गन्तव्यमा पुग्न निस्केकाहरू
आफैँ बाटो बनेर
आधा बाटोमै कति अस्ताए
कति बाटो बिराएर
गन्तव्यमा नपुगी मेटिए
न बाटो अस्ताए,
न यात्रा स्थगित भए।
तर यात्री—
कति बिछोडिए, कति अलमलिए,
कति अलपत्र परे—
तर बाटो उस्तै छ
जस्तो पहिला थियो।
बाटो !
बेहुली लिएर आएका जन्तीसँग
सहनाई र नर्सिङ बनेर रन्किन्छ।
लास बोकेर हिँडेका मलामीहरूसँगै
शोकाकुल हुँदै
आफ्ना गुमाएका आफन्तसँगै
बिलौना साटासाट गरेर रोइदिन्छ।
स्कुल जाने छोराछोरीसँग सहपाठी भइदिन्छ।
माइत हिँडेकी श्रीमतीसँग
हर्षोल्लासको गीत बनेर गुञ्जिन्छ।
अरू-अरू के-के सँग
सबै सँग उस्तै भइदिन्छ।
मानिसले किन
मानवीयता उम्रिँदै गरेको फूलको बाटोमा
निर्भय काँडाको धराप थाप्छन्।
अरूले रगत पसिना बगाएको बाटोलाई
निसङ्कोच भत्काउन अघि बढ्छन्।
बिचरा बाटो।
आफ्नो आदिम अस्तित्व मेटाउँदै
अलकत्रा पिएर
सौन्दर्यलाई मृत्यु उपहार दिन विवश बन्छ।
विषपानले विषाक्त बाटो
विधुवा पहाडको आँसुसँगै
बग्छ पुग्नलाई टाढा
भेट्नलाई गङ्गा
बाटोको हत्या गर्ने अधिकार छैन कसैलाईपनि
भोलि जन्मने दिनहरूलाई पनि—
चाहिन्छ बाटो
फुलाएर सद्भावना तन-मनमा
थाल तिम्रो, मेरो, हाम्रो घरबाट बाटो खन्न।
म मेरो घरबाट थाल्छु।
हामीले मायाको पुल हाल्नु छ
बारुद बिछ्याएको यो प्रिय धर्तीको बाटोमा।
तब ती बाटोको—
वल्लो र पल्लो किनारमा
रोप्दै जानुपर्दछ सिर्जनाका फूलहरू ।
–०००–
पाँचखाल-११, काभ्रेपलान्चोक
हाल: लिमासोल, साइप्रस


