नेपाल सरकार जारी गर्छ
एउटा भित्ते नक्सा
जुन नक्साको कुनै अस्तित्व छैन।
दाबी गर्छ ती गुमेका भूभागहरू,
तर ती भूभागहरू फिर्ता ल्याउन सकेको छैन।
इतिहासमा नेपालले आफ्नो विशाल स्वरूप गुमायो।
तर नेपालको फोहोरी स्वार्थको राजनीतिले
आज इतिहासमा नगुमेका भूभागहरू
लिपुलेक, लिम्पियाधुरा, कालापानी गुमाउँदै छ।
नेपाल सरकारले संविधानमा त लेख्यो
नक्सामा पनि ती भूभाग समेट्यो।
तर सकेन समेट्न त्यहाँका जनताहरूलाई
सिङ्गो सङ्घीय गणतान्त्रिक लोकतन्त्र नेपालमा
दियो मात्र केवल झूटा आश्वासनहरू,
सकेन दिन नेपालीलाई नेपालकै राष्ट्रियता।
राजधानीमा सडक तात्छन्,
निस्कन्छ हजारौँको जुलुस,
निस्कन्छन् राष्ट्रियताका आवाज,
जल्छन् टायर, गुञ्जिन्छन् नाराहरू—
लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हुन्।
भारतको दादागिरी चल्दैन।
हाम्रो भूमि प्राणभन्दा प्यारो छ।
होसियार भारत, होसियार सरकार !
देखिन्छन् खोक्रा राष्ट्रियताका नेपालीहरू,
हुन्छ संसद्मा चर्काचर्की,
चल्छन् राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बहस,
तर हुँदैन केही उपलब्धि।
सेलाउन थाल्छ चर्चाको विषय,
फर्किन्छ फेरि मुलुक उही लयमा।
सडकमै बिलाउँछन् ती जुलुसहरू,
सुनिँदैनन् राष्ट्रियताका आवाजहरू।
लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हुन्।
भारतको दादागिरी चल्दैन।
हाम्रो भूमि प्राणभन्दा प्यारो छ।
होसियार भारत, होसियार सरकार !
तर फिर्ता हुँदैनन् गुमेका भूभागहरू,
फर्कँदैन लिपुलेकका जनताको मुहारको हाँसो,
पाउँदैनन् निर्दोष जनताले नेपाली राष्ट्रियता,
कुल्चिन्छन् पलाएका आशाहरू,
छाउँछ निराशाका काला बादलहरू,
बेचिन्छन् देशका भूभागहरू,
बेचिन्छन् नेपाली जनता, बेचिन्छ राष्ट्रियता।
बदलिन्छन् देशका शासक,
बदलिन्छ देशको शासन,
तर बदलिँदैन यो चलन,
चलिरहन्छ निरन्तर।
हुन्छ देशको सम्झौता,
बेचिन्छन् टुक्रा-टुक्रा पारी भूभागहरू,
निकालिन्छ हजारौँ नक्सा,
लेखिन्छ संविधानमा हाम्रो भूमि,
हुन्छन् अनेकौँ दाबीहरू,
तर फिर्ता हुँदैनन् गुमेका भूभागहरू,
फिर्ता हुँदैनन् लिपुलेक, लिम्पियाधुरा,
र कालापानीहरू।
–०००–
लुम्बिनी प्रदेश, बुटवल, नेपाल


