❝
तिमी —
जातको झन्डा बोकेर
धर्मको तरवार घोट्दै गर,
पार्टीको र्यालीमा नाराहरू चिच्याउँदै गर,
म त थकित छु अब —
मानवताको मलामी जाँदै छु ।
संसारभरि घृणाको भीड छ,
तर म खोजिरहेछु —
एउटा यस्तो मान्छे,
जो आँखाले होइन,
अन्तर्मनले देख्छ,
र सत्य बोल्न सक्ने आँट राख्छ ।
तिमी —
पैसाको पूजा गर,
पदको परिक्रमा गर,
भोटका लागि झूटको भजन गाउँदै गर,
व्यक्तिगत लाभका लागि
मित्रता बेच, मूल्य चुँड,
म त सत्यको चिहानमै
फूल चढाउन व्यस्त छु ।
अब मलामी पनि म एक्लो —
न कोही काँध हाल्न बाँकी छन्,
न आँसु बगाउने संवेदना बाँकी छ,
सबै लडिरहेका छन्
जातको नाममा, धर्मको नाममा,
राष्ट्रवादको नकाबमा
आ–आफ्ना स्वार्थका सन्दुक बोकेर ।
तिमी —
कसैको मृत्युमा स्टाटस लेख,
समवेदना देखाउने अभिनय गर,
तर आफ्नै घरको भित्र
मर्न दिइरहेका छौ
प्रेम, करुणा र ममता ।
म त हिँड्दै छु —
शव काँधमा होइन,
शव हृदयमा बोकेर
एकान्त श्मशानतिर,
जहाँ म जलाउनेछु
लोभ, मोह, र स्वार्थले सडेको
मानवताको अन्तिम अवशेष ।
—०—
भूमिकास्थान न.पा. १, अर्घाखाँची


