आँखाहरू धमिलो भएका हुन् कि
अक्षरहरू खुइलिएका ?
भयङ्कर विरोधाभासले
लागिरहेछ चक्कर ?
दर्शनको आलोकमा
आफैंलाई खोज्छु।
धुलाम्मे पत्ताहरूबाट
उप्किएका घुर्मैला अक्षरहरू।
चालिसेले डामिसकेका
दृष्टिदोष हो कि
अमूर्त अक्षरहरूको भ्रम ?
आदर्श र व्यवहार
पटक्कै मिल्दैन।
युगले रछ्यानमा मिल्काइसकेको
कुँडाकर्कट बन्दैछ सायद !
आदर्शको लुते हतियार,
जहाँ
कोरिएका भ्रमका पुलिन्दा,
जसलाई
तिनकै हली, गोठाला र बहरहरू
मिच्न रहर गर्छन्,
कुल्चनु र बदनाम गराउनु
इज्जत सम्झन्छन्।
तर,
फुटाल्न सक्दैनन् कखहरा।
डुग्रान त सुनिरहन्छु
नदाइएका बहरहरूको।
ठाउँकुठाउँ हलो कुदाएर
सोइला भाँच्ने हर्कत देखाएका
पड्केहरू
छिमेकीको घाँसपानीले अघाएर
विष्ठ्याउँछन् आजकाल आफ्नै ओछ्यानमा
र तुर्क्याइदिन्छन् तिनका गुरुहरूले
पसिना बगाएर लेखेका दर्शनका पन्नाहरूमा।
अनि कहाँ खोजेर पाउँछु आफूलाई !
जहाँ डुङ्-डुङ्ती गनाइरहेछन्—आदर्शका लहरहरू।
—०००—
nabindahal1000@gmail.com
अक्षर आवास, धादिङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



