देवकीको कुखुरा मोतीमायाको घुर्यानमा पसेछ। देवकीले देखिन्। दौडिहालिन् पनि।
मोतीमायाले देवकीलाई उछिनिन्। तथानाम गाली गर्दै ढुङ्गा टिपेर हान्न भ्याइन्।
एउटा चल्ला त्यहीँ ठहरै भयो।
देवकी केही बोलिनन्। उनलाई लाग्यो– ‘मैले आफ्ना कुखुराको ख्याल गर्नुपर्थ्यो। गरिनँ! गल्ती मेरै हो।’
देवकी केही बोलेकी भए बाझाबाझ हुन्थ्यो; कुस्ताकुस्ती हुन पनि सक्थ्यो।
देवकी नबोलेकी हुँदा त्यस्तो केही भएन।
त्यस्तो केही नभएकाले मोतीमाया अप्ठ्यारोमा परिन्। उनी आफैँ ‘मैले तिम्रो चल्ला मारिदिएँ; म क्षतिपूर्ति तिर्छु’ भन्न जान पनि सकिनन्। देवकीलाई सम्बोधन गरेर ‘बहिनी, मलाई माफ गरिदेऊ’ भन्न पनि सकिनन्।
उनलाई लाग्यो– ‘देवकी केही बोलेकी भए, अझ बाझ्न अगाडि आएकी भए सबै फच्चे हुन्थ्यो; कस्तो मजा हुन्थ्यो। …उफ्! देवकीले नबोलेर यो कस्तो सजाय दिएकी हो!’
–०००–


