कहिले विश्वयुद्धमा मारिनु छ,
कहिले इराकमा रेटिनु छ,
कहिले ‘गोर्खा राइफल’ भई बहादुरी कहलिनु छ,
कहिले रसियाका सिमानामा गरिबीले ढल्नु छ,
कहिले सिमानामा कुटिनु छ,
कहिले देशभित्रै तानाशाहबाट भुटिनु छ,
कहिले बाँच्ने आशामा पलपल चिहाउँदै
बङ्करभित्र दबिनु छ।
ए शासकहरू हो!
मेरो जस्तै नियति तिम्रा सन्तानले भोगेमा
सक्छौ सहन?
मेरी आमा जस्तै अर्धचेत तिम्रो परिवारमा
सक्छौ हेर्न?
बेहोसीमा बर्बराउने मेरो बाबुजस्तै
सक्छौ सम्हाल्न?
मेरा सन्तानझैँ टुहुरा तिम्रा सन्तान भए भने
कसरी सहन्छन्?
ए तानाशाह!
उत्तर दिने साहस छ?
शिर ठाडो पार्ने साहस छ?
इन्कलाब जिन्दावाद!
तानाशाह मुर्दावाद!
–०००–
इलाम


