“खै! नेपालमा बसेर यो चालक पेसाबाट खासै चमत्कार गर्न सकिएला जस्तो छैन, विदेशतिर पो हानिनुपर्छ कि क्या हो! अचेल यस्तै विचारमा छु म त!”
छेवैमा बसेका यात्रुसँग चालक पूर्णलालले गुनासो पोखे।
“गोदावरी–लगनखेल–रत्नपार्क–जमल” लेखिएको चिटिक्क परेको हरियो विद्युतीय साझा बस कार्यालय समयको ट्राफिक जामले गर्दा सातदोबाटोमा लामो जाममा परेको बेला चालकको यो कुरा सुनेर ती अधबैँसे यात्रुले पछाडिको सिटमा बसिरहेका यात्रुहरूतर्फ देखाउँदै भने, “हेर्नुस् त! तपाईंले चालक बनेर आफ्नै देशका नागरिकलाई कति सहयोग र खुसी दिइरहनु भएको छ। दिनहुँ गन्तव्यमा पुग्न सहयोग गरिरहनु भएको छ। यो देखेर तपाईंलाई कत्ति पनि सन्तुष्टि र खुसी मिल्दैन?”
यो सुनेर पूर्णलालले अलि गहिरिएर सोचेजस्तो गरी पछाडितिर हेरे। उनले देखे: स्कुल कलेजका विद्यार्थीहरू, नवदम्पतीहरू, प्रेमिल जोडीहरू, बिरामीहरू, निजामती जागिरे, शिक्षक लगायत विभिन्न उमेर समूह र पेसाका व्यक्तिहरूलाई आफ्नै गाडीको सिटमा देखेर उनी निकै गम्भीर र भावुक भई चुपचाप लागेको देखेर ती अधबैँसे यात्रुले भने, “देख्नुभयो त! तपाईंले त सिङ्गो नेपाल नै सँगै बोकेर हिँडिरहनु भएको छ। कति भाग्यमानी तपाईं! अब आफैँ भन्नुस्, के हातको माछा छोडेर प्वालमा हात हाल्नु बुद्धिमानी होला र?”
–०००–
भूमिकास्थान, अर्घाखाँची, हाल: ललितपुर


