हप्ता, महिना, वर्ष बितेको पत्तो हुँदैन ।
हरेक दिन हतारमा बिउँझनुपर्छ ।
चर्को स्वरमा बज्ने सिरानीको अलार्मसँगै,
पुग्ने गरी सुत्न नपाएको अनिदो रातमा
देखिने तन्द्रा र सपनाहरूमा
दसैँ, तिहार, मेला, महोत्सव
मीठो सपनाहरू बनेर आउँछन् ।
हो आमा!
यस्तै हुन्छ परदेशीको दसैँ अनि तिहार ।
एक्लै एक्लै
निर्जन उराठ, सिमाना पारिको,
व्यस्त उदास उदास घाम अस्ताएर
रात परि नहालेको नवरात्रिका साँझहरूमा,
सूर्य अस्ताएर तारा नउदाएको पलहरूमा
मन भारी बनाएर बिर्सन नसकिने सम्झनासँग
सम्झौता गरेर बाँच्नु छ ।
हिमालजत्तिकै चिसो सम्झनाको थुप्रोले थिचेर
थिलथिलो भएको मनलाई
आफ्नाहरूको भाइबर र मेसेन्जरमा आएको
तारन्तारको खबरले,
दसैँ-तिहारका शुभेच्छुकहरूको शुभकामनाले,
मनमनै तनलाई फिट हुने
पङ्क्षीको प्वाँख पैँचो लिएर
भुरुरुरु… उडेर स्वदेश पुग्ने मन हुन्छ ।
…तर,
राष्ट्रिय बाध्यता,
वैदेशिक रोजगारीमा निहित रहेका
सजीव मनलाई निर्जीव बनाएर,
जीवन बाँच्दै गरेका
घर छोडी टाढा भएका मानिसहरू
मरुभूमिमा रगत-पसिनाले लेख्दै गरेको
हृदय विदारक गरिबीको कथालाई थाँती राख्दै,
कल्पनासँग उधारो उल्लास सापटी लिएर,
आँसु नदेखाएर मनमनै रुँदै
मनाउने गर्दछन्
फिक्का-फिक्का दसैँ, तिहार र पर्वहरू ।
पर्खिरहनेहरूको पर्खाइ बनेकाहरू
धेरै टाढा परिबन्धको पिँजडामा फँसेर मन मारेर,
प्लास्टिकको पुत्लाजस्तै मन भएका मान्छेको खटनमा
सास भएका मेसिनजस्तै बन्दा पनि
दयामा पाएको सीमित खुसीमा
असीमित सुदूर सपनाहरू सम्झेर बाँच्दैछन् ।
हाम्रो क्यालेन्डर नचल्ने भएर,
उनीहरूको क्यालेन्डरमा नअटाएको
हाम्रो दसैँ, तिहार, उमङ्गमयी शारदीय हर्षोल्लास
केही आउँदैन खुसी बोकेर
उनीहरूको करेसाबारीमा ।
उमेर पुगेर सयपत्री, मखमली फुल्दैन
उनीहरूको बस्ती र गाउँ-गाउँमा ।
मठ-मन्दिर, देवी-देउताको बास हुँदैनन् ।
आफ्नै प्रकारका संस्कार छन् ।
उनीहरूको संस्कार संस्कृतिमा
हाम्रो आस्था बोकेको कुनै पर्व पर्दैनन् ।
त्यसैले घर छोडी टाढा भएकाहरू
कल्पनाहरूमा धुमधाम दसैँ-तिहार मनाउँछन् ।
बिरामी परेको छ उत्साह,
थला परेको छ रहर ।
पोहोर साल आफ्नाहरूसँग राखेको भाकालाई
बनाउनु छ अधुरो ।
यसपालि पनि आइपुग्ने छैनन् टाढिएकाहरू
गाउँमाथिको दुर्गा भवानीको मन्दिरमा ।
यसपटक पनि बितेका सालहरूमा जस्तै,
भिडियो कलमार्फत
मोबाइल स्क्रिनमा लगाएको टीकाले बुझाउने छ मन ।
फाटेको भाग्यमा फटाहा शासकको
दुस्साहसपूर्ण वैदेशिक श्रम सम्झौता रहिन्जेल,
एक-दुई होइन लाखौँलाख युवायुवतीको
दसैँ अनि तिहार
आपत्तिजनक रूपमा अपहरणमा पर्नेछ ।
मन टुटेको छ, आँसु रित्तिएको छ ।
पोलिथिनको झोलामा पोको पारेको खाना खाएर
यसपटकको दसैँ-तिहार पनि
अरबको बालुवाघारीमा
आफ्नै रगत-पसिना मदिरा सम्झेर पिउँदै,
मातेर दसैँ मनाउने छ ।
नाचेर तिहार मनाउने छ ।
घरबाट टाढा भएको मान्छेले ।
❞
—०—
पाँचखाल-११, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

