१. लघुकथा: काइदा
“महावीरसँग बदला लिने मौका नगुमा है!” सोमले सकिललाई उक्सायो।
“बुझिनँ त, कस्तो मौका? कस्तो बदला?” सकिलले अचम्म मान्दै सोध्यो।
“कस्तो भुलक्कड यार तँ! तँलाई याद छैन, महावीरले हाम्रो विरुद्धमा के गरेको थियो?” सोमले प्रतिप्रश्न गर्यो।
“के गरेको थियो र उसले?” सकिलले फेरि सोध्यो।
“हामीले जुवा खेल्दै गर्दा पक्रेर जेल हाल्ने त्यही महावीर मुर्दार हैन? हामीले हात जोडेर, खुट्टा ढोग्दा पनि नमानेर पन्ध्र दिनसम्म झ्यालखानामा राखेर जमानतमा छाडेको होइन? त्यो सबै बिर्सिइस्?” सोम सकिलतिर राता आँखा देखाउँदै झर्कियो।
“यार! त्यो त भुलेको छैन मैले पनि, अनि के गर्ने त अब?” सकिलले सोमतिर हेर्दै सोध्यो।
“सुन मेरा कुरा, अहिले आन्दोलन चलेको बेला त्यसलाई मारौँ; ध्वस्त पारौँ, बदला लिने यही एउटा उपाय छ। अहिले त्यसलाई हामीले आरामसँग मार्न सक्छौँ। हामीले नसके पनि कसैलाई थोरै पैसा दिएर मार्न वा उसका हातखुट्टा भाँच्न सकिन्छ। कसैले हामीमाथि शङ्का पनि गर्दैन। बरु, सबैले आन्दोलनकारीहरूले मारे भनेर ढुक्क हुन्छन्,” सोमले आफ्नो योजना खुलस्त बतायो।
“हेर त यार सोम! उसले हामीलाई तास खेल्नबाट रोक्ने उद्देश्यले निडर भएर हामीलाई जेल हाल्यो। त्यसबाट हामीलाई फाइदै भएको छ। त्यो त हाम्रो लागि फरिस्ता बनेर आएको थियो भन्छु म त। यदि उसले हामीलाई जेल नहालेको भए हामी अझै पनि जुवा खेल्न छाड्ने थिएनौँ,” सकिलले सोमलाई सम्झाउँदै भन्यो।
“कस्ता कुरा गर्छस् यार तैँले! दुश्मन र त्यो भ्रष्टाचारी प्रहरीको पक्षमा पो बोल्न थालिस् तँ!” सोम अचम्म मान्दै बोल्यो।
“त्यो हाम्रो दुश्मन र भ्रष्टाचारी भएको भए हामीले दिएको पैसा लिएर छाडिदिन्थ्यो। त्यो हाम्रो मित्र थियो, साथै देशको पनि एउटा इमान्दार प्रहरी,” सकिलले भन्यो।
“ठीक भनिस् यार, मेरो बुद्धि भ्रष्ट भएको रहेछ। हामीले बरु उसको सुरक्षा गर्नुपर्छ। हिँड,” सोमले निधारमा हत्केला बजार्दै भन्यो।
२. लघुकथा: स्वाहा
“ओहो, यो के हो?” अशोक सातो नै गएझैँ गर्यो।
उसले आफ्नो जीवनमा यतिका पैसा देखेको थिएन। आज त्यो पैसाको गोदाम देखेपछि ऊ झसङ्ग भयो।
“यही त हो असली राजनीति। चुनाव त्यत्तिकै जितिन्छ र?” राम्चे बुढाले भन्यो।
“तर सर! यतिका धन आफ्नै हो?” अशोकले अचम्म मान्दै प्रश्न गर्यो।
“आउने चुनावको लागि सुरक्षित राख्नुपर्छ नि। अरू यत्ति रकम त विद्रोहीहरूले आगो लगाइदिए। यो घर मेरो हो भन्ने कसैलाई भनक थिएन र मात्रै जोगियो,” राम्चे बुढाले अशोकतिर डेरा (तिखो) आँखाले हेर्दै भन्यो।
“अनि सर, यहाँ कति खर्ब होला नि?” अशोकले सोध्यो।
“हामीले गन्ती गर्दैनौँ। ऊ त्यो तराजुमा तौलेर आयात निर्यात गर्ने चलन छ,” राम्चे बुढाले भन्यो।
अनि बाहिर जान इशारा गर्दै आधुनिक प्रकारको ताल्चा लगायो जो विद्युतीय थियो। अब त्यहाँ कोठा छ कि छैन, अनुमान लगाउन गाह्रो थियो। उसले एउटा रिमोटको बटन दबायो र त्यो भान्साघरमा परिणत भयो। त्यो पुरै कोठा घुम्दो रहेछ। यो दृश्य देखेर अशोक दङ्ग पर्यो। उनीहरू बसेकै थिए कि एउटी केटीले टेबुलमा कफी राखेर गई।
“लिऊ कफी!” राम्चे बुढाको आवाजले अशोक झसङ्ग भयो।
उसको शरीरमा पसिना आएको थियो। उसलाई यो सबै सपनाजस्तै महसुस भएको थियो।
राम्चे बुढाले टी.भी. अन गर्यो र कफीको चुस्कीसँगै समाचार सुन्न थाल्यो। अन्तरिम सरकारको निर्णय हेडलाइनमा आउँदै थियो।
“सरकारले अब नयाँ रूपबाट अगाडि बढ्ने जमर्को गर्दै छ। अब सुन्नुहोस् समाचार विस्तारमा: भोलिदेखि हजार र पाँच सयका नोटहरूमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको छ।”
समाचार सुन्दाबित्तिकै टी.भी. बन्द गर्यो राम्चे बुढाले। उसको शरीर पसिना-पसिना भयो र ऊ जमिनमा पच्छारियो।
३. लघुकथा: अन्धविश्वास
“कता हिँडेको प्रमोद बिहानै?” रामप्रसादले प्रमोदका आमा-छोरालाई बाटोमा भेटेपछि सोधे।
“हामी राजधानीतिर लागेका, अँकल,” उसले हिँड्दाहिँड्दै नरोकिएर भन्यो। ऊ एम.बी.बी.एस. गर्न विदेश जाँदै थियो।
उनीहरू अलि आत्तिएको देखेर रामप्रसादले अरू प्रश्न राखेनन्। आफू विस्तारै हिँडे, यद्यपि उनलाई पनि बजार नै जानु थियो।
उनीहरूले बिहानैको बस छोप्नु थियो, फटाफट हिँडेका थिए। सायद प्रमोदलाई विदेश पठाउन काठमाडौँसम्म विमली पनि जाँदै थिइन्।
तल एउटा गाउँ आयो, त्यहाँ पुगेर विमली ठिङ्ग उभिइन्। प्रमोदले आमा उभिएको देखेर सोध्यो, “आमा, के भयो?”
उनी केही बोलिनन्। उनी अत्यन्तै रूढीवादी विचारधाराकी थिइन्।
“आमा, ढिला हुनथाल्यो, छिटो हिँड्नोस्,” प्रमोदले विमलीलाई आवाज लगायो।
“भो बाबु, आज जानुहुँदैन। आज साइत परेन,” विमलीले लामो श्वास फेर्दै भनिन्।
“आमा, के भयो र? त्यस्तो मेरो पर्सिको फ्लाइट छ,” प्रमोदले भन्यो।
“ठीकै छ, भोलि जाउँला, तर आज साइत बिग्रियो,” विमलीले आफ्नो अडान छाडिनन्। धेरैबेर उनीहरूको बिचमा खिचातानी भयो। त्यही बेला रामप्रसाद टुप्लुक्कै आइपुगे।
“प्रमोद, के भयो? तिमीहरू त बिहानै आएका, अहिलेसम्म किन उभिएका छौ?” रामप्रसाद अचम्म भएर सोध्यो।
प्रमोद केही बोलेन।
“साइत बिग्रियो बाबु, बिरालोले बाटो काट्यो,” विमलीले प्याच्च भनिन्।
४. लघुकथा: कुसंस्कार
“बेली! तेरो घर त ठिकै रहेछ,” ममताले घरलाई चारैतिरबाट हेर्दै भनिन्।
आमाको कुरा सुनेर बेली केही बोलिन, खिसिक्क हाँसि मात्र।
बेली र जागेले भागी विवाह गरेका थिए। आज पहिलो पटक आमा छोरीलाई भेट्न आएकी थिइन्।
“अब आफैँ पनि सोच्नु छोरी, जुवाइँको पनि राम्रै कमाइ रहेछ,” बेलीकी आमा ममताले आँगनमा बसेका बुढाबुढीतिर नजर घुमाउँदै भनिन्।
“मैले बुझिनँ त आमा, हजुरले भन्न खोजेको कुरा?” बेलीले आफ्नो आमाको मुखमा ट्वाल्ल परेर हेरी र भनि।
“अब तँलाई पनि सबै कुरा मैले नै भन्नुपर्छ? आफ्नो पनि केही दिमाग लगा। जस्तो विवाह गर्दा लगाएकी थिइस्,” ममताले आफ्नो छोरीतिर हेर्दै भनिन्।
“विस्तारै सबै राम्रो हुन्छ आमा, नआत्तिनु,” उसलाई लाग्यो, सायद आमाले छोराछोरी बनाउनेतिर इशारा गरिन् कि भनेर। तर ममताको इशारा अन्तै थियो।
“सबै ठिक हुन्छ के आमा, नआत्तिनु न,” उसले लजाएझैँ गर्दै भनि।
“हुन्छ, खुब विस्तारै! समयमै बुद्धि पुगेन भने पछि पछुताउनु पर्छ! अझै दुई भाइ विवाह नभएका रहेछन्। बुढाबुढीलाई पनि रेखदेख गर्नुपर्ने होला?” ममताले गर्दन बटार्दै भनिन्।
“हजुरको मतलब…!”
“ठिक सम्झिस्, त्यही हो। आजैबाट आफ्नो बाटो गर्ने तयारी गर,” ममताले बेलीको कुरा बिचमै काट्दै भनिन्।
“हो हो सासूआमा, भाउजूलाई राम्रो संस्कार सिकाउनुहोस् है,” बेलीको देवर भित्र पस्दै भन्यो।
–०००–
दाङ, घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।