आँखाहरू धमिलो भएका हुन् कि
अक्षरहरू खुइलिएका ?
भयङ्कर विरोधाभासले
लागिरहेछ चक्कर ?
दर्शनको आलोकमा
आफैंलाई खोज्छु।
धुलाम्मे पत्ताहरूबाट
उप्किएका घुर्मैला अक्षरहरू।
चालिसेले डामिसकेका
दृष्टिदोष हो कि
अमूर्त अक्षरहरूको भ्रम ?
आदर्श र व्यवहार
पटक्कै मिल्दैन।
युगले रछ्यानमा मिल्काइसकेको
कुँडाकर्कट बन्दैछ सायद !
आदर्शको लुते हतियार,
जहाँ
कोरिएका भ्रमका पुलिन्दा,
जसलाई
तिनकै हली, गोठाला र बहरहरू
मिच्न रहर गर्छन्,
कुल्चनु र बदनाम गराउनु
इज्जत सम्झन्छन्।
तर,
फुटाल्न सक्दैनन् कखहरा।
डुग्रान त सुनिरहन्छु
नदाइएका बहरहरूको।
ठाउँकुठाउँ हलो कुदाएर
सोइला भाँच्ने हर्कत देखाएका
पड्केहरू
छिमेकीको घाँसपानीले अघाएर
विष्ठ्याउँछन् आजकाल आफ्नै ओछ्यानमा
र तुर्क्याइदिन्छन् तिनका गुरुहरूले
पसिना बगाएर लेखेका दर्शनका पन्नाहरूमा।
अनि कहाँ खोजेर पाउँछु आफूलाई !
जहाँ डुङ्-डुङ्ती गनाइरहेछन्—आदर्शका लहरहरू।
—०००—
nabindahal1000@gmail.com
अक्षर आवास, धादिङ


