म चरा —
आकाश मेरो घर, हावा मेरो बाटो,
रुखका हाँगामा सुतेको स्वप्न मेरो संसार।
तिमी मानिस —
पृथ्वीका स्वामी भन्ने गर्वमा चूर,
तर सोच तिमी — साँच्चै श्रेष्ठ प्राणी हौ?
यदि श्रेष्ठ हौ भने
किन प्रकृतिको रक्षक नबनी,
भक्षक बनेका छौ?
किन तिम्रो आवाज मात्रै गुञ्जिन्छ,
हाम्रो चिरबिर, हाम्रो मौनता
तिम्रो कानमा पर्दैन?
के यो संसार तिम्रो मात्र कथा हो?
के हामी स-साना जीवको अस्तित्वको
कुनै मूल्य छैन?
हाम्रा घरहरू — ती हरिया बोटहरू
आज तिम्रा महलका छायामा हराइसके,
जहाँ पहिले बिहानमा गुञ्जिन्थ्यो मधुर गीत,
त्यहाँ आज शून्य छ, धुवाँ छ, मौनता मात्र छ।
हामी —
करोडौँ वर्षदेखि पृथ्वीका साक्षी हौँ,
तिमी त आयौ केही लाख वर्षअघि मात्र।
तर हेर,
तिम्रो केही लाख वर्षको सभ्यताले
हाम्रो करोडौँ वर्षको संसार नाश गरिसक्यो।
हामीले कहिल्यै दोहन गरेका छैनौँ —
न पृथ्वीको, न जीवनको।
तर तिमीले केही बाँकी राखेनौ,
वनहरू काट्यौ, नदीहरूमा विष हाल्यौ,
आकाशमा हावा छैन, माटोमा गीत छैन।
के यो पृथ्वी तिम्रो मात्रै हो?
के चेतना पाएको अर्थ यही हो —
भुइँ र आकाश दुवैमा कब्जा जमाउने?
यदि यही हो चेतना भने —
म धन्य छु, म चरा नै राम्रो,
ममा लोभ छैन, स्वार्थ छैन,
केवल गीत छ, जीवनप्रेम छ।
तिमीले “श्रेष्ठ” भनेर गर्व गर्ने चेतनाले
यदि नाश मात्र लेख्ने छ भने —
म तिमीभन्दा सयौँ गुणा नम्र छु।
कालान्तरमा जब पृथ्वी मौन हुनेछ,
हावा नि सास फेर्न डराउनेछ —
त्यो दिन तिमी आफैँसँग सोध्नेछौ,
“भक्षक हुनुको मूल्य कति महँगो पऱ्यो?”
–०००–
भुमिकास्थान न.पा- १ अर्घाखाँची


