गोकुल दाइ गाउँका भलाद्मीमध्येका एक सम्मानित व्यक्ति हुन् । गाउँमा हुने हरेक बैठक, छलफल, सभा, समारोहमा भाषण गर्दा उनी प्रायः एउटै कुरा दोहोर्याउँथे — “बालबच्चालाई सानैदेखि संस्कार सिकाउनुपर्छ, नत्र समाज बिथोलिन्छ ।”
एक दिन म र मेरा दुई साथीहरू गाउँको पछिल्लो परिवर्तन हेर्न गोकुल दाइको गाउँमा गयौँ । हामी दाइको घरमा पनि पुग्यौँ । दाइ घरमा थिएनन्, भाउजूले शब्दद्वारा स्वागत गरिन् ।
त्यत्तिकैमा दाइका दुई सन्तान आँगनमा देखा परे — छोरा करिब चौध वर्षको, छोरी करिब दश वर्षकी । उनीहरू हामीसँग बोल्न चाहेनन् ।
दुई भाइबहिनीले कानेखुसी गरे, “आज त भिखारी नै आएछन् कि कसो ! केही ल्याएका छैनन् । उपाय निकालेर चुना लगाउनुपर्छ ल ।”
त्यसबीचमा गोकुल दाइ घर फर्किए । हामीलाई देख्नेबित्तिकै मुस्कुराउँदै भने, “अहो ! स्वागतम्, स्वागतम्, स्वागतम् ! मेरा परिवारले स्वागत त गरे नि सरहरूलाई ?!”
हामीले भन्यौँ, “स्वागत भयो सर।”
दाइले एकछिन उनको गाउँ जिल्लामा नमुना भएको र उनको घर गाउँमै नमुना भएको बताए । धेरै कुरा संस्कार र अनुशासनका भए । उनले जेनतेन आफ्नै बलबुताले समाज थामेको जस्तो कुरा गरे ।
एकछिनमा भाउजूले भनिन्, “अब गफ चल्ला क्यारे, म पानी लिन गएँ ।”
छोराले भन्यो, “आज बहिनीको बर्थ-डे हो । खतरा पार्टी चाहिन्छ है, ड्याड ।”
छोरी भन्छिन्, “मलाई बर्थ-डेमा टन्न पैसा चाहिन्छ ।”
दाइले भने, “तिमीहरूको बर्थ-डे महिनाैँपिच्छे हुन्छ कि कसो ? सरहरूसँग चिनजान गर्नु छैन ?”
छोराछोरीले एकसाथ भने, “बर्थ-डे मनाएपछि चिनजान गर्ने ।”
–०००–
लेखक परिचय :
अङ्ग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका टीकाराम खनाल हाल जनमैत्री बहुमुखी क्याम्पसमा अध्यापनरत हुनुहुन्छ । साहित्यमा विशेष रुचि राख्ने खनालले लघुकथा, कथा, कविता र लेख लेख्दै आउनुभएको छ । उहाँका “मायाको सुरुवात कल्ले चलायो” र “मर्म” बोलका गीतहरू पनि केही वर्षअघि बजारमा आइसकेका छन् ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



