सफा,
रिसरागविहीन,
फाटेर बादल
खुलेको जुनेली आकाशजस्तो
तिम्रो आँखाको भृकुटीमा
एक चुम्बन गरेँ,
तर!
म अझैसम्म अतृप्त छु ।
जति वर्षा झरे पनि गल्दिनन्,
भिज्दिनन् र रुझ्दिनन्,
आऊ, भिजाऊ मलाई
तिम्रो परेलीको एक थोपा आँसुले,
तिम्रो ओठको एक मीठो प्रभातले,
तिम्रो हेराइको उज्यालो जुनकिरीले ।
भेट्छन् त भेट्छन् यहाँ
छुटेका माहुरी र रानो पनि,
जिन्दगीको जङ्गलमा भेट्छन्
सयौँ चराचुरुङ्गीका भालेपोथी ।
आकाशमा उड्दाउड्दै
हामी पनि कुनै बेला भेटियौँ
र फेरि छुट्टियौँ ।
समुद्रमा
अलिकति देखिएको
पानीजहाजको मस्तुलजस्तै भयौँ हामी,
कुन दिशामा तिमी गयौ ?
कुन दिशामा म गएँ ?
जिन्दगीको डुङ्गा फेरि घुम्दै आयो
र त्यही स्थानमा रोकिदियो हामीलाई
र भेट गरायो समयले ।
समुद्रमा विलय हुँदै गइरहेको
मस्तुलजस्तो नहोला है अबको समय !
–०००–
काठमाडौँ


