❝
महिना दिनअघिदेखि,
पल्लो गाउँबाट ल्याएको त्यो रातो माटोले
जब घर रङ्गिन्थ्यो,
मलाई दसैँ आएजस्तो लाग्थ्यो ।
फाँटभरि लहलह धान झुल्न थालेपछि,
बगरभरि सेताम्य काँस फुल्न थालेपछि,
मेरो मन पनि फुरुङ्ग हुन्थ्यो
र मलाई दसैँ आएजस्तो लाग्थ्यो ।
गाउँमा, मेरो सिरानको घर
दसैँ मनाउन जब लाहुरेहरू
लामबद्ध भएर फर्किन्थे सहरबाट,
अत्तरको बास्ना छर्दै, परिवारमा खुसी भर्दै,
तब अर्कै हुन्थ्यो गाउँको माहोल ।
अनि लाग्थ्यो,
आहा! बल्ल गाउँमा दसैँ आयो ।
जब आमाले सालका पातहरू टिपेर
बुन्न थाल्नुहुन्थ्यो टपरी र दुनाहरू,
छेवैमा बसेर म सोधिरहन्थेँ—
“आमा! अब कति दिन बाँकी छ दसैँ आउन?”
भर्खरै भित्र्याएको त्यो नयाँ धानलाई
दिनभरि भिजाएर
जब बाले कुटेर ल्याउनुहुन्थ्यो त्यो अर्गानिक चिउरा,
साँच्चै घरै मगमगाउँथ्यो ।
अनि लाग्थ्यो,
आहा! बल्ल घरमा दसैँ आयो ।
भिरमा झुन्डिएर काटेर बाबियो,
जब रातभरि बाटिन्थ्यो लिङ्गेपिङको डोरी,
मन हर्षले भरिन्थ्यो,
कयौँ रात अनिदो काटिन्थ्यो ।
“आज बेलुका पल्लो गाउँमा नाटक छ,
हेर्न जानुपर्छ ।
भोलि सबेरै लिङ्गेपिङ ठड्याउनुपर्छ ।”
आज पनि म सम्झन्छु
साथीसङ्गीसँगको यस्तै यस्तै
भलाकुसारी…
आहा!
साँच्चै त्यो बालापनको दसैँ सम्झँदा
मन फुरुङ्ग हुन्छ आज पनि ।
छुट्टै हर्ष, उमङ्ग र उल्लासले भरिएको दसैँ,
आज पनि म सम्झन्छु र मनमनै भन्छु,
“यो दसैँ के दसैँ?
आहा! त्यो पो दसैँ ।
आहा! त्यो दसैँ पो दसैँ ।”
❞
—०—
हेटौँडा-५, मकवानपुर


