❝
महिना दिनअघिदेखि,
पल्लो गाउँबाट ल्याएको त्यो रातो माटोले
जब घर रङ्गिन्थ्यो,
मलाई दसैँ आएजस्तो लाग्थ्यो ।
फाँटभरि लहलह धान झुल्न थालेपछि,
बगरभरि सेताम्य काँस फुल्न थालेपछि,
मेरो मन पनि फुरुङ्ग हुन्थ्यो
र मलाई दसैँ आएजस्तो लाग्थ्यो ।
गाउँमा, मेरो सिरानको घर
दसैँ मनाउन जब लाहुरेहरू
लामबद्ध भएर फर्किन्थे सहरबाट,
अत्तरको बास्ना छर्दै, परिवारमा खुसी भर्दै,
तब अर्कै हुन्थ्यो गाउँको माहोल ।
अनि लाग्थ्यो,
आहा! बल्ल गाउँमा दसैँ आयो ।
जब आमाले सालका पातहरू टिपेर
बुन्न थाल्नुहुन्थ्यो टपरी र दुनाहरू,
छेवैमा बसेर म सोधिरहन्थेँ—
“आमा! अब कति दिन बाँकी छ दसैँ आउन?”
भर्खरै भित्र्याएको त्यो नयाँ धानलाई
दिनभरि भिजाएर
जब बाले कुटेर ल्याउनुहुन्थ्यो त्यो अर्गानिक चिउरा,
साँच्चै घरै मगमगाउँथ्यो ।
अनि लाग्थ्यो,
आहा! बल्ल घरमा दसैँ आयो ।
भिरमा झुन्डिएर काटेर बाबियो,
जब रातभरि बाटिन्थ्यो लिङ्गेपिङको डोरी,
मन हर्षले भरिन्थ्यो,
कयौँ रात अनिदो काटिन्थ्यो ।
“आज बेलुका पल्लो गाउँमा नाटक छ,
हेर्न जानुपर्छ ।
भोलि सबेरै लिङ्गेपिङ ठड्याउनुपर्छ ।”
आज पनि म सम्झन्छु
साथीसङ्गीसँगको यस्तै यस्तै
भलाकुसारी…
आहा!
साँच्चै त्यो बालापनको दसैँ सम्झँदा
मन फुरुङ्ग हुन्छ आज पनि ।
छुट्टै हर्ष, उमङ्ग र उल्लासले भरिएको दसैँ,
आज पनि म सम्झन्छु र मनमनै भन्छु,
“यो दसैँ के दसैँ?
आहा! त्यो पो दसैँ ।
आहा! त्यो दसैँ पो दसैँ ।”
❞
—०—
हेटौँडा-५, मकवानपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

