सहर एउटा बूढो मानिस हो,
जसको टाउकोमा बिजुलीका तारहरू
सेताम्य फूलेका कपालझैँ छन्,
आँखाभित्र स्क्रिनको उज्यालोको थकान,
र छातीभित्र साँघुरा गल्लीहरूका
धड्कनहरू अड्किएका छन्।
ऊ हरेक बिहान
सपना बेच्ने पसलहरू खोलेर उठ्छ,
र राति, थाकेका मनहरूलाई
भाडामा सुताउने होटेलजस्तो असक्त हुन्छ।
सहरको हाँसो,
गगनचुम्बी भवनहरूको चकचके झ्याल हो।
भित्र असह्य पीडा छ,
तर बाहिरबाट हेर्दा चम्किलो देखिन्छ।
यहाँ, दिनहरू
सहरको जिब्रोमा
पसिनाको स्वाद चाख्दै बित्छन्,
र साँझ परेपछि
ट्राफिकको कराहटभित्र डुबेर हराउँछन्।
सहरलाई सपना सुनाउँदा,
उसले ठट्यौलीमै उडाउँछ,
“सपना?
त्यो त मलाई थाहा छ,
किस्तामा बेचिन्छ यहाँ।”
मान्छेहरू यहाँ
एक-अर्कासँग कुरा गर्छन्,
तर शब्द होइन,
नोटहरू आदानप्रदान गर्छन्।
आँसुहरू खस्छन्,
तर केवल
फोटो खिचेर साझा गर्नका लागि।
सहर आफ्नो श्वासले
हाम्रा दिनहरू भण्डारण गर्छ,
तर फिर्ता कहिल्यै दिँदैन।
उसको पेटमा हराएका दिनहरू
पुराना टिकट, च्यातिएका चिठी
र बन्द डायरीका पानाजस्तै
थुप्रिएका छन्
जसलाई खोज्न
कसैले फुर्सद पाउँदैन।
–०००–
मन्थली न.पा.-१२, रामेछाप


