❝
यदि समाजमा निरीह भएको भए,
सायद आज मेरो अस्तित्व
हावामा हराएको धुलो जस्तो हुन्थ्यो,
कसैले नामै लिएर सम्झँदैनथे होला,
रक्सीको नशामा डुबेका
निस्तेज दृष्टिहरूको भीडमा
म पनि एउटा बिर्सिएको अनुहार मात्र हुन्थेँ होला ।
तर मेरो घरमा रक्सीको गन्ध छैन,
छ केवल पसिनाको सुवास,
आत्मनिर्भर बन्ने साहस,
र एउटै कपडाले
वर्षौँ जीवन थाम्ने अनुशासन ।
हामीले ऋणको भार बोकेनौँ,
न त कसैको दैलोमा घिसारिँदै गएर
अनुग्रहको सस्तो मुस्कान बेच्यौँ ।
तर, अचम्म छ
काम गरेर बाँच्नेहरूलाई
कहिल्यै माया गर्दैन यो समाज,
बरु, उनैलाई
दोषको काँडामा घोच्ने चलन बसाल्छ,
उनैलाई चुकुल लगाएर
नराम्रोको टोपी ओढाउँछ ।
मलाई अग्रपङ्क्तिमा स्थान दिँदैन
तर पछाडि उभिएर
मेरो प्रगतिको पीडा पोख्छ,
चुकुल बोकेर,
नकारात्मक आवाजको प्रतिध्वनि फैलाउँछ ।
तर म अझै पनि उस्तै सपना देख्छु ।
समाजलाई पढ्न सिकाउने,
सोच बदल्ने,
उत्प्रेरणाको ज्योति जलाउने,
र आफ्नो सन्ततिलाई
अल्छीपनको अन्धकार होइन,
श्रम र सीपको उज्यालो उपहार दिने ।
किनकि म जान्दछु,
समाजलाई बदल्ने शक्ति
चुकुल र आरोपले होइन,
सकारात्मक विचार र कर्मले आउँछ ।
र म यही विश्वासमा बाँचेको छु ।
यदि निरीह भएको भए,
आज यो हृदयमा गर्वको आवाज हुँदैनथ्यो,
न त सपनाले आँखा भिजाउँथ्यो,
न त भविष्यको घामले
आगो ताप्थ्यो ।
—०—
बागलुङ न.पा.-१०, धौलेचौर, बागलुङ


