रोइरहेछ मेरो देश,
प्रसवको पीडाझैँ गरी,
झ्याली पिट्दै, ताली बजाउँदै ।
छातीमाथि कुल्चँदै, उफ्रँदै छन्,
छटपटी उग्र भयो, आमा जलिरहेकी छिन्!
मुटु जलन भयो! ज्वाला ज्वलन्त भए ।
आशाहरू कालो धब्बा धुवाँसँगै रमाए,
मिलन बिन्दु खोज्न सकिनँ,
कोख रित्तिए, सुनसान दिउँसै रात भयो ।
खुनले धर्ती लतपतियो के भनुँ,
मुटुमाथि बन्दुक, गोली र छर्रा हाँस्दै,
इतिहासमा रगतको निशानछाप भयो ।
आँधी, हुरीको वेगमा फैसला मागे,
जननी म बिर्सिएँ, ढुङ्गामुढा बर्साए,
शिरदेखि पाउसम्म खरानी बनाए ।
गन्तव्य शून्य भयो, वचन मौनता छायो,
खुला गगन नै हुस्सुसँग बास भयो,
फूलका कोपिला नफक्रँदै लास भयो ।
फक्रेका कोपिला चुँडिए नफूल्दै,
स्वर्णिम सपना बुनेर सडकमा,
सहादत भए, होली खेले खुनको,
रोइरहेछ मेरो देश, जलिरहिछिन् मेरी आमा ।
–०००–
सिद्धलेक गा पा -३ गैरीगाउँ, धादिङ


