❝
प्रकाशभन्दा पहिला,
मेरो अस्तित्व तिमीले बुनेकी थियौ ।
आज, तिम्रै सम्झनाको उज्यालोमा
यो कविता तिमीलाई अर्पण गर्दछु,
खेतको आलीमा राखेर
भोरको शीतमा काम गर्न थालेकी तिमी,
म तिम्रै काखको न्यानोपनमा
संसार देख्न सिक्दै थिएँ ।
सारा दुनियाँले खाएर सुतिसकेको दिन
तिमी आफू भोको रही
मलाई खुवाएको त्यो साँझ याद छ,
भोक त मेटिन्थ्यो मेरो तर
तिमी आफ्नै आँसु पिउँदै सुत्थ्यौ!
मलाई याद छ,
मेरो पहिलो हाँसो हेर्न
तिमी आफ्नै आँसुमा
हाँस्न सिकेकी थियौ ।
आमा!
तिम्रो त्यो सङ्घर्षपूर्ण कहानीले
मेरो दुःखको आँसु पिउँदै गयो,
नसके पनि तिमी तातोपनलाई चिर्दै गयौ ।
आमा यो तिम्रो माया हो
कि शीतल रुखको छाया हो…..
मलाई बिहानको प्रकाशमा रमाउनु छैन,
हाम्रो घरको आँगनमा तिम्रो
जुनजस्तै मुस्कान हेरे पुग्छ ।
मलाई
ढुङ्गाको मूर्तिको निधार पुज्नु छैन
तिम्रो पाउको स्पर्श गर्न पाए पुग्छ,
लगाउनु छैन मलाई त्यो
कालो कोट र प्यान्ट,
तिमीले सिलाएको भोटोमै मन लोभ्याउँछ ।
म कहाँबाट ल्याऊ त्यो झिँगार, आमा
जुन तिमी मेरो सपना बुन्न छोडेकी थियौ ।
साँच्चै! आमा तिमीले सुनाएको कहानी अगाडि
यो विद्यावारिधिमा सिकाएको सिद्धान्त बेकार लाग्छ ।
जबजब म एक्लै यो अँध्यारो रातमा
विचलित भई हिँड्दै थिएँ ।
तबतब तिमी चन्द्रमाजस्तै
उज्यालोको बाटो देखाउँदै गयौ ।
म घर फर्किँदा मलाई समातेर
तिमी आफ्नो अनुहारमा आँसु नल्याउनु
किनकि मलाई मेरो दुःखमा हँसाउने
तिम्रै त्यो अनुहार हो आमा!
किन मलाई धर्ती देखाउनु
तिमी यो धर्ती छोड्न तयार थियौ?
आमा, सागरजस्तो निस्वार्थ भाव तिम्रो,
खोलाको पानीजस्तै कलकलिलो अनुहार मेरो ।
बिहानको घाम तिमी हौ,
म तिम्रै किरण बनौँला,
कल्पना तिमी गर्नु
त्यसलाई पूरा म गरौँला,
मनमायाको मन्दिरमा तिमी बस्नु
त्यसलाई पूजा म गरौँला,
त्यसलाई पूजा म गरौँला ।
आमाले हामी सन्तानहरूको लागि गरेको
सङ्घर्ष अगाडि कुनै संसार टिक्न सक्दैन ।
आमाको निस्वार्थ माया, असहनीय पल
र अथक प्रयासले हाम्रो जिन्दगी बनेको हुन्छ ।
त्यसैले हामी सबैले आमाको अस्तित्व बुझ्नुपर्छ
र सधैँ आमालाई आँखामा राखिराख्नुपर्छ ।
—०—
हरिपुर्बा ५, सर्लाही


