❝
उता तिमी
मिनरल वाटर पिउँदै छौ रे,
एता हामी
पानीको लागि रित्तो भाँडो लिएर भौँतारिँदै छौँ ।
तिर्खा मेटाउन, जीवन बचाउन,
तर कसरी बचाउनु?
पानीको मुहान सुक्यो,
नदी सुक्यो, पोखरी सुक्यो,
सुक्यो तालतलैया ।
अन्नबाली नलागेपछि
कसरी चल्छ जीवनको नैया?
तिमीहरूले,
चुरे दोहन मिलेर गर्यौ गरायौ,
वनविनास मिलेर गर्यौ गरायौ,
ढुङ्गा, गिट्टी, बालुवा बेच्यौ, बेच्न लगायौ,
मोटो रकम लिएर प्रकृतिलाई नाङ्गो बनायौ ।
अब के नै बाँकी छ र?
भए जतिका तिम्रै हातमा छन्,
हामी गरिबले गर्न के नै सकिन्छ?
भए खाने, नभए नखाने,
भोकभोकै बस्ने, टुलुटुलु हेर्ने ।
बच्चाहरूको अनुहार हेर्दा
आफैँमा रिस उठ्छ,
म कस्तो अभागी रहेछु
आफ्ना बच्चालाई अन्नपानी
पनि दिन नसक्ने भएछु ।
तर प्रश्न तिमीलाई सोध्ने मन छ,
हामीलाई यस्तो अवस्थामा
पुर्याउने तिमीहरू नै हौ ।
दुई दशक पहिले सोच्नुपर्ने,
तर आज सोचेर के हुन्छ?
अब तत्कालीन होइन
दीर्घकालीन समाधान खोज,
जे गर्नुपर्छ गर,
प्रकृतिलाई जोगाऊ,
अभियान चलाऊ,
हामीलाई बाँच्न देऊ,
नेपालीलाई बाँच्न देऊ,
समग्र देशलाई बाँच्न देऊ ।
—०—
मनराशिसवा-९, बथनाहा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

