पूर्व–पश्चिम राजमार्गको तीनकुने चोकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो। विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, नागरिक अगुवा, मानवअधिकारवादी तथा विभिन्न सङ्घसंस्थाका सामाजिक व्यक्तित्वहरूले एकैसाथ मैनबत्ती बालेर मृतकहरूको सम्झना गरे। सरकारको दमनप्रति केहीले खुलेर विरोध जनाए। सडकबाटै दोषीलाई कारबाहीको माग गरे। युवाहरूले आक्रोश पोखे।
बिहानै तीनकुने चोकमा सादा पोसाकमा विद्यार्थीहरू जम्मा भएका थिए। शिरमा कालो पट्टी बाँधेर सरकारको विरोधमा सडकमा उत्रिएका युवाहरूको काँधमा फहराइरहेको चन्द्र–सूर्य झन्डाले राष्ट्रिय भावना झल्काउँदै थियो।
‘स्टप करप्सन’, ‘हत्यारा सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘मान्छे मार्न पाइँदैन हत्यारा सरकार चाहिँदैन’, ‘दोषीलाई कारबाही गर’, ‘प्रधानमन्त्री राजीनामा दे’ लेखिएका प्लेकार्डले विद्रोहको भाव व्यक्त गर्दै थियो।
आन्दोलनको नेतृत्व गर्नेहरू भाषणमा आगो ओकल्दै थिए। ‘भ्रष्टाचारले देश खोक्रो बनिसक्यो। दूषित राजनीतिले देशलाई दुर्गन्धित बनायो। देशमा रोजगारी छैन। दिनानुदिन युवाहरू विदेशिँदै छन्। धनी झनै धनी, गरिब झनै गरिब भइरहेका छन्। महँगीले आकाश छोइसक्यो। समानताको कानुन छैन। ठुलालाई एउटा र सानालाई अर्को विभेदपूर्ण कानुन छ। देश कमिसन, भ्रष्टाचार, भागबन्डा, नातावाद, कृपावादले गर्दा विकृत भइसक्यो। युवा साथीहरू जाग्नुपर्यो। उठ्नुपर्यो। देश बनाउने जिम्मा अब युवाहरूको हो। सरकारको दमन र बर्बरता हुनुहुन्न। युवाहरू एक होऔँ। आऊ साथीहरू मिलेर सहकार्य गरौँ। अधिकारका लागि लडौँ। नयाँ क्रान्तिको सुरुवात गरौँ। युवा एकता जिन्दावाद।’
एक हुल युवाहरू मोटरसाइकल र्याली गर्दै पसलहरू बन्द गराउन थाले। सडकभरि बल्दै गरेको टायरको कालो धुवाँको साम्राज्य फैलियो। पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भयो। सडकमा राखिएको नागरिक सहायता कक्ष तोडफोड गरेर आगो फुके। चर्को नाराबाजी सुरु भयो। प्रदर्शनकारीहरू तात्दै गए। फ्रन्ट लाइनका नेताहरूको नारालाई पछाडिको भीडले थप ऊर्जा दियो।
– केपी चोर
– देश छोड
– हत्यारा सरकार राजीनामा दे
– राजीनामा दे, राजीनामा दे
– भ्रष्ट सरकार
– मुर्दावाद, मुर्दावाद
– युवा एकता जिन्दावाद
– जिन्दावाद, जिन्दावाद
– हत्यारालाई फाँसी दे
– फाँसी दे, फाँसी दे
– मान्छे मार्न पाइँदैन
– हत्यारा सरकार चाहिँदैन
आन्दोलनभित्र मधेसी थिए। पहाडी थिए। पार्टीभित्रका थिए, पार्टीबाहिरका थिए। भ्रष्ट थिए। दलाल थिए। चोर मिसिए। चम्चा मिसिए। आफ्ना थिए अनि पराई थिए। स्वदेशी थिए। विदेशी थिए। धनी थिए। गरिब पनि थिए। शोषक थिए, शोषित थिए। पक्षका थिए, विपक्षका थिए। सुकिला थिए, कोही मैला थिए। गोरा गोरा थिए। काला काला थिए। सोझा पनि थिए। बाङ्गा पनि थिए। विद्वान् थिए। मूर्ख थिए। देशभक्त थिए। देशद्रोही थिए। उठाउने पनि देखिन्थ्यो। गिराउने पनि देखिन्थ्यो। स्वार्थबाट प्रेरित विभिन्न मानसिकता र चरित्रका व्यक्तिहरू आन्दोलनमा सरिक थिए।
वीरेन्द्र राजमार्ग गौर रोडतर्फ आन्दोलनको दिशा मोडिएपछि तीनकुने चोकमा बिस्तारै शान्ति छायो। नगरपालिका आन्दोलनकारीको निशानामा पर्यो। आन्दोलनकारीहरू जोड–जोडले गर्जन थाले।
– केपी तेरो पाराले
– दुःख पायो साराले
– हाम्रो देश हाम्रो शान
– केपी ओली र…को बाण
– दलालहरू होसियार
– होसियार, होसियार
– यो देश कसको?
– जनताको
उक्साउनेले उक्साइरहे। प्रदर्शनकारीहरू झनै उत्तेजित हुँदै गए। घुसपैठले सही मौका पायो। सबैको आक्रोश एक–एक गर्दै पोखिन सुरु भयो। तोडफोड भयो। भवनका सिसा फुटे। भवन अगाडि रामधुनी लगाए। आगो दनदनी बल्यो। त्यही आगोमा कुर्सी हाले। टेबुल हाले। स्कुटर हाले। बाइक हाले। गाडी जलाए। कोही भित्र पसे। कोही बाहिरबाटै बर्सिन थाले। बिस्तारै भवन पनि जल्न सुरु भयो। प्रहरीको केही जोर चलेन। प्रहरी उल्टै लखेटिए। पत्रकारले समाचार बनाए। सर्वसाधारणले फोटो खिचे। भिडियो बनाए। फेसबुकमा पोस्ट गरे। टिकटक बनाए। पोस्ट गरे। फलोअर्स बढे। लाइक आयो। कमेन्ट आयो।
आन्दोलन अराजक हुँदै गएपछि हवाई फायरिङ चल्यो। भीड तितरबितर बन्यो।
भविष्यका कर्णधारहरूले सार्वजनिक सम्पत्ति जलाएर पुरुषार्थ देखाए। विजयको उत्सव मनाए। विध्वंसको ताण्डव गरे। आफूहरूले ठुलो क्रान्ति गरेकोमा गर्व गरे।
दिनभरि समाचारमा आइरह्यो; प्रहरी चौकी, प्रशासन भवन, ट्राफिक कार्यालय, यातायात, वन, विद्युत् जस्ता सार्वजनिक सम्पत्ति तोडफोडपछि आगजनी गरिएको। नेताहरू कुटिएका, भागेका। घर, भवन जलाइएको। मान्छे मरेका। हत्या गरिएको। प्रधानमन्त्रीको राजीनामा। गृहमन्त्रीको राजीनामा। सञ्चार तथा अन्य मन्त्रीहरूको राजीनामा। सांसदहरूको सामूहिक राजीनामाका खबरहरू एक–एक गर्दै भाइरल भए। आन्दोलनको नाउँमा लुटपाट, हत्या, आतङ्क जस्ता आपराधिक गतिविधि हुन थाल्यो। प्रहरी प्रशासन कसैले रोक्न–छेक्न सकेन। आन्दोलनको नाउँमा अराजकताको नाङ्गो नाच सुरु भएसँगै सिंहदरबार जल्यो। संसद् भवन जल्यो। सर्वोच्च अदालत जल्यो। राष्ट्र बैंक पनि बाँकी रहेन। देशको शक्ति केन्द्र र संवेदनशील अङ्गहरू जल्दा राष्ट्रियतामाथि गम्भीर प्रश्न खडा भयो। देश शोकमग्न बन्यो। जनता स्तब्ध भए। ठाउँ–ठाउँमा कर्फ्यू लगाइयो। निषेधाज्ञा जारी भयो। देशको शान्तिसुरक्षाको जिम्मा सेनाले लियो। प्रधानसेनापतिबाट राष्ट्रका नाममा सम्बोधन भयो।
प्रश्नमाथि प्रश्न, शङ्कामाथि शङ्का थपियो। आन्दोलनको नाउँमा भएको विध्वंसकारी घटनालाई विभिन्न कोणबाट नियाल्न थालियो। थरीथरीका टीकाटिप्पणी सुरु भए।
—०००—
चन्द्रनिगाहपुर, रौतहट
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



