आज सहर झिलिमिली छ,
घरहरू आकाशसित प्रतिस्पर्धा गर्दै
चम्किरहेका छन्।
जताततै उज्यालोको मेला छ,
लाग्छ,
जून आकाशमा होइन,
हरेक घरको दैलोमा झरेको छ।
म पनि बत्ती बाल्छु
ढोकासामु, छानामा, मुटुको वरिपरि,
तर बत्तीको उज्यालो भित्र पस्दैन,
जहाँ कहिल्यै नजलेको
एउटा दियोलाई खोज्दै छु म।
बाहिर दीपहरूले
घरका पर्खाल सजाएका छन्,
तर मानिसका मनहरू अझै
अँध्यारो कोठा बनेका छन्।
कति अचम्म !
हातमा दियो, आँखामा चमक,
तर हृदयभित्र अन्धकारको
घाम उदाएको छ।
दीपावलीले सहर उज्यालो बनायो,
तर आत्मामा अझै अँध्यारो भरिएको छ।
सफा छन् घरहरू,
तर मनहरूमा धूलोको बाक्लो तह छ।
र म सोच्छु—
यदि यो उज्यालो साँच्चै
मनभित्र पनि बल्थ्यो भने,
सायद भगवान् पनि आज नजिकै देखिन्थे।
यदि एक साँझ यस्तो हुन्थ्यो
जहाँ बत्तीहरू होइन,
मनहरू बल्थे,
जहाँ उज्यालो केवल देखिन्थेन,
महसुस गरिन्थ्यो,
सायद, त्यो दिन दीपावली पनि
दियो बन्न लजाउँथ्यो !!!
–०००–
सूर्यविनायक ९


