❝
तिमी —
जातको झन्डा बोकेर
धर्मको तरवार घोट्दै गर,
पार्टीको र्यालीमा नाराहरू चिच्याउँदै गर,
म त थकित छु अब —
मानवताको मलामी जाँदै छु ।
संसारभरि घृणाको भीड छ,
तर म खोजिरहेछु —
एउटा यस्तो मान्छे,
जो आँखाले होइन,
अन्तर्मनले देख्छ,
र सत्य बोल्न सक्ने आँट राख्छ ।
तिमी —
पैसाको पूजा गर,
पदको परिक्रमा गर,
भोटका लागि झूटको भजन गाउँदै गर,
व्यक्तिगत लाभका लागि
मित्रता बेच, मूल्य चुँड,
म त सत्यको चिहानमै
फूल चढाउन व्यस्त छु ।
अब मलामी पनि म एक्लो —
न कोही काँध हाल्न बाँकी छन्,
न आँसु बगाउने संवेदना बाँकी छ,
सबै लडिरहेका छन्
जातको नाममा, धर्मको नाममा,
राष्ट्रवादको नकाबमा
आ–आफ्ना स्वार्थका सन्दुक बोकेर ।
तिमी —
कसैको मृत्युमा स्टाटस लेख,
समवेदना देखाउने अभिनय गर,
तर आफ्नै घरको भित्र
मर्न दिइरहेका छौ
प्रेम, करुणा र ममता ।
म त हिँड्दै छु —
शव काँधमा होइन,
शव हृदयमा बोकेर
एकान्त श्मशानतिर,
जहाँ म जलाउनेछु
लोभ, मोह, र स्वार्थले सडेको
मानवताको अन्तिम अवशेष ।
—०—
भूमिकास्थान न.पा. १, अर्घाखाँची
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

