देख्दा सत्य झल्किन्छ,
तर स्पर्श गर्दा हराउँछ।
भएको घटनाको सत्य खोजिँदैन,
सजावटमै बिलाएको छ मानिसको दृष्टि।
सत्य
केवल विलासितामा ढल्केको छ
लेखिन्छ, भनिन्छ, सम्झाइन्छ,
तर बुझ्ने चाहना सुतेको छ।
भावना बुझ्ने हृदय मरेको छ।
शब्दहरू जवान भएका छन्,
तर मन शून्य छ।
मौन बस्नेहरूलाई कमजोर मानिएको छ ।
लाग्छ –
लिलामीको बजारमा टाँगिएका छन् शब्दहरू।
नाफा र घाटाको तराजुमा तौलिइन्छ भावनाहरू।
आदर–सम्मानको मूल्य मापन हुन्छ नगदमा।
आवाजहरू चर्का छन्,
तर हृदय सुतिरहेको छ।
कसैको शोक
व्यङ्ग्यको मञ्च बनेको छ।
कसैको निजी जीवन
भिडन्तको दृश्य बनेको छ।
नाटकका संवादझैँ बेचिएका छन्
मानिसका पीडाहरू।
हुँदै नभएका कुरा पनि
सनसनी कथा बनेको छ।
संवेदना –
अब मनोरञ्जनको उपशीर्षकमा बाँधिएको छ।
यो अन्धो युगमा –
सत्यभन्दा ठूलो बनेको छ
आवरणको सौन्दर्य।
मनभन्दा मीठा देखिन्छन्
झूटा दृश्यका सपनाहरू।
आवाजहरू चर्का छन्,
तर आत्मा सुतेको छ।
बत्तीहरू बलिरहेका छन्,
तर उज्यालोको अर्थ हराइसकेको छ।
कसरी भनूँ –
युग त चल्दै छ,
तर जीवन लडखडाइरहेको छ।
तन जिउँदै छ, तर मन मरेको छ।
हाँसोहरू गुञ्जिएका छन्,
तर आत्मा रुँदै छ।
साँच्चै— चेतना मरेको छ,
महसुस गर्ने हृदय कतै हराएको छ।
के हामी साँच्चै बाँचिरहेका छौँ?
के हाम्रो मन र आत्मा
आपसमा जुधिरहेका छैनन्?
यो जीवनको चक्रमा –
किन हामी अनुभूति खोज्दै
अभिव्यक्तिमा हराइरहेका छौँ?
सायद हामीलाई
उज्यालोले प्रभावमा पार्न सकेन।
त्यसैले, कालो छायाभित्रै रुमली रह्यौँ।
जहाँ सत्य बोल्नुभन्दा मौन रहन सजिलो छ,
जहाँ भावनाभन्दा
देखावटी मुस्कान ठूला बनेका छन्।
तर म चाहन्छु –
फेरि जागोस्
ती कहिल्यै नब्यूँझिएका भावनाहरू,
अनि फेरि जागोस् उत्कट इच्छा
मौन हृदयले फेरि महसुस गरोस्
जीवनको मीठो स्पर्श।
–०००–
पीएचडी शोधार्थी, सोसियल वेल्फेयर होसो विश्वविद्यालय, दक्षिण कोरिया
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



