म बिछोड हुँ,
शब्दमा बयान नहुने पीडा,
नयनमा थामिन नसक्ने आँसु,
र मुटुमा बाँकी रहने एक अधूरो स्पन्दन।
म सुरूमा सानो मौनता
विस्तारै गर्जने आँधी
भित्रभित्रै सबथोक उथलपुथल
म प्रेमको अन्त्य होइन,
सम्झनाको आरम्भ हुँ,
जहाँ प्रत्येक क्षणले सम्झाउँछ
र हरेक श्वासले खोजिरहन्छ।
म मुस्कानको छेउमा लुकेको दुःख हुँ,
गीतको अन्तिम स्वरमा हराएको लय,
पत्रका अन्तिम शब्दमा अड्किएको भावना।
कसैले मलाई दुःखान्त भन्छन्,
कसैले नियति।
म त सत्य हुँ
जसले सम्बन्धको गहिराइ मापन गर्छ,
र सम्झनाको अर्थ सिकाउँछ।
म उपस्थित नभए
मिलनको मूल्य कसरी बुझिन्थ्यो र ?
त्यसैले म गर्वका साथ भन्छु
म बिछोड हुँ, अधूरो कथा हुँ,
तर प्रेमको सबैभन्दा गहिरो
र साँचो अर्थ बोकेको अनुभूति हुँ।
–०००–
बनेपा-१२, काभ्रे


