❝
उता तिमी
मिनरल वाटर पिउँदै छौ रे,
एता हामी
पानीको लागि रित्तो भाँडो लिएर भौँतारिँदै छौँ ।
तिर्खा मेटाउन, जीवन बचाउन,
तर कसरी बचाउनु?
पानीको मुहान सुक्यो,
नदी सुक्यो, पोखरी सुक्यो,
सुक्यो तालतलैया ।
अन्नबाली नलागेपछि
कसरी चल्छ जीवनको नैया?
तिमीहरूले,
चुरे दोहन मिलेर गर्यौ गरायौ,
वनविनास मिलेर गर्यौ गरायौ,
ढुङ्गा, गिट्टी, बालुवा बेच्यौ, बेच्न लगायौ,
मोटो रकम लिएर प्रकृतिलाई नाङ्गो बनायौ ।
अब के नै बाँकी छ र?
भए जतिका तिम्रै हातमा छन्,
हामी गरिबले गर्न के नै सकिन्छ?
भए खाने, नभए नखाने,
भोकभोकै बस्ने, टुलुटुलु हेर्ने ।
बच्चाहरूको अनुहार हेर्दा
आफैँमा रिस उठ्छ,
म कस्तो अभागी रहेछु
आफ्ना बच्चालाई अन्नपानी
पनि दिन नसक्ने भएछु ।
तर प्रश्न तिमीलाई सोध्ने मन छ,
हामीलाई यस्तो अवस्थामा
पुर्याउने तिमीहरू नै हौ ।
दुई दशक पहिले सोच्नुपर्ने,
तर आज सोचेर के हुन्छ?
अब तत्कालीन होइन
दीर्घकालीन समाधान खोज,
जे गर्नुपर्छ गर,
प्रकृतिलाई जोगाऊ,
अभियान चलाऊ,
हामीलाई बाँच्न देऊ,
नेपालीलाई बाँच्न देऊ,
समग्र देशलाई बाँच्न देऊ ।
—०—
मनराशिसवा-९, बथनाहा


